१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format o८:४८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तीन वर्षअघि बाढीले भत्काएको कजवे अझै अलपत्र

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format o८:४८:oo

जोखिम मोलेरै नदीबाटै वारपार गर्छन् स्थानीय

तीन वर्षअघि वाणगंगा नदीमा आएको बाढीले भत्काएको घेरवा–वनगाई–कोपवा जोड्ने कजवे अझै निर्माण भएको छैन । कजवे नबन्दा घेरवा–वनगाई हुँदै सदरमुकाम तौलिहवा आवतजावत गर्ने नागरिकले समस्या भोग्दै आएका छन् ।

छिमेकी जिल्ला अर्घाखाँचीसम्म आवतजावत गर्न प्रयोग हुने नदीमा कजवे तथा पुल निर्माणमा स्थानीय सरोकारवालाले पटकपटक ध्यानाकर्षण गराउँदा पनि स्थानीय सरकारले चासो देखाएको छैन । तीन वर्षअघि वाणगंगा नदीमा आएको बाढीले वनगाई–कोपवा जोड्ने कजवे भत्काएको थियो । केन्द्र सरकारको बजेटमा नीलगिरि जेभी कन्ट्रक्सनले तीन करोड रुपैयाँको लागतमा कजवे निर्माण गरेको थियो । त्यही वर्ष वाणगंगा नगरपालिकाले मापदण्ड मिच्दै लक्ष्मणघाट पुल र वनगाई कोपवा कजवेनजिकै ठेक्का दिँदा अनियन्त्रित उत्खनन भएर कजवे भत्किएको हुन सक्ने वाणगंगा– ५ मनहरापुरका लोकबहादुर थापाले बताए ।

प्रदेश सरकारको नदीजन्य कार्यविधिअनुसार पुल र कजवेजस्ता संरचनाबाट पाँच सय मिटरमाथि र तल एक किलोमिटरभित्र ठेक्का लगाउन पाइँदैन । तर, सो मापदण्डको धज्जी उडाउँदै नगरपालिकाले मनपरी ठेक्का लगाएको थियो । जसका कारण नदीले कजवे बगाएको स्थानीयको भनाइ छ । कजवे बगाएपछि अहिले सो क्षेत्रबाट आवतजावत ठप्प रहेको अर्का स्थानीय उमानाथ पौडेलले जानकारी दिए । आवतजावत बन्द हुँदा किसानका उत्पादन बजार पुर्‍याउन र दैनिक उपभोग्य सामान ल्याउनसमेत असहज भएको स्थानीय मानबहादुर कार्कीले बताए । 

स्थानीयवासीले कजवे निर्माणबारे कुरा उठाउँदा आफ्नो स्रोतबाट सो कार्य सम्भव नरहेको भन्दै नगरपालिका पन्छिने गरेको छ । पुल बनाउन संघ सरकारसँग माग गरिएको नगरपालिकाको जवाफ छ । गाउँबाट चार सय मिटरनजिकै बजार भए पनि आफ्ना कृषिजन्य उत्पादन बिक्रीका लागि लिएर आउजाउ गर्न किसानलाई समस्या परिरहेको छ । उक्त क्षेत्रमा चुनावका वेला भोट माग्न आउने उम्मेदवारहरूले आफूलाई भोट दिए कजवे बनाइदिने भन्दै झुटो आश्वासन दिने गरेको स्थानीयको अनुभव छ । स्थानीय भन्छन्, ‘भोट माग्न आएका कोही पनि फर्किएर आएका छैनन् । जितेर गएका पनि हराए, हारेका त झन् आउने कुरै भएन ।’ कजवे नहुँदा स्थानीयको जीवन नै जोखिममा परेको छ । ‘जोखिम मोल्दै नदीमा डुबुल्की मार्नुपर्ने बाधयता रहेको छ,’ मानबहादुरले नयाँ पत्रिकासँग भने ।