१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरामा १६ देशका ६८ पर्यटकले लगाए भाइटीका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:o८:oo

‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ पोखरामा १६औँ भाइटीका महोत्सव सम्पन्न भएको छ। भाइटीकाको दिन बुधबार सम्पन्न महोत्सवमा १६ देशका ६८ पर्यटकले भाइटीका लगाएका छन्।

होटेल संघ पोखराले लेकसाइडस्थित एक होटेलमा आयोजना गरेको महोत्सवमा सहभागी पर्यटकहरूलाई रेन्बो चिल्ड्रेन होमका बालिकाहरूले टीका लगाइदिएका थिए। संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ संघले भाइटीकाको दिन आयोजना गरेको महोत्सवमा सहभागी भएर ती पर्यटकले भाइटीका लगाएका हुन्।

महोत्सवमा स्पेन, अस्ट्रेलिया, हल्यान्ड, जर्मनी, स्विट्जरल्यान्ड, फ्रान्स, बुलगेरिया, चीन, बेलायत, ब्राजिल, क्यानाडा, अमेरिका, अस्ट्रेलियालगायतका देशका पर्यटकहरू सहभागी भएका महोत्सवकी संयोजक पार्वती पाण्डेले जानकारी दिइन्।

महोत्सवमा सहभागीहरूलाई होमका बालिकाहरूले सप्तरंगी टीका र मालासँगै पुरुषलाई नेपाली ढाकाटोपी र महिलाहरूलाई सल उपहार दिएका थिए। उनीहरूलाई खानाको लागि सेलरोटी, अचारसँगै नेपाली खानेकुराहरू दिइएको थियो। टीका लगाएपछि पर्यटकले बालिकाहरूलाई दक्षिणासमेत दिएका थिए। टीका लगाएपछि पर्यटकहरूले देउसी भैलोसँगै नाचगानमा समेत सहभागी भएर मनोरञ्जन गरेका थिए।

विदेशीलाई दाइ र दिदी मानेर टीका लगाउँदा बालिकाहरू खुसीसँगै आफूहरूको लागि फरक अनुभव रहेको बताएका थिए। टीकाग्रहणपछि पर्यटकहरूले नेपाली संस्कृतिको अनुभव गर्न पाएको भन्दै आफूहरूको लागि यो नौलो अनुभव रहेको बताएका थिए। सहभागी केही पर्यटकहरूले सम्भव भए पुनः अर्को वर्षसमेत आउने बताएका थिए। सहभागीहरू एकले अर्कोको निधारमा लगाएको टीका हेरेर एकआपसमा खुसीसाथ कुरा गरिरहेका थिए भने कोही टीका हेरेर दंगसमेत परेका थिए। 

कार्यक्रममार्फत नेपाली सांस्कृतिक पर्वको जानकारीसमेत पाएको र आफ्नो देशमा गएर साथीहरूलाई यसको बारेमा जानकारी गराउने उनीहरूले बताएका थिए।

आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा महोत्सवले सघाउने जानकारी दिए। संस्कृति, कला र परम्पराका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसँगै देशविदेशमा नेपाली परम्परा र संस्कृतिको प्रचारप्रसार तथा यसको माध्यमबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने उद्देश्य महोत्सवको रहेको उनको भनाइ छ।

ad
ad