१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
बोक्साको आरोपमा कुटपिटपछि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा सखुवानन्कारकट्टी गाउँपालिका– २ जगतपुरका ४२ वर्षीय ओमप्रकाश चौधरी । 
२o८१ बैशाख १७ सोमबार o६:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बोक्साको आरोपमा अपांगता भएका व्यक्तिमाथि निर्घात कुटपिट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:२७:oo

पीडित ओमप्रकाश भन्छन्–गाउँमै मिल्नुपर्छ भनेर दबाब दिइरहेका छन्
बुधबार घरमै बसिरहेका वेला कान्छा काका विशेश्वर चौधरीले ‘छलफल गर्नु छ’ भन्दै नातामा आफन्त पर्ने परियाग चौधरीको घरमा मलाई लिएर गए । त्यहाँ गुद्री चौधरी, सोनेलाल चौधरी, नेपाली चौधरी पनि थिए । म पुगेपछि परियागले काकालाई नै टुनामुना गरेर बिरामी बनाएको भन्दै गालीगलौज गर्न थाले । मैले प्रतिवाद गर्न खोज्दा छेउमै रहेका नेपाली चौधरीको हातमा रहेको लाठी खोसेर उनका छोरा रामभगतसहितले मलाई कुटपिट गरे । परियागकी श्रीमती बबिता चौधरीलाई बिरामी बनाएको, चार वर्षअघि स्थानीय वृद्धा भिनबतिया चौधरीको पनि टुनामुनाकै कारण मृत्यु भएको, टुनामुनाकै कारण नेपाली चौधरीलाई हातखुट्टाको जोर्नी दुख्ने रोग लागेको र उनको छोराको सात वर्षअघि भएको मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचिएको भन्दै कुटे । त्यही दिन रामभगत विराटनगर गएर बसेको छ । ममाथि भएको कुटपिटबारे प्रहरीमा उजुरी दिन्छु र समाज बोलाएर छलफल चलाउँछु भनेपछि उनीहरूले ‘आफन्तको झगडामा बाहिरकालाई नबोलाऔँ’ भन्दै गाउँमै मिल्नुपर्छ भनेर दबाब दिइरहेका छन् । 

...                       ...                                              

बोक्साको आरोप लगाउँदै सिराहामा अपांगता भएका व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । सखुवानन्कारकट्टी गाउँपालिका– २ जगतपुरका ४२ वर्षीय ओमप्रकाश चौधरीलाई सोही गाउँका नेपाली चौधरी, उनका छोरा रामभगतलगायतले बुधबार कुटपिट गरेका हुन् । 

कुटपिटबाट ओमप्रकाशको देब्रे कान, गर्धन, पिठ्युँमा चोट लागेको छ । उपचारका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा भर्ना भएका उनी बिहीबार घर फर्किएका छन् । ‘भाइलाई बोक्साको आरोपमा आफ्नै खलकका दाजुभाइले लाठी, मुक्काले कुटपिट गरेपछि प्रत्यक्षदर्शीहरूले छुट्याएछन्,’ ओमप्रकाशकी दिदी चन्दरदेवी चौधरीले भनिन्, ‘उनीहरूले यसअघि पनि पटक–पटक भाइलाई आफन्तहरूलाई टुनामुना लगाएको भन्दै कुटपिट गर्दै आएका थिए ।’

बुधबार घरमै बसिरहेका वेला ओमप्रकाशलाई उनका कान्छा काका विशेश्वर चौधरीले ‘छलफल गर्नु छ’ भन्दै नातामा आफन्त पर्ने परियाग चौधरीको घरमा लगेका थिए । त्यतिन्जेल त्यहाँ गुद्री चौधरी, सोनेलाल चौधरी, नेपाली चौधरी आइसकेका थिए । ‘म पुगेपछि परियागले काकालाई नै टुनामुना गरेर बिरामी बनाएको भन्दै गालीगलौज गर्न थाले । मैले प्रतिवाद गर्न खोज्दा छेउमै रहेका नेपाली चौधरीको हातमा रहेको लाठी खोसेर उनका छोरा रामभगतसहितले मलाई कुटपिट गरे,’ पीडित ओमप्रकाशले भने । 

परियागकी श्रीमती बबिता चौधरीलाई बिरामी बनाएको, चार वर्षअघि स्थानीय वृद्धा भिनबतिया चौधरीको पनि टुनामुनाकै कारण मृत्यु भएको, टुनामुनाकै कारण नेपाली चौधरीलाई हातखुट्टाको जोर्नी दुख्ने रोग लागेको र उनको छोराको सात वर्षअघि भएको मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचिएको आरोपसमेत लगाएर आफूमाथि कुटपिट गरिएको ओमप्रकाशले बताए । 

शारीरिक अपांगता भएका ओमप्रकाशले चार छोराछोरी, श्रीमतीसहित ६ जनाको परिवार मजदुरी गरेर पाल्दै आएका छन् । ‘शारीरिक अपांगता भएकाले ‘क’ श्रेणीको कार्डबापत गाउँपालिकामार्फत पाउने सामाजिक सुरक्षा भत्ता र मजदुरी गरेर आधा पेट खाएर भए पनि दुई कोठाको पक्की घर बनाएँ,’ उनले भने, ‘त्यसपछि मलाई देख्नेबित्तिकै बोक्साको आरोप लगाएर दुव्र्यवहार गर्दै आएका छन् ।’ 

आफूमाथि भएको कुटपिटबारे प्रहरीमा उजुरी दिने तथा समाज बोलाएर छलफल चलाउने बताएपछि ‘आफन्तको झगडामा बाहिरकालाई नबोलाऔँ’ भन्दै गाउँमै मिलापत्र गर्न दबाब आएको ओमप्रकाशले बताए । ‘अहिले गाउँमै मिल्नुपर्छ भनेर दबाब दिएका छन्,’ उनले भने । कुटपिट गरेपछि परियाग बुधबार साँझ नै विराटनगरतिर हिँडेको उनले बताए ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले घटनाबारे सूचना नभएको बताए । ‘त्यस्तो घटनाबारे अहिलेसम्म कतैबाट पनि कुनै सूचना पाएको छैन,’ उनले भने, ‘के भएको हो, बुझ्छौँ ।’ सखुवानन्कारकट्टी गाउँपालिका– २ का वडाध्यक्ष तनुकलाल यादवले बोक्सी मन्त्र, टुनामुना प्रयोग गरेको आरोपमा कसैमाथि कुटपिट गर्न नपाइने बताए । 

ad
ad