१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जाजरकोट भूकम्प : २६ हजार ५२८ घर पूर्ण क्षतिग्रस्त, ३५ हजार ३९५ घरमा आंशिक क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४९:oo

अपडेट : जाजरकोट भूकम्पको भौतिक क्षति १२ जिल्लामा

जाजरकोट भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । अरू ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको छ । यो तथ्यांक जिल्ला प्रशासन र पालिकाले उद्धार तथा आपतकालीन राहतपछि संकलन थालेयताको हो । एक सय ५३ जनाको ज्यान जाने गरी १७ कात्तिकको मध्यराति गएको भूकम्पबाट भएको भौतिक क्षतिको तथ्यांक संकलनकै क्रममा छ । 

‘यो प्रारम्भिक तथ्यांक हो, यही हप्ताभित्र तथ्यांक आइसक्छ,’ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले भने, ‘पुनर्निर्माणको काम अगाडि बढाउन विस्तृत अध्ययन हुन्छ । त्यतिखर घरघरै गएर तथ्यांक संकलन हुनेछ ।’

पश्चिम रुकुममा मात्र साढे १६ हजार घर ध्वस्त
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु रहेको ६.४ म्याग्निच्युडको भूकम्पले निम्त्याएको भौतिक क्षति छिमेकी जिल्ला पश्चिम रुकुममा सबैभन्दा बढी छ । प्रारम्भिक तथ्यांकअनुसार पश्चिम रुकुममा मात्र १६ हजार ५७० घर पूर्ण क्षतिग्रस्त बनेका र नौ हजार ९६१ घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै, जाजरकोटमा नौ हजार ७९४ घर पूर्ण क्षतिग्रस्त बन्दा २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । तर, तथ्यांक संकलन जारी रहेकाले क्षतिग्रस्त घरको संख्या बढ्न सक्ने आकलन गरिएको छ । भूकम्पमा परी जाजरकोटमा १०१ र पश्चिम रुकुममा ५२ जनाको ज्यान गएको छ । 

सल्यानमा १२९ घर ध्वस्त हुँदा ४१८ घरमा आंशिक क्षति पुगेको छ । रुकुम पूर्वमा दुई घरमा पूर्ण र १८२ घरमा आंशिक क्षति भएको छ । रोल्पामा २५ घर ध्वस्त हुँदा ८७ घरमा आंशिक क्षति पुगेको गृहले जनाएको छ । त्यस्तै, जुम्लामा पाँच घरमा पूर्ण क्षति पुगेको छ । दैलेख, बैतडी र कालीकोटमा एक–एक घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । प्युठानमा ३१, दाङमा ७ तथा दैलेख र नवलपरासी पूर्वमा एक–एक घरमा आंशिक क्षति भएको छ । 

जाजरकोटमा सबैभन्दा धेरै भौतिक क्षति सदरमुकाम खलंगामा
जाजरकोटमा सबैभन्दा धेरै भौतिक क्षति सदरमुकाम रहेको भेरी नगरपालिकामा भएको छ । खलंगा बजारसहितका क्षेत्रमा मात्र दुई हजार ५३० घर पूर्ण र चार हजार २३८ घरमा आंशिक क्षति पुगेको छ । यहाँ १४ हजार ९९७ जनसंख्या भूकम्पबाट विस्थापित भएको छ भने ३८ हजार २०१ व्यक्ति प्रभावित भएका छन् ।

नलगाड नगरपालिकामा दुई हजार १०८ घर पूर्ण र चार हजार ४२८ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै,  छेडागाड नगरपालिकामा एक हजार ९४५ घर ध्वस्त हुँदा चार हजार ५४५ घरमा आंशिक क्षति पुगेको विपत् प्राधिकरणको तथ्यांक छ । कुशे गाउँपालिकामा एक हजार ५०४ घर ध्वस्त भएका छन् भने तीन हजार ९८ घरमा आंशिक क्षति पुगेको छ । 

भूकम्पको इपिसेन्टर बारेकोट गाउँपालिकामा मात्र एक हजार ३५ घर पूर्ण र दुई हजार २८६ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, जुनीचाँदे गाउँपालिकामा ६३४ घरमा पूर्ण र तीन हजार ३४४ घरमा आंशिक क्षति पुगेको छ । शिवालय गाउँपालिकामा भने ३८ घर पूर्ण र दुई हजार ७६८ घरमा आंशिक क्षति पुगेको छ ।