
नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले अध्यक्षको उम्मेदवारी फिर्ता लिएका छन्। सहमतिका लागि भन्दै उनले उम्मेदवारी आज फिर्ता लिएका हुन्। उनलाई पार्टीको केन्द्रीय सदस्य आश्वासन नेतृत्वले दिएको एमाले स्रोतले जनाएको छ।
कृष्णप्रसाद जैसी, भरत साउद र वचनबहादुर सिंहसमेत चारजनाले अध्यक्षमा उम्मेदवारी दिएका थिए। त्यस्तै, उपाध्यक्षमा बलदेव रेग्मी, रणबहादुर महरा र हजारीसिंह साउदले उम्मेदवारी फिर्ता लिएका निर्वाचन समितिले जनाएको छ। सचिवमा जीवन बम र उपसचिवमा पल्लवराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन्।
अध्यक्षसहित पदाधिकारीका सबैजसो पदमा एकभन्दा बढी उम्मेदवार रहेकाले उनीहरूको उम्मेदवारी कायम रहे चुनाव हुनेछ। उम्मेदवारी फिर्ताको अन्तिम समय साढे १२ बजेसम्म तोकिएको थियो, तर सहमतिका लागि फिर्ता लिने समय पुनः बढाउने तयारी रहेको बताइएको छ।
हिजो बेलुकी ५ बजे नै मतदान सुरु हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो । तर, उम्मेदवारी फिर्ता लिने समय पटकपटक बढाएर नेताहरू सहमतिको प्रयासमा छन्। मतदानको समय अझै अनिश्चित छ ।
स्रोतका अनुसार जैसीलाई अध्यक्ष बनाउनका लागि स्थायी समिति सदस्य कर्ण थापा, निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत नेताहरू एक ठाउँमा उभिएका छन्। उनलाई सचिव लेखराज भट्टले पनि समर्थन गरेको बताइएको छ।
यसअघि थापाले अध्यक्षका उम्मेदवार जैसीलाई र भण्डारीले तिमिल्सिनालाई समर्थन गरेका थिए । संस्थापन पक्षनिकट सिंहलाई पनि उम्मेदवारी फिर्ता लिन नेताहरू मनाउने प्रयास गरिरहेका छन् । भीम रावलनिकट उम्मेदवार साउद भने चुनाव लड्ने पक्षमा छन् ।