
सरकारले संघीय संसद्को बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । २४ वैशाखदेखि सुरु भएको बर्खे अधिवेशनमा बजेटबाहेक एउटा मात्रै कानुन बनेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बिहीबार संघीय संसद्को बर्खे अधिवेशन अन्त्य हुने बताए ।
संसद् सचिवालयका अनुसार दुवै सदनको अन्तिम बैठक बिहीबार बस्दै छ । प्रतिनिधिसभाको ११ बजे र राष्ट्रिय सभाको १ बजे बैठक बस्दै छ । नेताहरूका अनुसार बिहीबारै बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले स्वीकृत गरेपछि अधिवेशन अन्त्य हुने संवैधानिक व्यवस्था छ ।
बिहीबारको अन्तिम बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दलीय आधारमा बोल्न दुई घन्टा विशेष समय छुट्याइएको छ । यो अधिवेशनमा बजेटबाहेक एउटा कानुन बनाएको संघीय संसद्मा २२ वटा विधेयक विचाराधीन छन् । प्रतिनिधिसभामा १८ र राष्ट्रिय सभामा चार विधेयक छन् ।
मन्त्रिपरिषद्बाट पारित भएको संघीय निजामती विधेयक भने अझै संसद्मा दर्ता भएको छैन । सर्वाधिक चासो र महत्वको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पनि यो अधिवेशनमा टुंगोमा पुग्न सकेन । यो विधेयक कानुन समितिमा छ । केही विषयमा दलहरूबीच सहमति जुटेको छैन ।