
इन्दुको कप्तानीमा नेपालले हङकङमा हुने टी–२० सिरिजको पहिलो खेलमा तान्जिनियाको सामना गर्ने
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूलाई दिइएको नयाँ जिम्मेवारीले ऊर्जा मिर्जा मिलेको बताएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार हङकङमा हुने टी–२० सिरिजका लागि इन्दुलाई नयाँ कप्तानीका रूपमा चयन गरेको हो । एक दशकभन्दा बढी समय रुबिना क्षेत्रीले महिला टोलीको कप्तानी गरेकी थिइन् । क्यानले एकैपटक क्षेत्रीलाई कप्तानीबाट हटाउनुको कारण देखाएको छैन । तर, क्यानले आगामी दिनमा महिला क्रिकेटको भविष्य थप राम्रो गर्न नै नयाँ कप्तानी चयन गरेको जनाएको छ ।
महिला टोलीकै नेतृत्व गर्न पाउँदा कप्तान इन्दुले सोसल मिडियामा प्रतिक्रिया दिएकी हुन् । उनले भनेकी छिन्, ‘नयाँ जिम्मेवारीले अझ धेरै ऊर्जा थपिएको छ ।’ उनले क्यान, कार्यसमिति, छनोट र सम्पूर्ण व्यवस्थापकीय टिमलाई धन्यवाद दिएकी छिन् । भित्र र बाहिर थप मिहिनेत गर्नुपर्ने उनले जनाएकी छिन् । ‘अहिले मैदानमा थप लगन र मिहिनेत गर्नुपर्ने थपिएको छ, सँगै अझ धेरै जिम्मेवारी बोध भएको महसुस गरेकी छु,’ उनले लेखेकी छिन् ।
महिला क्रिकेटको भविष्यलाई हेरेर गरिएको निर्णयलाई आत्मसात् गर्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘नेपाली महिला क्रिकेटको भविष्यलाई विशेष प्राथमिकतामा राखेर गर्नुभएको यहाँहरूको यस महत्वपूर्ण निर्णयलाई आत्मसात् गर्छु, महिला टोलीलाई चाहिएको उचित नेतृत्वकारी भूमिका दिन हरदम तत्पर रहेको विश्वास दिलाउन चाहन्छु ।’
उनले नेपाली पुरुष टोलीजत्तिकै माया महिलालाई पनि मिल्ने विश्वास गरेकी छिन् । हङकङमा २९ कात्तिकदेखि ३ मंसिरसम्म हुने चार देश सम्मिलित महिला टी–२० सिरिजका लागि क्यानले नयाँ कप्तानसँगै १४ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको थियो । प्रतियोगिता आयोजक हङकङसहित नेपाल, जापान र तान्जानिया छन् । नेपालले पहिलो खेल कात्तिक २९ मा तान्जानियासँग खेल्नेछ । दोस्रो खेल कात्तिक ३० मा हङकङ र समूहको अन्तिम खेल जापानविरुद्ध २ मंसिरमा खेल्नेछ । शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ ।
कटवाल मुख्य प्रशिक्षक
क्यानले मुख्य प्रशिक्षकमा मनोज कटवाल नियुक्त गरेको छ । क्यानले आसन्न सिरिजकै लागि कटवाललाई मुख्य प्रशिक्षक बनाएको हो । नेपालका पूर्वक्रिकेटरसमेत रहेका कटवालले नेपाल पुलिस क्लबमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । कटवालले यू–१९ हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । उनले सन् २००० देखि २००६ सम्म नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए । दोस्रो पोखरा प्रिमियर लिग चितवन राइनोजले जित्दा उनी नै प्रशिक्षक थिए ।
गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा पुलिसलाई आफ्नो प्रशिक्षणमा उनले स्वर्ण दिलाएका थिए । उनले नेपाली सिनियर क्रिकेट टोलीको एकपटक सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिसके । यसैबीच, क्यानले सहायक प्रशिक्षकमा पूर्वकप्तान नीरा राजोपाध्याय नियुक्त गरेको छ । पूर्वक्रिकेटर माया रावल टिम व्यवस्थापकको भूमिका देखिनेछिन् ।