१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नेपाली क्रिकेट टोलीलाई सम्मानसहित पूर्वघोषित नगद पुरस्कार दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल
नयाँ पत्रिका काठमाडाैं
२०८० कार्तिक २२ बुधबार ०६:१४:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मूलपानी, चितवन र विराटनगरका रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण गर्छौँ : प्रधानमन्त्री

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० कार्तिक २२ बुधबार ०६:१४:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी छिट्टै निर्माण सक्ने बताएका छन् । दश वर्षपछि आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएका खेलाडीलाई मंगलबार बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका हुन् । 

‘क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउँदै छौँ,’ उनले भने, ‘भरतपुर, मूलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ ।’ सन् २०१४ पछि टी–२० विश्वकपमा नेपालको स्थान पक्का गराएका खेलाडीलाई प्रधानमन्त्री दाहालले बधाई दिएका छन् । ‘क्रिकेट मैले हेर्दै आएको छु, नेपालले क्रिकेटमा दिनप्रतिदिन राम्रो गर्दै गएको छ ।’ प्रधानमन्त्री दाहालले वर्तमान नेपाली राष्ट्रिय क्रिकेट टोली उत्कृष्ट भएको जनाए । ‘यो टिम नेपालको बेस्ट टिम भएको महसुस गरेको छु,’ खेलाडीहरूको हौसला बढाउँदै उनले भने । 

क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको उनको भनाइ छ । ‘क्रिकेटप्रति युवाहरूको क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ, खेलाडीलाई अझ बढी हौसला मिलेको छ,’ उनले भने, ‘सरकार अझ बढी लगानी गर्न तयार छ, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ ।’ प्रधानमन्त्री दाहालले क्रिकेटले पछिल्ला समय प्राप्त गरेको सफलताका कारण नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराएको बताए ।

‘१० वर्षपछि नेपाल टी–२० विश्वकपमा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मिहिनेत गर्नुहोला, कतिपय वेला जित र हार संयोगको कुरा पनि हुन्छ । विश्वकपमा पनि तपाईंहरूले राम्रो गर्नुहोला,’ खेलाडीको हौसला बढाउँदै उनले भने । उनले सरकारले घोषणा गरेको पुरस्कार रकम खेलाडीलाई बाँड्न ढिला हुँदा नमिठो लागेको बताए । ‘हामीले घोषणा गरेको पुरस्कार वितरणमा अलि ढिलो भयो, मलाई पनि अलि नमिठो लागेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘हाम्रो केही कानुनी र प्रक्रियागत समस्या छन्, त्यसले पनि ढिलो हुन गयो, आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउनेछ र टी–२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ ।’

यसैबीच, नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरू उत्साहित भएको बताए । ‘सरकारबाट यो महŒवपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ पौडेलले भने, ‘नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौँ ।’ उनले कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडानको प्रक्रिया अगाडि बढाएकोमा सरकारलाई धन्यवाद दिएका छन् । 

 त्रिवि मैदानमा फ्लड लाइट जडान गर्न २७ करोड ४० लाखको ठेक्का
कीर्तिपुरस्थिति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्नका लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ । सिनामंगलको एमएसआइपिएल–एएससी पावर जेभीले फ्लड लाइट जडानका लागि ठेक्का पाएको राखेपले जनाएको छ । २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा फ्लड लाइट जडानका लागि बोलपत्र प्रस्ताव गरेको सो कम्पनी छनोट भएको राखेपले जनाएको छ ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम १२ मध्ये ११ खेल जितेर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता रक्षा गर्नुका साथै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएपछि नेपाल सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो । त्यसपछि राखेपले फ्लड लाइट जडान गर्नका लागि दुईपटक टेन्डर आह्वान गरे पनि कुनै पनि कम्पनीले ठेक्का पाएको थिएन । फ्लड लाइट जडान भएपछि त्रिवि मैदानमा रातिको समयमा पनि खेल खेलाउन सकिनेछ । 

 खेलाडीले जनही १३ लाख पाउने
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकपको स्थान पक्का गरेको नेपाली क्रिकेट टोलीका खेलाडीलाई नगद पुरस्कार दिन सिफारिस गर्ने भएको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि दुई करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

प्रतिखेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ । यसअघि, नेपाल क्रिकेट संघ (क्यान)ले पनि क्रिकेट टोलीलाई ५० लाख पुरस्कारले सम्मान गर्ने जनाएको थियो । विश्वकपको एसिया छनोटको सेमिफाइनलमा नेपालले युएईलाई आठ विकेटले हराउँदै दश वर्षपछि विश्वकपमा स्थान बनाएको थियो । छनोटमा नेपाल ओमानसँग समूह चरण र फाइनलमा पराजित भएको थियो । समूह चरणमा नेपाल ओमानसँग पाँच रन र फाइनलमा सुपर ओभरमा पराजित भएको थियो । 

 गौतम बुद्ध क्रिकेट रंगशालामा  बागमती सरकार र भरतपुर नपाको सहकार्य
 धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा रहेको चितवनको भरतपुर–१५ रामपुरस्थित गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर सम्पन्न गर्ने भएका छन् । बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा मंगलबार बसेको बागमती र भरतपुर महानगरपालिकाबीच बैठक बसेको थियो । रंगशालाका बाँकी काम बागमती र भरतपुर नगरपालिकाले संयुक्त रूपमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको हो । रकम अभावमा गत ०७८ साउन २० मा निर्माण कार्य रोकिएको थियो । अहिले रंगशाला निर्माणका लागि संयुक्त लगानी गर्ने सहमति भएको हो । 

सहमतिअनुसार रंगशाला निर्माणका लागि ७० प्रतिशत बागमती र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋणसम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ । मुख्यमन्त्रीका स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बैठकले तत्काल ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाउने निर्णय गरेको बताए ।

 पहिलो चरणको बजेट ७५ करोड 
भरतपुर महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार नै काम सुरु गरिनेछ । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक क्षमताको प्यारापिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको उनले बताए । महानगरपालिकाले प्रारम्भिक चरणमा ७५ करोड रुपैयाँ लगानी लाग्नेछ । सो लागत रकमको ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको हो । धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले ०७५ माघ १६ मा चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनाको घोषणा गरेका थिए । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा घोषणा गरिएको परियोजनाको निर्माण कार्य ०७५ माघ २० बाट सुरु गरिएको थियो । दुई वर्षभित्र रंगशालाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि फाउन्डेसनले रंगशाला निर्माणका क्रममा आफूहरू ऋणमा डुबेको जनाउँदै रंगशालाको निर्माण जिम्मेवारी लिन फाउन्डेसनले भरतपुर महानगरपालिकालाई पत्र लेखेको थियो ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयले प्रयोग गर्दै आएको २० बिघा ६ कट्ठा क्षेत्रफलमा निर्माण थालिएको रंगशालाको प्रारम्भिक खर्च तीन अर्ब ५५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । रंगशालाको भौतिक पूर्वाधार निर्माण कार्य ३५ प्रतिशत सकिएको दाबी फाउन्डेसनले गरेको छ । फाउन्डेसनले रंगशाला निर्माणमा ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ रुपैयाँ खर्च भएको र फाउन्डेसनलाई १८ करोड ऋण लागेको दाबीसहित हिसाब सार्वजनिक गरेको थियो ।