१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिसो बढेपछि बेँसी सारिँदै गोठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:oo:oo

हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका हुन् । 

मनाङको ङिस्याङ गाउँपालिका– ६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार ६ सय मिटर उचाइको लेकबाट पशु झार्न थालिएको बताए । हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको बताए । मनाङ ङिस्याङ– ८ जुलुमा ३७ परिवारले सामूहिक रूपमा भेडाच्याङ्ग्रापालन गर्दैआएका छन् । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उनले बताए । 

व्यावसायिक रूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उनले बताए ।  गुरुङले भने, ‘गत वर्ष विभिन्न रोगले २२ चौँरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन ।’ गत वर्ष हिमपहिराेमा परी दुई सय ५० भन्दा बढी भेडाच्याङ्ग्रा तथा चौँरी मरेको सुनाउँदै उनले भने, ‘अहिले त झन् हिउँचितुवाले पनि सताएको छ ।’ 

पशुपालक किसान याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले चितुवाले बढी सताउने गरेको बताए । उनले भने, ‘पहिले चौँरी र भेडाच्याङ्ग्रा धेरै थिए । तर, पाल्ने क्रम कम भएको छ । चितुवाको आक्रमण बढ्दा अझ समस्या थपिएको छ ।’ अहिले साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुने गरेको गुरुङले  सुनाए । ‘केही बाच्छाबाच्छी चितुवाले आक्रमण गर्दा नै धपाउन पाएका हुन्छौँ । कहिले त कति वेला खायो नै थाहा हुँदैन । राहतका लागि झन्झट छ । राहतको रु. पाँच–दश हजार लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा रु. २५ देखि ३० हजार खर्च हुने गरेको उनकाे गुनासो छ । 

गुरुङले भने, ‘पहिलेको जस्तो घाँस हुँदैन । घाँस अभावले अहिले झनझन् माथिल्लो लेक गोठ सार्नुपरेको छ । न समयमा हिउँ पर्छ यसले गर्दा पनि घाँसको समस्या हुँदै गएको हो ।’ मौसमलाई हामीले मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दै आएको उनले बताए । 

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राईले भेडाच्याङ्ग्रा, चौँरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताए ।  यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उनकाे भनाइ छ । 

गत असार महिनादेखि अग्ला लेक लगिएका भेडाच्याङ्ग्रा र चौँरी बेँसीतर्फ गोठालाले झारिरहेका छन् । चिसो बढेसँगै लेकका खर्क खाली हुँदै आएका छन्। कात्तिकमध्यबाट घरवरपर नै गोठ राखी खुवाउने गरिन्छ । अब होचा स्थानमा भेडाच्याङ्ग्रा र चौँरीको गोठ राखिनेछन् । 
 

ad
ad