Skip This
विनाजानकारी प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि दसैँँको मुखमा रोकियो भुक्तानी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३० मंगलबार
  • Saturday, 27 July, 2024
२o८o असोज ३० मंगलबार १२:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विनाजानकारी प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि दसैँँको मुखमा रोकियो भुक्तानी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ३० मंगलबार १२:४६:oo

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी विनाजानकारी घर हिँडेपछि दसैँअगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको बिल रोकिएको छ। 

भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नछोडी तथा विनाजानकारी सोमबार बिहानै घर हिँडेपछि गाउँपालिकाको सबै काम रोकिएको हो। 

दसैँअगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी प्रमुख प्रशासकीय अधिकृत रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन्। विनाजानकारी प्रमुख प्रशासकीय अधिकृत रेग्मी कार्यालय छाेडेर हिँडेपछि दसैँअगाडि गर्नुुपर्ने तलब तथा बिल भुक्तानीलगायतका सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्लिङले जानकारी दिएका छन्।  

विनाजानकारी कार्यालय छाडेर हिँडेका प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई २४ घन्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। 

‘कर्मचारीहरूले दसैँअगाडि पाउनुपर्ने तलब पाएका छैनन्। काम सम्पन्न गरेका निर्माण व्यवसायीको बिल दसैँअगाडि नै भुक्तानी गर्नुपर्नेछ। यति धेरै काम अलपत्र छाडेर विनाजानकारी प्रमुख प्रशासकीय अधिकृत रेग्मी हिँडेछन्,’ उनले भने, ‘फोन गरेर २४ घन्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छु। यो कुरा मन्त्रालयमा समेत जानकारी गराएको छु। हाजिर नभएको खण्डमा कानुनबमोजिम कारबाही हुन्छ।’ 

उता, प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने घरमा जरुरी काम परेकाले अचानक सोमबार बिहानै विराटनगरस्थित घर गएको बताएका छन्। ‘आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु। बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु,’ उनले भने, ‘दसैँअगाडि फर्किने सम्भावना छैन। यहाँबाट सम्भव नहुने काम दसैँपछि कार्यालय गएर गर्छु।’

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अहिलेसम्म भुक्तानीसम्बन्धी सम्पूर्ण काम चेकमार्फत गरिने भएकाले सबै कागजात प्रमुख प्रशासकीय अधिकृतको घर पुर्‍याउन नसकिने गाउँपालिकाले जनाएको छ।

भुक्तानी तथा कुनै पनि कामजात बोकेर प्रमुख प्रशासकीय अधिकृत खोज्दै गाउँपालिकाको कार्यालय बाहिर नजान लेखापाल तथा अन्य कर्मचारीलाई भनिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए। 

प्रमुख प्रशासकीय अधिकृत रेग्मी विनाजानकारी कार्यालय छाडेर हिँडेको थाहा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। केहीले गाउँपालिका प्रमुख राईले फर्जी बिलको आधारमा चेक काट्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत फरार भएको स्टाटस लेखेका छन्। 

सामाजिक सञ्जालमा गाउँपालिकाको बारेमा टीकाटिप्पणी हुन थालेपछि गाउँपालिका प्रमुख राईले सोमबार राति नै विज्ञप्ति जारी गर्दै विनाप्रमाण भ्रमको खेती नगर्न–नगराउन अनुरोध गरेका छन्। 

प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी विनाजानकारी असोज २९ गते बिहानबाट बेपत्ता भएकाले उनको ज्यान सुरक्षाको समेत संयमतालाई मध्यनजर गर्दै खोजी कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ। 

‘सामाजिक सञ्जालमा विनाप्रमाण सिंगाे गाउँपालिकाको मानमर्दन हुने गरी दुष्प्रचार भइरहेको छ। केही व्यक्तिद्वारा गलत तथा कपोकल्पित, मनोमानी, स्वेच्छाचारी र भ्रमपूर्ण ढंगबाट भएको दुष्प्रचारप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुँदाहुँदै भ्रमपूर्ण सूचना प्रवाह नगर्न–नगर्न नगराउन अनुरोध छ।’

दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत कार्यालय छाडेर विनाजानकारी हिँडेपछि सबैको ध्यान दिप्रुङ चुइचुम्मा गाउँपलिकातर्फ गएको छ। प्रमुख प्रशासकीय अधिकृत अभावमा गाउँपालिकाले भुक्तानी दिन नसक्ने भएपछि विकास निर्माणको काममा खटिएका अधिकांश कामदारको दसैँ खल्लो हुने निश्चित छ।