१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दसैँ बिदामा आयल निगमले इन्धन वितरण नरोक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२९:oo

आयल निगमले दसैँ बिदामा देशभरका डिपोहरू खुला राखेर पेट्रोल, डिजेल र हवाई इन्धन वितरण गर्ने जनाएको छ । दसैँमा कुन–कुन दिन डिपोहरू खुला राख्ने भन्ने विषयमा देशभरका कार्यालयबाट विवरण माग गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । ‘दसैँमा सवारीसाधनको आवतजावत बाक्लो हुने र इन्धनको खपतसमेत वृद्धि हुने हुँदा निगमको देशभरका डिपोहरू विगतमा जस्तै यसपटक पनि खुला राख्नेछौँ,’ ठाकुरले भने, ‘डिपोहरू कुन–कुन दिन खुला राख्ने भन्ने विषयमा एक–दुई दिनमै सार्वजनिक सूचनामार्फत जानकारी गराउँछौँ ।’

निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटले सप्तमी, नवमी र द्वादशीमा डिपो खोलेर इन्धन वितरण गर्ने जानकारी केन्द्रीय कार्यालयलाई गराएको छ । ‘हामीले तीन दिन डिपो खोल्ने र अरू वेला आवश्यक परेको खण्डमा २४सै घन्टा सेवा दिन कर्मचारीसमेत खटाउने निर्णय गरेका छौँ,’ डिपो प्रमुख शैलेन्द्र भुसालले भने ।

त्यस्तै, सबैभन्दा ठूलो डिपो मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जले सप्तमी र द्वादशीका दिन खुला गर्ने जानकारी केन्द्रीय कार्यालयमा पठाइएको छ । अमलेखगन्ज डिपो प्रमुख विनीतमणि उपाध्यायले पम्प व्यवसायीसँग छलफल गरी दसैँ बिदाको दुई दिन डिपो खुल्ने बताए ।

निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख पूर्ण रिजालले सप्तमी र ८ वा ९ कात्तिकमा डिपो खुला राख्ने निर्णय केन्द्रीय कार्यालयमा जानकारी गराएको बताए । देशभरका हवाई इन्धन कार्यालय भने बन्द हुने गरेका छैनन् । विमानस्थल कार्यालयपरिसरमै हुने गरेको निगमको हवाई इन्धन कार्यालयहरू सामान्य अवस्थामा जस्तै खुला रहने निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालयका प्रमुख प्रदीप यादवले जानकारी दिए ।

उनका अनुसार दसैँ लागेयता इन्धन खपतसमेत वृद्धि भएको छ । ‘हवाई जहाजको उडान बढेर होला, हवाई इन्धनको खपत दोब्बर भएको छ,’ कार्यालय प्रमुख यादवले भने, ‘त्रिभुवन विमानस्थलमा सामान्य दिनमा तीन लाख ५० हजार लिटर हवाई इन्धन खपत हुने गरेमा अहिले ६ लाख लिटर खपत हुन थालेको छ,’ उनले भने ।

निगमको भद्रपुर विमानस्थलस्थित हवाई इन्धन डिपोका प्रमुख कपिल भट्टले पनि दसैँका कारण दैनिक दुई हजार लिटरसम्म खपत बढेको बताए । ‘यहाँ दैनिक सात हजार लिटरसम्म हवाई इन्धन खपत हुने गरेको थियो, अहिले नौ हजार लिटरसम्म माग भइरहेको छ,’ उनले भने, ‘माग भएअनुसार हामीले दिइरहेका छौँ । आपूर्ति गर्न कुनै समस्या छैन ।’

पेट्रोलपम्प बन्दको गुनासोपछि उद्योगमन्त्रीद्वारा छलफल
आयल निगमले आइतबार रातिबाट लागू हुने गरी पेट्रोल ११ रुपैयाँ र डिजेल पाँच रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो । व्यवसायीलाई जानकारी नदिई ठूलो अन्तरले मूल्य घटाउँदा नोक्सानी खेपेको भन्दै विरोधमा केही पम्पले सोमबार पेट्रोल र डिजेलको बिक्री रोकेका थिए । 

व्यवसायीले गैरकानुनी रूपमा पम्प बन्द गरेको भन्दै हेलो सरकार र अन्य निकायमा उपभोक्ताले उजुरी दिएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मंगलबार दिउँसो छलफल गरेका थिए । छलफलमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान, आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवाल र उद्योग सचिव मुकुन्द निरौला सहभागी थिए ।

सो छलफलमा पेट्रोलियम डिलर्सका अध्यक्ष प्रधानले शनिबार र सोमबार सार्वजनिक बिदा हुँदा निगमको डिपोबाट तेल नउठाएको र त्यसको असर बजारमा देखिएको जानकारी गराएका थिए । मूल्य थपघटका कारण पम्प बन्द नगरिएको, बरु पम्पमा तेल नै नभएको उनले जानकारी गराएको छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए ।

यसैबीच, हेल्लो सरकारमा आएको गुनासोका आधारमा भएको अनुगमनबाट तिनकुनेस्थित भ्याली रिकेश पेट्रोलपम्प सिल गरिएको छ । प्रधानमन्त्री कार्यालय, वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभागलगायतका प्रनिनिधिले गरेको अनुगमनमा तोकिएभन्दा कम तेल दिने गरेको पुष्टि भएपछि पम्पलाई सिल गरिएको हो ।

ad
ad