१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीद्वारा सीमास्तम्भ मर्मत कार्यको सुरुवात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:३६:oo

सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमास्तम्भको मर्मत तथा रंगरोगन कार्यको सुरुवात गरेको छ। मर्मतको सुरुवात बिहीबार मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको उपस्थितिमा धनुषास्थित नेपाल–भारत दशगजामा रहेको सीमास्तम्भबाट गरिएको हो।

सीमास्तम्भ मर्मतको सुरुवात गर्दै नायब महानिरीक्षक शाहले दुरुस्त अवस्थाको सीमास्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बल नेपाललाई थप प्रभावकारी रूपमा सीमाको सुरक्षा गर्न सहज हुने र यसले सीमाको सुरक्षा मात्र नभई सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन योगदान पुर्‍याउने बताए।

नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मत कार्यको जिम्मेवारी प्राप्त भइसकेकाले आगामी दिनमा निरन्तर रूपमा मर्मत कार्य सुचार रहने र मर्मतका क्रममा स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिहरूको सहयोग अपरिहार्य रहेको उनको भनाइ छ।

सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रका नागरिकको सहयोगविना प्रभावकारी रूपमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न असम्भव रहेको महसुस गरी सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम सुरु गरिसकेको उनले बताए। सोहीअन्तर्गत कात्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा मधेश प्रदेशको भारतसँग जोडिएका एक सय ४३ वडाका अधिकांश वडा अध्यक्षहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको र उक्त अवसरमा प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने चरणमा रहेकोसमेत उनले जानकारी गराए।

नेपाल भारत सीमा कार्य समूहको पाँचौँ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमास्तम्भहरूमध्ये जोर नम्बरको सीमास्तम्भहरू भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमास्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णयअनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमास्तम्भहरू सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भएबमोजिम मर्मतको कार्य सुरु गरिएको हो। पहिलो चरणमा मधेश प्रदेशमा रहेका एक हजारभन्दा बढी सीमास्तम्भहरूको मर्मत हुने सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

ad
ad