१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:४९:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कतारबाट पनि युरोप तस्कर हुँदै नेपाली श्रमिक

दलालले दुबईबाट नेपाली युवालाई युरोप तस्कर गर्दै आएका छन्

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:४९:oo

पछिल्लो समयमा कतारमा काम गर्ने नेपाली श्रमिकहरू पनि युरोपतर्फ तस्कर हुन थालेका छन् । कतारमा सञ्चालित कन्सल्टेन्सीहरूले सातदेखि १० लाख शुल्क असुल गरी नेपाली श्रमिकलाई युरोप तस्कर गर्न थालेका हुन् । युरोपमा स्थायी बसोवासको सुविधा पाउन सकिने भएपछि लामो समय कतारमा काम गरेका नेपाली श्रमिकहरू त्यता आकर्षित हुन थालेका हुन् । 

कतारमा आप्रवासीलाई स्थायी बसोवासको सुविधा दिएको छैन । त्यसैले कतारमा लामो समय काम गरेका नेपाली युवाहरू पनि स्वदेश फर्कनुभन्दा युरोपियन मुलुकतर्फ जान लालायित हुन थालेको गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टले बताए । ‘कतार छाडेर युरोप जान चाहने नेपाली श्रमिकको अहिले लर्को नै लागेको छ,’ उनले भने । कतारमा करिब चार लाख संख्यामा नेपाली श्रमिक छन् । जसमध्ये करिब १५ हजार महिला श्रमिकको संख्या छ । अधिकांश नेपाली श्रमिक अदक्ष छन् ।

 युरोपको सेवा–सुविधाबाट आकर्षित भएका नेपाली श्रमिकलाई कन्सल्टेसीहरूले विभिन्न प्रलोभन देखाउने गरेको संघका अध्यक्ष भट्टले बताए । यसअघि दलालहरूले दुबईलाई नेपाली युवा युरोप तस्कर गर्ने अड्डा बनाएका थिए । दुबईमा कार्यरत नेपाली श्रमिकलाई युरोप पठाउने तथा नेपालबाट दुबईलाई ट्रान्जिट बनाई युरोप तस्कर गर्ने ठूलै जमात छ । अहिले यो प्रवृत्ति कतारमा पनि फैलिएको उनले बताए । 

युरोप पठाउन कतारमा कन्सल्टेन्सी खुलेका छन् । कतार पुगेका नेपालीलगायत अन्य मुलुकका आप्रवासी व्यवसायीले नै यस्ता खालका कन्सल्टेन्सी सञ्चालन गरेका छन् । कन्सल्टेन्सीमार्फत जाने केही नेपाली श्रमिक युरोप पुग्न सफल भए पनि कतिपयले रकम खाएर भागेको समेत कतारमा कार्यरत युवाहरू बताउँछन् । 

अहिले नेपालबाट पनि युवाहरू युरोप जाने क्रम बढ्दो छ । तर, कतारबाट जाँदा थोरै रकम लाग्ने र प्रक्रिया सहज हुने हुँदा दलालहरू कतारमा नै सक्रिय भएका हुन् । कतारबाट करिब सातदेखि आठ लाख रुपैयाँसम्म खर्चेर दलालहरूले नेपाली युवालाई युरोपका विभिन्न मुलुकमा पठाउने गरेका छन् । विशेष गरी माल्टा, चेक रिपब्लिक, रोमानिया, क्रोएसिया, पोल्यान्ड, पोर्चुगललगायतका मुलुकमा नेपाली युवा तस्कर हुने गरेको पाइएको छ । 

 नेपाल फर्कन चाहँदैनन् युवा 
भोजपुरका सूर्य थापा (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि कतार आइपुगेको तीन वर्ष भयो । उनी एउटा कम्पनीमा मार्केटिङको काम गर्छन् । अहिले उनी पोर्चुगल जाने योजनामा छन् । कतारमा पारिश्रमिक राम्रै भए पनि युरोपमा पुग्न पाए परिवार पनि उतै सेटल गर्ने उनको योजना छ । ‘कतारमा जति समय बसे पनि काम गर्ने अनि नेपाल फर्कने हो । परिवार ल्याउन पनि अलि कठिन छ । त्यसैले यहाँ समय बिताउनुभन्दा युरोप जान सके परिवार पनि सेटल हुने थियो,’ उनले भने । 

थापा तत्काल नेपाल फर्कने पक्षमा भने छैनन् । मुलुकमा राजनीतिक वातावरणले काम गरिखान सक्ने अवस्था नभएको उनले गुनासो गरे । ‘आफ्नो देशभन्दा बाहिर बस्ने रहर त कसको हुन्छ ? तर, बाँच्नु त पर्‍यो । छोराछोरीको भविष्य पनि हेर्नुपर्‍यो,’ उनले भने । 

चितवनका गंगाराम पाण्डे (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि कतार आइपुगेको आठ वर्ष भयो । पाण्डेले ट्याक्सी चलाएर राम्रो आम्दानी गर्छन् । तर, यति नै दुःख युरोपमा गर्ने हो भने अझै बढी आम्दानी हुन सक्ने उनको अनुमान छ । पाण्डेले यसअघि नेपाल फर्केर व्यवसाय गर्ने प्रयास पनि गरे । नेपालमा पहुँच र पैसा नहुनेले सामान्य व्यवसाय गरेर खान नसक्ने उनको अनुभव छ । त्यसैले अब उनी युरोप जान चाहन्छन् ।

युरोप जान कन्सल्टेन्सीमार्फत प्रक्रिया अगाडि बढाएको उनले बताए । ‘नेपालबाट भन्दा कतारबाट युरोप जान सजिलो छ । कन्सल्टेन्सीले सात लाख लाग्ने भनेको छ,’ उनले भने । उनी पोर्चुगल जाने योजनामा छन् । पाण्डे र थापाजस्तै कतारबाट युरोप पलायन हुन चाहने नेपाली युवाको जमात थुप्रै छ । कतारमा राम्रो आम्दानी हुने नेपाली युवाले अमेरिका, बेलायत र युरोपको भिसा लिएर कतार नै फर्केर काम गर्ने गरेको संघका अध्यक्ष भट्टले बताए । ‘परिवारसहित सेटल हुनका लागि मात्रै पनि नेपालीले युरोप अमेरिकाको भिसा लिएर बसेका छन्,’ उनले भने । 

 श्रम स्वीकृतिविना पठाउनेलाई सात वर्षसम्म जेल सजायको व्यवस्था
ऐनबमोजिम कतार पुगेका नेपाली श्रमिकले कतारका लागि मात्रै श्रम स्वीकृति लिएका हुन्छन् । युरोपियन मुलुकका लागि भने नेपाल सरकारबाट अनुमति लिएका हुँदैनन् । त्यस्तै, कतारमा सक्रिय व्यवसायी वा दलालले पनि सरकारबाट अनुमति पाएका हुँदैनन् । त्यसैले यसरी कतार, युएईबाट श्रमिकलाई युरोपियन मुलुकमा पठाउने कार्यलाई ऐनअनुसार ठगी मानिन्छ । 

विशेष गरी युएईको दुबई, आबुधाबी, सारजहाँपछि अहिले कतारको दोहामा यस्ता खालका गतिविधि हुने गरेका छन् । यी प्रदेशमा नेपाली युवाको संख्या धेरै भएकाले दलालहरूले यो क्षेत्रलाई अखडा बनाएका हुन् । यसरी करिब १० हजार युवा युएईबाट युरोपका विभिन्न मुलुकमा पुगेको अनुमानित आँकडा छ । कतारमा भने यो क्रम भर्खरै सुरु भएको छ । 

नेपाल सरकारको अनुमतिविना वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसाय वा दलाललाई अधिकतम पाँच लाख जरिवाना र सात वर्षसम्मको जेल सजाय हुने अधिवक्ता सोम लुइँटेलले बताए । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार नेपाल सरकारको अनुमति लिएका म्यानपावर व्यवसायीले मात्रै नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिईकन कुनै पनि मुलुकमा रोजगारीका लागि जान पाइनेछैन । यदि ऐनविपरीत काम गरेमा त्यसैलाई ठगी मानिने अधिवक्ता लुइँटेलले बताए ।

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार दफा ४३ मा इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था छ । यदि कसैले वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुटो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाइदिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशत हुने रकम हर्जानाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराइनेछ । साथै, पीडकलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ । विदेश पठाइनसकेको भए सो सजायको आधा सजाय हुनेछ । 

त्यस्तै, सोही ऐनको दफा ४४ अनुसार भने इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार पठाएमा वा प्रलोभन देखाई रकम लिई विदेश नपठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम भराइनेछ । त्यस्तो इजाजतपत्रवालालाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेख सात वर्षसम्म कैद हुनेछ । साथै, त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्रसमेत रद्द हुनेछ । 

 

ad
ad