१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

विद्यालयको आम्दानीको स्रोत बन्दै फूलखेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:o९:oo

धादिङको ज्वालामुखी गाउँपालिका– ५ कुमालटारीमा रहेको बालादेवी माध्यमिक विद्यालयवरपर फुलेको सयपत्री र मखमलीले ढकमक्क ढाकेको छ । विद्यालयका शिक्षक–विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत गरेको फूलखेती व्यावहारिक ज्ञानसँगै आम्दानीको स्रोत बनेको हो । अघिल्ला वर्षमा वनमारा र कुरोले भरिने चौरहरू यतिवेला मगमग बासना आउने फूलहरूले ढाकिएका छन् । शिक्षक–विद्यार्थी भन्छन्, ‘फूलखेती हाम्रो आम्दानीको स्रोत मात्रै होइन, व्यावहारिक ज्ञान प्राप्तिको अवसर पनि हो ।’

विद्यालयआसपासका जमिनमा फूलखेती गर्दा व्यावहारिक ज्ञान पाएको कक्षा ९ की छात्रा कृतिका भुजेल बताउँछिन् । विद्यालयमा सिकेको सीप व्यवहारमा ल्याउन सके घरपरिवारमा पनि आम्दानीको स्रोत बन्न सक्छ । ‘हाम्रो देश कृषिप्रधान हो । किताबी ज्ञानमा मात्र सीमित नभई व्यावहारिक ज्ञान पाए कृषिमा आधारित जीविका चलाउने हामीजस्तालाई राहत पुग्ने रहेछ,’ उनले भनिन् । विद्यालयआसपासमा फुलेको फूलले बजार पाए अझै कृषिजन्य उत्पादन गर्न हौसला मिल्ने विद्यालयमा अध्ययनरत छात्र सुजन कुमालले बताए ।

यो वर्षदेखि स्थानीय तहको सहयोगमा पढ्दै कमाउँदै कार्यक्रअन्तर्गत फूलखेती गरिएको विद्यालयका प्रधानाध्यापक शिवलाल श्रेष्ठले बताए । तिहारलाई लक्षित गरी फूलखेती गरिएको हो । ‘१५ हजार सयपत्री र पाँच हजारभन्दा धेरै मखमली फूल रोपेका छौँ । यसले विद्यालयलाई आम्दानीसँगै विद्यार्थीलाई व्यावहारिक शिक्षा पनि प्रदान गरेको छ । विद्यालय सुधार योजना बनाउँदा नै फूलखेती र तरकारी खेती गर्ने कुरा समावेश गरेका थियौँ । त्यसैअनुसार वडा कार्यालयले दुई लाख रुपैयाँ बजेट पनि छुट्याइदिएको छ । त्यसले अझ हौसला बढायो । फूलखेतीले यस वर्ष तीन लाखभन्दा बढी आम्दानी लिने लक्ष्य लिएका छौँ,’ उनले भने । कक्षा ८ देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थी पढ्दै कमाउँदै कार्यक्रममा सहभागी हुने गरेका छन् ।

ad
ad