१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका महोत्तरी
२o८१ बैशाख २२ शनिबार १६:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

बर्दिबासमा गुन्जिए कवि राजु स्याङ्तान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:५७:oo

बृहत् साहित्य सञ्जालको आयोजनामा कवि राजु स्याङ्तानको सांस्कृतिक प्रस्तुतिसहितको एकल कवितावाचन शनिबार महोत्तरीकाे बर्दिबासमा सम्पन्न भएको छ । 

कवि स्याङ्तान ‘पब्लिकेसन्स नेपालय’बाट प्रकाशित आफ्नो कवितासंग्रह ‘ओ पेङ्दोर्जे !’ सहित पोयट्री टुरमा व्यस्त छन् । टुरका क्रममा उनी शनिबार महोत्तरीको बर्दिबास पुगेका हुन् । 

कार्यक्रममा स्याङ्तानले ‘रामबहादुर मार्ग’, ‘गुमनाम ताराहरू’, ‘आमा तिमी मात’, ‘गाउँ हराएको कथा’, ‘छुटेको प्रचण्ड’, ‘पिपाको हुंकार’, ‘च्याङ्बाको रहर’सहित एकदर्जन कविता सुनाए । 

विनायक ब्यांक्वेटको खचाखच भरिएको हलमा उनका कविताहरू दर्शकले निकै चाख मारेर सुने । उनलाई सारंगी र टुंगनामा मनीष गन्धर्व र बाँसुरीमा सुजन लामाले साथ दिएका थिए । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष शशिकला दाहालले राजुका कविताहरूमा भुइँमान्छेका वेदनाहरू भेटिने बताइन् । 

उनले भनिन्, ‘राजुका कविताहरू पहिलेदेखि पढ्थेँ । किनकि उनका कवितामा विद्रोही चेत जिउँदो भेटिन्छ । आगामी दिनमा राजुका अझै धेरै सिर्जना पढ्न पाइयोस् ।’ 

एशोधा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा भीमकुमार राउत र इरज पौडेलले पनि कवि र कविताबारे आफ्ना भनाइ राखेका थिए । 

कार्यक्रमका संयोजक तथा कवि जीवन स्पर्शीले बर्दिबासमा साहित्यिक माहोल निर्माण गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

उनले भने, ‘बर्दिबास साहित्य कला र संस्कृतिको ‘हब’ बन्ने क्रममा छ । हामी निरन्तर कार्यक्रमहरू गरिरहेका छौँ । मलाई विश्वास छ, यो कार्यक्रमले झनै ऊर्जा दिनेछ ।’ 

बृहत् साहित्य सञ्जाल, मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरेले स्याङ्तानका कविताहरू बर्दिबासका पाठकहरू माझ सुनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । 

उनले भने, ‘राजु यही माटोमा जन्मिएको कवि हो । त्यसैले यहीँका पाठकलाई सुनाउन यो कार्यक्रम आयोजक गरिएको हो । हामी बर्दिबासलाई साहित्यको ‘हब’ बनाइछाड्नेछौँ । यो कार्यक्रम त्यसैको एउटा कडी हो ।’ 

कार्यक्रमको सुरुमा भारत सीतामाडीबाट आएका जनवादी कवि कमरुद्दीन नदाफ, कवि जीवन स्पर्शी, कवि रामचन्द्र पौडेल ‘विपुल’, कवि विपिराज दाहाललगायतले कविता वाचन गरेका थिए ।  

‘अनप्लग वाचन’ द्वारा जारी पोयट्री टुर कविताका खास पाठकमाझ पुर्‍याउने उद्देश्यले अभियानकै रूपमा अघि बढाइएको टुरकी संयोजक सुनिता तामाङले बताइन् । 

उनले भनिन्, ‘धरानबाट सुरु भएको हाम्रो टुर देशका विभिन्न नगरहरूमा पुगिसकेको छ । यो क्रम जारी रहने छ ।’

ad
ad