१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध माइतीघर मण्डलामा अनसन बसेकी भारती मानन्धर । फाइल तस्बिर
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:३६:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रिगललाई आममाफी दिने निर्णयविरुद्धको रिटमा सुनुवाइ सकियो, आज फैसला आउने

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३६:oo

व्यक्ति हत्यामा जन्मकैद सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई कैद कट्टा गरी जेलमुक्त गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बिहीबार फैसला हुँदै छ । रिटमा सर्वोच्चले कस्तो निर्णय सुनुवाइ गर्ला भन्ने प्रश्नले यतिवेला भारती मानन्धरलाई बेचैन बनाएको छ ।

भारती गत शुक्रबारदेखि नै माइतीघर मण्डलामा आमरण अनशन बस्दै आएकी छिन् । अनशनका कारण उनको शरीर गलेको छ । कमजोरीले हातखुट्टाका मांसपेशी बाउँडिन थालेका छन् । उभिने तागत शरीरमा छैन । न आगन्तुकसँग कुरा गर्ने सामर्थ्य नै उनीसँग छ । शरीरमा ग्लुकोजको मात्रा घटेको छ । मांसपेशीलाई सामान्य अवस्थामा ल्याउन अस्पताल गइरहनुपर्छ । उनको सहयोगमा जुटेकी वसन्ती नेपालीले भनिन्, ‘आमरण अनशन बसेको पाँच दिन भयो । उहाँको शरीर पूरै कमजोर भएको छ । शरीरमा मांसपेशी बाउँडिन थालेका छन् । सामान्य अवस्थामा ल्याउन मसाज गरिरहनुपर्छ । ग्लुकोजको मात्रा पनि शरीरमा छैन । पुर्ताल गर्न अस्पताल गइरहनुपर्छ,’ उनले भनिन् ।

भारतीले थालेकी यो दोस्रो आमरण अनशन हो । यसअघि उनले गत असोजमा रिले अनशन गरेकी थिइन् । यही क्रममा दसैँ सुरु भयो । उनको अनशन प्रभावित बन्यो । त्यसलगत्तै स्थगित उनको दोस्रो चरणको अनशन गत शुक्रबारबाट सुरु भयो । यसपटक आमरण अनशनमा उत्रिएकी उनको स्वास्थ्य अवस्था निकै कमजोर बन्न पुगेको छ । अनशनस्थलमा भेटिएका उनका अर्का सहयोगी आशिष मल्ल ठकुरीले भने, ‘उहाँको यो दोस्रो चरणको अनशन हो । यसअघि गत असोजमा उहाँले रिले अनशन सुरु गर्नुभएको थियो । चाडपर्वका कारण अनशन प्रभावित बन्यो । अहिले भने आमरण अनशन नै सुरु गर्नुभएको छ । जसले गर्दा उहाँको शरीर जीर्ण बन्दै गएको छ ।’ २८ असार ०७२ मा नेपालगन्जका चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या भयो । हत्याका मुख्य योजनाकार थिए रिगल । जिल्ला अदालत बाँकेले घटनामा संलग्न रहेको निष्कर्ष निकाल्दै रिगललाई जन्मकैदको फैसला गर्‍यो । तर, गत ३ असोजमा संविधान दिवसका दिन कैद सजाय कट्टा भई उनी जेलमुक्त भए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको कैद सजाय कट्टा गर्ने निर्णय गरेका थिए । 

मृतक उनै चेतनकी श्रीमती हुन् भारती । सरकारको अप्रत्याशित निर्णयले भारतीलाई मर्माहत तुल्यायो । आहत बनेकी उनले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन त दिइन् । तर, सर्वोच्चमा भरोसा गर्ने ठाउँ उनले देखिनन् । किनकि रिगलको रिहाइ कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको दबाबमा भएको थियो । हारगुहार गर्दै उनी त्यही दिनदेखि चरणबद्ध अनशन बस्दै आएकी छिन् । भारतीका सहयोगी मल्लले भने, ‘रिगलको मुद्दा सर्वोच्चमा छ । फैसला के आउँछ भन्न सकिने अवस्था छैन । रिगल ठूलै राजनीतिक चलखेलका कारण छुटे । अदालतमा पनि त्यस्तै चलखेल नहोला भन्न सकिन्न । तर, आशा छ ।’

कैद सजाय कट्टामा राजनीतिक चलखेल
कारागार व्यवस्थापन विभागका निमित्त प्रमुख तथा प्रवक्ता कमलप्रसाद पाण्डेले कैद सजाय कट्टा भई जेलबाट छुटेकाहरू पुनः अपराधमा संलग्न हुनु सोचनीय रहेको बताए । ‘कैद कट्टा निश्चित मापदण्डका आधारमा हुन्छन् । यसका लागि सम्बन्धित व्यक्तिले निश्चित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यसरी छुटेकाहरू पुनः अपराधमा संलग्न हुनु सोचनीय विषय हो । यस्ता विषयमा राज्यले फरक ढंगले सोच्न आवश्यक छ । कैद कट्टाका लागि अपनाइने विधि प्रक्रिया मात्र नभई कैदीबन्दीको व्यवहार सुधारका लागि गरिने तौरतरिका पनि बदल्नु आवश्यक देखिन्छ,’ उनले भने । नेपाल प्रहरीका पूर्वडिआइजी तथा सुरक्षाविद् हेमन्त मल्ल पनि कैद कट्टा भई जेलबाट छुटेका कैदी पुनः अपराधमा संलग्न हुनु दुःखद विषय रहेको बताए । जेलबाट छुटेलगत्तै प्रतिवादी अपराधमा संलग्न हुनु राजनीतिक चलखेलको परिणाम भएको उनी ठान्छन् । ‘कैद सजाय कट्टा गर्ने निश्चित मापदण्ड छन्, तर त्यसलाई फलो गरिन्न । राजनीतिक चलखेलका आधारमा कैद कट्टा गरिन्छ । र, अपराधी सजिलै कैदमुक्त हुन्छ । यसले अपराधीलाई अपराध गर्न प्रोत्साहन गर्छ । जेलबाट छुटेलगत्तै पुनः अपराधमा फर्कनुको खास कारण यही देखिन्छ,’ उनले भने ।

जो कैद कट्टा भई जेलबाट छुटे, लगत्तै अपराधमा संलग्न भए 
लोकबहादुर विक रुकुम पश्चिम सानीभेरी गाउँपालिका– ९ सिम्लीका हुन् । बहुविवाह कसुरमा उनी जेल परे । ६ महिना कैद सजाय भुक्तानपछि उनको कैद सजाय कट्टा गर्ने निर्णय भयो । नभन्दै उनी गत ३ असोजमा संविधान दिवसका दिन जेलबाट छुटे, तर उनी सुध्रिएनन् । जेलबाट छुटेको महिना दिन नपुग्दै रुकुम पश्चिम मुसिकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरे । प्रहरीका अनुसार उनले भावनालाई होटेलमा लगेर घाँटी काटेका थिए । 

यस्तै, गणतन्त्र दिवसमा असल चालचलनका आधारमा छुटेका हेटौँडा उपमहानगरपालिका– २ का रामचन्द्र थापा फिरौती रकम माग गरेको अभियोगमा पक्राउ परेका छन् । चितवन बस्दै आएका उनी कैद कट्टा भई गत १५ जेठमा गणतन्त्र दिवसका दिन जेलबाट छुटेका थिए । डाँका मुद्दामा पक्राउ परेर नौ वर्ष कैद सजाय पाएका थापा सरकारको सिफारिसमा राष्ट्रपतिबाट ५० प्रतिशत कैद छुट पाएर रिहा भएका थिए । उनी साढे चार वर्षमै कैदमुक्त भए । प्रहरीका अनुसार उनले चितवनका औषधि पसल सञ्चालक सोमराज सुवेदीलाई धम्क्याउँदै रकम मागेपछि पक्राउ परेका हुन् । थापाले सुवेदीसँग ८ कात्तिकमा २५ लाख रुपैयाँ माग गरेका थिए । पैसा नदिए सुवेदी र उनका छोरालाई समेत सुट गरेर मार्ने धम्की थापाले दिएपछि प्रहरीलाई खबर गरेका थिए । चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले थापालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।

थापा यसअघि पनि विभिन्न अपराधमा पटक–पटक पक्राउ परेका व्यक्ति हुन् । डिएसपी पण्डितका अनुसार थापाविरुद्ध पहिलोपटक २७ जेठ ०६६ मा चितवन प्रहरीले चोरी मुद्दा दर्ता गराएको थियो । सोही वर्षको ३ असारमा अवैध हातहतियार देखाएर डाँका गरेको अभियोग पनि उनलाई लागेको थियो । त्यसैगरी, २२ वैशाख ०७३ मा ललितपुरको सातदोबाटो प्रहरी वृत्तले थापाविरुद्ध लागुऔषध अपराधमा मुद्दा दर्ता गरेको डिएसपी पण्डितले बताए । १३ मंसिर ०७५ मा चितवन प्रहरीले डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उनी जेल गएका थिए ।

हजुरआमा र काकीको हत्या गरेको प्रमाणित भएपछि नवलपुर गैँडाकोट टोलटोलेका ३४ वर्षीय सुरेशबहादुर कुमालविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला भयो । उनी जेल चलन भए । पछि उनको चलचलन ठीक भएको भन्दै कैट सजाय कट्टा गरी जेलमुक्त गर्ने निर्णय भयो । नभन्दै उनी १५ जेठ ०७९ मा कैद मुक्त भए, तर उनी सुध्रिएनन् । जेलबाट छुटेको महिना दिन नबित्दै उनले चितवनस्थित माडी नगरपालिका– ४ शीतलपुर घुँसेरीका ३४ वर्षीय जीवन नेपालीको हत्या गरे । प्रहरीका अनुसार उनले नेपालीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरेका थिए ।

ad
ad