१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० कार्तिक ४ शनिबार १५:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चिकित्सा शिक्षा ऐन संशोधन हुने

Read Time : > 1 मिनेट
२०८० कार्तिक ४ शनिबार १५:१०:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने बताएका छन । बागलुङ नगरपालिका कार्यालयले आयोजना गरेको स्वागत तथा शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री बस्नेतले ६ महिनाभित्र चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले नेपालमा नै डाक्टर, नर्स उत्पादन गर्ने गरी ऐन संशोधन गरेर अगाडि नबढे भोलिका दिनमा देशमा डाक्टर र नर्सको कमी हुने बताए । 
‘चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ । यसलाई प्रधानमन्त्री र पार्टीका नेताले सकारात्मक रूपमा लिनुभएको छ । संशोधन प्रक्रिया अघि बढिसकेको छ । अब यो प्रस्ताव अगाडि बढाउँदा राजीनामा र अनशन गरेर बसे पनि सरकार पछि हट्नेछैन,’ उनले भने ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रतिबद्ध रहेको भन्दै उनले केही गर्ने सोचका साथ आफूले स्वास्थ्य मन्त्रालय सम्हालेको जिकिर गरे ।

मन्त्री बस्नेतले आमनेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए । 

धौलागिरि अस्पतालमा डायलाइसिस मेसिन हस्तान्तरण
मन्त्री बस्नेतले शनिबार नै धौलागिरि अस्पतालका लागि डायलाइसिस मेसिन हस्तान्तरण गरेका छन् । मिर्गाैलापीडित बिरामीको चाप बढ्दै गएकाले स्वास्थ्य मन्त्रालयले अस्पताललाई थप पाँच थान मेसिन प्रदान गरेको हो । 

‘यहाँ डायलाइसिस मेसिनको आवश्यक छ भन्ने बागलुङ नगरका प्रमुख वसन्तकुमार श्रेष्ठमार्फत जानकारी गराउनुभएको थियो । मन्त्रालयमा भर्खर खरिद गरेर ल्याएका थियौँ,’ मन्त्री बस्नेतले भने, ‘उहाँकै आग्रहमा मैले धौलागिरि अस्पताललाई प्राथमिकतमा राखेर पठाएको छु । अब यहाँका बिरामीलाई सहज हुने आशा गरेको छु ।’

 उनले मेसिनसँगै यो सेवालाई निरन्तर बनाउनका निम्ति दक्ष स्वास्थ्यकर्मी पनि व्यवस्थापन गर्न अस्पताल प्रशासनलाई आग्रह गरे । मन्त्री बस्नेतलाई बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले धौलागिरि अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न जरुरी रहेको जानकारी गराएका थिए । 

हाल यहाँ ४० मिर्गौलापीडित बिरामीले नियमित सेवा लिइरहेको छन । दैनिक तीन चरणमा डायलाइसिस सेवा प्रदान गरिएकोमा थप पाँचवटा मेसिन सञ्चालनमा आएपछि बिरामीले घन्टाैँ कुर्नुपर्ने अवस्थाको अन्त्य हुने अस्पतालका प्रमुख डा. रविरञ्जन प्रधानले बताए । अस्पतालमा हाल पाँचवटा डायलाइसिस मेसिन सञ्चालनमा रहेको उनले जानकारी दिए ।