१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकप छनोटमा नेपालको फराकिलो हार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:२o:oo

फिफा विश्वकप २०२६ अन्तर्गत एसियन छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग ४–० ले नराम्रोसँग पराजित भएको छ । युएईको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा नेपालले पहिलो हाफमै चार गोल व्यहोरेको थियो । बलियो युएईविरुद्ध नेपालको निकै नै कमजोर डिफेन्स देखियो । नेपालको फितलो डिफेन्सकै कारण युएईका खेलाडीले सहजै गोल गरेका थिए । युएईका लागि कप्तान अलि मखबुटले दुई गोल गरेका थिए । खलिफा अल–हम्मादी र फाबियो लिमाले समान एक गोल गरे । पहिलोको तुलनामा दोस्रो हाफमा नेपालले सुधारिएको खेल प्रदर्शन गरेको थियो । यस अवधिमा युएईले थप गोल गर्न सकेन । 

मध्यान्तरपछि नेपालले एट्याकिङ फुटबल खेल्यो । यद्यपि, फिनिसिङ लाइन कमजोर हुँदा नेपालका खेलाडीले प्राप्त अवसरमा गोल गर्न चुकेका थिए । खेलको १०औँ मिनेटमा युएईले १–० को अग्रता लियो । अलि अम्रोको क्रसमा खलिफाले हेडिङबाट उत्कृष्ट गोल गरे । खेलको ३५औँ मिनेटमा युएईले २–० को अग्रता लियो । अमृत श्रेष्ठले बेखिटमाथि डिबक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो ।

युएईका कीर्तिमानी गोलकर्ता अलि मखबुटले सहजै नेपालका कप्तान तथा गोलरक्षक किरण लिम्बूलाई झुक्याउँदै गोल गरे । दोस्रो गोल व्यहोरेको सम्हालिन नपाउँदै नेपालले खेलको ४४औँ मिनेटमा तेस्रो गोलको सामना गर्‍यो । यसपटक मखबुटले अर्को गोल गरे । उनले अल जाबीको पासमा गोल गरे । पहिलो हाफको इन्जुरी समयमै फाबियो लिमाले युएईलाई मध्यान्तरअघि नै ४–० को बलियो स्थितिमा पुर्‍याए । नेपालले छनोटको दोस्रो खेलमा यमनविरुद्ध १२ नोभेम्बरमा काठमाडौंमा खेल्नेछ । यस समूहमा नेपालसँगै यमन, युएई र बहराइन छन् ।

पहिलो हाफमा युएई हाबी
घरेलु मैदानमा युएईका खेलाडी पहिलो मिनेटदेखि नै हाबी भएका थिए । नेपालमाथि पटक–पटक उनीहरूले पोस्ट चार्ज गरेका थिए । यसबीचमा गोलरक्षक किरणले केही उत्कृष्ट बचाउ गर्दा नेपालले चार गोलभन्दा माथि व्यहोर्नुपरेन । खेलको २६औँ मिनेटमा अब्दल्लाह बेखितको पासमा कोरेयाको प्रहारलाई किरणले बचाउ गरे । खेलको २९औँ मिनेटमा फाबियो लिमाको फ्रिकिकलाई क्रसबारनजिक किरणले बचाउ गरेका थिए । खेलको ३४औँ मिनेटमा लिमाको कर्नर किकमा कोरेयाको हेडिङ क्रसबारमा लागेर फर्कियो । खेलको ५०औँ  मिनेटमा मखबुटको प्रहार नेपालका डिफेन्डर रोहित चन्दले डिबक्समा ब्लक गरेका थिए । खेलको ७९औँ मिनेटमा मोहम्मद अलको प्रहार गोलरक्षक किरणले सहजै बचाए । 

तीन खेलाडीले गरे डेब्यु 
नेपालका प्रशिक्षक भिसेन्जोले युएईविरुद्ध तीन खेलाडीलाई डेब्यु गराएका थिए । डिफेन्डर छिरिङ लामाले पहिलो ११ मै स्थान बनाए । यसैगरी, दुई डिफेन्डर योगेश गुरुङ र अन्जन राई बेन्चबाट मैदान प्रवेश गरे । नेपाली टोलीका प्रमुख डिफेन्डर अनन्त तामाङ चोटका कारण अन्तिम समयमा युएईविरुद्ध खेलेनन् । योगेश र अन्जनले दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । अमृत श्रेष्ठले १८औँ मिनेटमा चोट बोकेका लाकेन लिम्बूको स्थान लिएका थिए । अमृतलाई योगेशले मध्यान्तरमा विस्थापित गरे । योगेशले गत सिजन ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबबाट खेलेका थिए । छिरिङ जावलाखेलमा आबद्ध छन् । नेपाल पुलिस क्लबका डिफेन्डर अन्जनले पनि डेब्युको अवसर पाउँदा ८५औँ मिनेटमा छिरिङको स्थान लिए । 

ad
ad