१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूकम्पका घाइतेको उद्धारमा कमी हुन नदिन गृहमन्त्री श्रेष्ठको निर्देशन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२७:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन दिएका छन्। गृह मन्त्रालयमा जारी आकस्मिक बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले सरोकारवाला सबैलाई उद्धार, राहत तथा खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा बसेको बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको उपस्थिति थियो।

गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रारम्भिक राहत सामग्री पठाइसकिएको जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, रुकुमपश्चिम, रुकुमपूर्व, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएको उनको भनाइ छ।

भूकम्प प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालित भइसकेको छ। सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काई ट्रकमार्फत प्रभावित क्षेत्रमा पुगिसकेको छ।

गएराति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा मानवीय र भौतिक क्षति पुगेको छ।