१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
खनियाँबास गाउँपालिकाको किन्ताङ खोलामा वेलीब्रिज निर्माणस्थल । तस्बिर : अर्जुन श्रेष्ठ/नयाँ पत्रिका
Invalid date format १३:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उत्तरी धादिङ जोड्ने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा बेलिब्रिज हालिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४७:oo

खनियाँबास गाउँपालिकाको किन्ताङफेदीमा क्वाड्रिपल सिंगल बेलिब्रिज निर्माणको काम सुरु भएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा सडक खन्न थालिएको करिब चार दशकपछि पुल निर्माणको काम थालिएको हो ।

उत्तरी धादिङको रुबी भ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डब्जोङ गाउँपालिकालाई जोड्न ३९.६ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको पुल निर्माणको काम सुरु गरिएको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए। पुलको दुवै भागमा फुटपाथ रहने र एकतर्फी मात्रै सवारी चल्ने गरी पुल निर्माण थालिएको उनले बताए।

सडक विभागले रसुवाको बेत्रावतीमा हालेको पुल किन्ताङफेदीमा ल्याएको हो । उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो नै मुख्य मार्ग हो ।  पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गर्दछ। ट्रयाक खोलिएको झन्डै चार दशकपछि अहिले किन्ताङ खोलामा बेलिब्रिज बन्न थालेपछि उत्तरी क्षेत्रका स्थानीय खुसी बनेका छन्। 

पुल बनेपछि उत्तरी धादिङवासीको जीवन फेरिने गंगाजमुना गाउँपालिका– २ रीका राजु तामाङ बताउँछन्। ‘पुल बनेपछि हामी नागरिकले कति राहत पाउँछौँ कल्पनै गर्न सकिन्न । सडक छ, तर अहिले घन्टाैँ लगाएर हिँडेरै यात्रा गर्न बाध्य छौँ। कृषिजन्य उत्पादन गाउँमा कुहिएर बसेको छ । तर, बजारसम्म लैजान सकिएको छैन,’ उनले भने, ‘कृषिजन्य उत्पादन बिक्री गरेर घर खर्च चलाउने र चाडपर्व मनाउने किसानको दैनिकी सकस र खल्लो बनेको छ । सबैको पहलमा चाँडै पुल बने हामी दुर्गमवासीको जीवन नै फेरिन्छ।’

किन्ताङफेदीमा बन्दै गरेको बेलिब्रिज नेपाल विद्युत्र प्राधिकरणले उपलब्ध गराएको हो । सो अस्थायी ब्रिज नेपाली सेनाको प्राविधिक सहयोगमा निर्माण कार्य भइरहेको छ । पुलको दायाँबायाँको जिप–पिल्लरका लागि खाल्डो खन्ने काम भइरहेको छ । खनियाँबास गाउँपालिका र नेत्रावती गाउँपालिकाको संयुक्त लगानीमा दुई महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको खनियाँबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले जानकारी दिए।

किन्ताङफेदीमा बन्दै गरेको पुलले उत्तरी धादिङको विकासको ढोका खुल्ने आशा पलाएको रुबी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले बताए। ‘रुबी भ्यालीको पाङसाङसम्म यस वर्ष सडक सञ्जाल जोडेका छौँ। यो पुलले हदसम्म सहजता थप्नेछ, तर त्यसभन्दा अगाडि पनि खोला खोँचहरु छन् । त्यो ठाउँमा पनि पक्की पुल बनाउन सकियो भने विकट बस्ती लापा, तिप्लिङ र सेर्तुङलगायतका उत्तरी क्षेत्रका स्थानीयहरूलाई पनि सहज हुनेछ,’ उनले भने।

उत्तरी धादिङ जोड्ने सडकको सबैभन्दा ठूलो खोलामा पुल बने पनि त्यसभन्दा अगाडितिरका खोलाहरूमा पनि पुल नहुँदा जोखिम टरिसकेको छैन। छोटो समयमै पार गर्न सकिने बस्तीहरू जान पनि घन्टाैँ समय लगाएर पुग्नुपर्ने बाध्यता कायमै छ।