रामेछाप विमानस्थलमा तारा एयरका दुई क्याप्टेनबीच शुक्रबार बिहान कुटाकुट भएको थियो। कुटाकुटको विषयलाई लिएर प्रहरीमा उजुरी परेको थियो। आज साँझ प्रहरी कार्यालयमा दुवै पक्षबीच मेलमिलाप भएको प्रहरीले जनाएको छ।
आज बिहान लुक्लाबाट उडान भरी रामेछाप एयरपोर्टमा अवतरण गरेका तारा एयरका क्याप्टेन सन्तोष शाहलाई सोही एयरलाइन्सका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठले हात मिलाउने क्रममा मुखमा मुक्का हिर्काएका थिए।
क्याप्टेन शाहमाथि हातपात गरी श्रेष्ठ यात्रु लिएर लुक्ला विमानस्थलतर्फ लागेका थिए। सो घटनापछि क्याप्टेन शाहको उपचार मन्थलीस्थित अस्पताल भएको थियो। उपचारपछि उनले श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
उक्त घटनापछि जिल्ला प्रहरी कार्यालय रामेछापले साेलुको लुक्ला पुगेका क्याप्टेन श्रेष्ठलाई तत्काल जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन टेलिफोनमार्फत जानकारी गराइयो।
पछि क्याप्टेन श्रेष्ठले चलाएको जहाज नेपाल उड्ड्यन प्राधिकरणले लुक्लामै ग्राउन्डेड गराएपछि अर्को जहाजमा यात्रुको रूपमा चढेर रामेछाप विमानस्थल आएका श्रेष्ठ रामेछाप विमानस्थलमा झरेर जिल्ला प्रहरी कार्यालय रामेछापमा हाजिर हुन पुगेका थिए।
श्रेष्ठ प्रहरी कार्यालयमा पुग्दा अर्का क्याप्टेन शाह प्रहरी कार्यालयमा नै बसिरहेका थिए । प्रहरीले दुई क्याप्टेनबीच के भएको भनी छलफल चलाउँदा एक–आपसमा हात मिलाउने क्रममा शाह अकस्मात लडेको र आफूले हातपात नगरेको क्याप्टेन श्रेष्ठले बताए।
क्याप्टेन श्रेष्ठले आफूहरूबीचको कुरा भएकाले क्षमा दिन आग्रह गरे। क्याप्टेन शाहले श्रेष्ठलाई क्षमा दिँदै अबउप्रान्त कुनै पनि समयमा रिसराग नराख्ने भन्दै मेलमिलाप कागजमा सहीछाप गरी अंकमाल गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।
क्याप्टेन कुटाकुट घटनामा रामेछापका नागरिक उड्डयन कार्यालय प्रमुख निलम्बित
रामेछाप विमानस्थलमा तारा एयरका दुई क्याप्टेनबीच कुटाकुट हुँदा पनि विमान उडानमा प्रतिबन्ध गर्नुको सट्टा उल्टै उडान भर्न दिएको भन्दै रामेछाप नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापालाई नागरिक उड्डयन मन्त्रालयले निलम्बन गरेको छ। निलम्बनपछि प्रमुख थापा कामकाजविहीन भएका छन्।
नागरिक उड्डयन प्राधिकरणद्वारा दुई पाइलट निलम्बित
रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच भएको घटनालाई लिएर नागरिक उड्डयन प्राधिकरणले दुवै क्याप्टेनलाई निलम्बनमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
दुवै क्याप्टेनले चलाएको जहाजमध्ये श्रेष्ठले उडान भरेको जहाज लुक्ला विमानस्थलमा ग्राउन्डेड गरिएको छ भने शाहले उडान भरेको जहाज रामेछापमा विमानस्थलमा नै ग्राउन्डेड छ। ग्राउन्डेड गरिएका दुवै जहाज उडानका लागि तारा एयरलाइन्सले अन्य दुई क्याप्टेन पठाएको जनाएको छ।
यता उक्त घटनापछि नागरिक उड्डयन प्राधिकरणले दुई क्याप्टेन श्रेष्ठ र शाहको पाइलट इजाजतपत्र रद्द गरेको जानकारी प्राप्त भएको तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।