१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गगन अयडी बाजुरा
२o८१ जेठ ३ बिहीबार o९:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बाजुराका भूकम्पपीडितको गुनासो : त्रिपाल आयो, तर छाक टार्न राहत आएन

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:o७:oo

बझाङ केन्द्रबिन्दु भएर गत १६ असोजमा बाजुरामा गएको भूकम्पपीडित खाद्यान्न संकट व्यहोर्न बाध्य छन् । पीडितहरूका लागि तत्काल त्रिपालको व्यवस्था भए पनि अहिलेसम्म कसैले खाद्यान्नको व्यवस्था गर्न नसकेको उनीहरूको गुनासो छ । भूकम्पले बाजुरामा सात सय २६ घर भत्किएका छन् । झन्डै साढे दुई हजार घरलाई आंशिक क्षति गरेको छ ।

भूकम्प गएको चार दिनसम्म उद्धार र राहत वितरणका लागि कोही नआउँदा खुला आकाशमुनि बसेर दिन काट्न बाध्य भएको पीडितहरूको गुनासो छ । अहिले स्थानीय सरकारको समन्वयमा विभिन्न निकायबाट त्रिपाल पाएको खप्तड छेडेदह गाउँपालिका– ४ की सुन्दरा रावतले बताइन् । बस्नलाई वास भए पनि सरकारले गाँसको व्यवस्था गर्न नसकेको उनको दुखेसो छ । भूकम्पले घरभित्र रहेका सबै अन्न र कपडा च्यापेकाले अहिले आफूहरू खोलाको साग र सिस्नु खाएर गुजारा गरिरहेको उनले दुखेसो पोखिन् । 

दिलबहादुर रावत, अध्यक्ष, खप्तड छेडेदह गाउँपालिका
तत्काल वास बस्न रेडक्रस, युनिसेफलगायतका केही निकायबाट पालको व्यवस्थापन भएको छ । पीडितहरूका लागि तत्काल वासको व्यवस्थापन गर्न सके पनि गाँसको व्यवस्थापन गर्न सकिएको छैन ।

भूकम्प गएको दुई साता बितिसक्दा पनि सरकारले खानेकुरा र बस्ने वासको कुनै व्यवस्था नगरेको खप्तड छेडेदह गाउँपालिका– ५ दाउरेगडाकी ७५ वर्षीया नन्दा सार्कीले बताइन् । आफूहरूजस्ता भूकम्पपीडितहरूका लागि कोही नभएको उनको भनाइ छ । 

सबैभन्दा बढी प्रभावित रहेको खप्तड छेडेदह गाउँपालिकाका विभिन्न वडाका साढे चार सय परिवारलाई त्रिपाल, कम्बललगायतका राहत सामग्री पहिलो चरणमा वितरण गरिएको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले जानकारी दिए । ‘अहिले तत्काल वास बस्न रेडक्रस, युनिसेफलगायतका केही निकायबाट पालको व्यवस्थापन भएको छ । पीडितहरूका लागि तत्काल वासको व्यवस्थापन गर्न सके पनि गाँसको व्यवस्थापन गर्न सकिएको छैन,’ उनले भने । भूकम्पबाट ठूलो क्षति भएकाले पनि पालिकाले सबैका लागि छिटो व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ ।

खप्तड छेडेदह गाउँपालिकामा भूकम्पका कारण १२ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । जसमध्ये ६ हजार बालबालिका, पाँच सयभन्दा बढी गर्भवती महिला, दुई सयभन्दा बढी वृद्धवृद्धा, एक सयभन्दा बढी अपांगता र चार हजार विद्यार्थी विस्थापित रहेको गाउँपालिका अध्यक्ष रावतले बताए । रेडक्रस सोसाइटी, युनिसेफ र युएनएपिएले पीडितहरूका लागि त्रिपाल, कम्बल र केही भाँडाकुँडा वितरण गरेका छन् । तर, खाद्यान्न भने अहिलेसम्म कसैले वितरण नगरेको पीडितहरूको दुखेसो छ ।

गाउँपालिकामा १४ भन्दा बढी विद्यालयका भवन भत्किएकाले विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । मष्टेश्वरी माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रा गीता सार्कीले घरमै कापीकलम, स्कुल ड्रेसलगायत पुरिएकाले पठनपाठनमा समस्या भएको बताइन् । कक्षा १० मा अध्ययनरत छात्र नरबहादुर रावतले भने विद्यालय भवन भूकम्पले पूर्णरूपमा क्षति गर्दा आफूहरू खुला आकाशमा पढ्न बाध्य भएको बताए । ‘बाहिर पानी परेको दिन भूकम्पले भत्काएर केही बाँकी रहेको भवनको कोठाभित्र बस्नुपर्ने बाध्यता छ,’ उनले भने । फेरि भूकम्प कति वेला आउँछ भन्ने डरले आफूहरू त्रासमा रहेको उनीहरूको भनाइ छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार खप्तड छेडेदह गाउँपालिकामा चार सय ६१, बुढीगंगा नगरपालिकामा एक सय सय २६, बडिमालिका नगरपालिकामा एक सय १४ र त्रिवेणी नगरपालिकामा २५ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । प्रशासनका अनुसार खप्तड छेडेदहका एक हजार नौ सय ७२, त्रिवेणीका तीन सय २५ र बडिमालिकाका एक सय ३७ घरमा आंशिक क्षति पुगेको छ । 

ad
ad