१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अभियुक्त सञ्जय भण्डारी
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

तिनकुने सामूहिक हत्या प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस, अभियुक्त  भण्डारीविरुद्ध जन्मकैद माग

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४५:oo

प्रहरीले तिनकुनेस्थित दिव्य स:मिलमा भएको सामूहिक हत्याको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ । घटनाका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ । 

जिल्ला सरकारी वकिलकोे कार्यालय काठमाडौंका अनुसार प्रहरीले हत्यासँग सम्बन्धित अनुसन्धान प्रतिवेदन मंगलबार साँझ वकिलको कार्यालयमा पेस गरेको हो । घटनाको २५ दिनपछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । कार्यालयका जिल्ला न्यायाधिवक्ता अच्युतमणि नेउपानले दिव्य स:मिलमा भएको हत्यासम्बन्धी अनुसन्धान प्रतिवेदन वकिलको कार्यालयमा पेस भएको बताए । ‘तिनकुनेस्थित दिव्य स:मिलमा भएको सामूहिक हत्यासम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस भएको छ । प्रतिवेदन अध्ययन गर्न पाएको छैन । त्यसैले अभियुक्तविरुद्ध के कति सजाय मागदाबी गरिएको भन्न सकिने अवस्था रहेन,’ उनले भने ।

गत २९ भदौमा स:मिलमा कार्यरत दोलखा कालिञ्चोक गाउँपालिका– ८ का ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटा भिरगाउँ गाउँपालिका– २ का १९ वर्षीय नवीन भनिने विशाल राईकोे सामूहिक हत्या भएको थियो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले भण्डारीलाई ३१ भदौमा सिन्धुपाल्चोकस्थित बाह्रबिसेबाट पक्राउ गरी ल्याएको थियो । 

फरक क्षमता (बोल्न नसक्ने)का भण्डारीसँग जिल्ला प्रहरी परिसर काठमाडौंले बहिरा संघका दोभाषेमार्फत बयान लिएको थियो । बयानका क्रममा उनले थप १६ जनाको हत्या गरेको सनसनीपूर्ण बयान दिएका थिए । प्रहरीले उनको बयानलाई आधार बनाएर केही घटनाको अनुसन्धानसमेत गरेको थियो । तर, प्रमाण स्थापित हुने गरी बयान मेल नखाएपछि प्रहरीले उनको ब्रेन फिंगरप्रिन्ट लिने योजना बनाएको थियो । यसका लागि प्रहरीले नेपाल प्रहरी अस्पतालमा कार्यरत विशेषज्ञसँग परामर्श पनि लिएको थियो । उपकरण नभएकाले उनको ‘बे्रन म्यापिङ (दिमागी हालत परीक्षण) गर्ने कामसम्म भएको थियो । यसका लागि प्रहरीले उपलब्ध प्रविधिमार्फत प्रयोग गरेको थियो । 

जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले भण्डारीको उपलब्ध उपकरणमार्फत दिमागी हालत (ब्रेन म्यापिङ) परीक्षण गर्ने काम भएको जानकारी दिए । ‘हामीकहाँ उपलब्ध उपकरणको सहयोगमा अभियुक्तको बे्रन म्यापिङ गर्ने काम भएको छ । उपलब्ध प्रमाणका आधारमा उनीविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ,’ उनले भने ।

हिरासतमा रहेका उनले दिएको बयान यति सनसनीपूर्ण थियो कि जसको अनुसन्धान गर्न प्रहरीलाई अत्याधुनिक ब्रेन फिंगरप्रिन्ट(बिएफ) नै आवश्यक परेको थियो । तर, उक्त उपकरणमा नेपाल प्रहरीसँग छैन । ब्रेन फिंगरप्रिन्ट अर्थात् एफबी अपराध अनुसन्धानको त्यो अत्याधुनिक प्रविधि हो जसले मस्तिष्कभित्र संग्रहित तरंग मापन गरी भण्डारण भएका सूचना पत्ता लगाउँछ । जसका लागि इइजी (इलेक्ट्रोइन्सेफलोग्राम) मार्फत मस्तिष्कलाई सक्रिय तुल्याइन्छ । र, घटनास्थल, आतंकवादजन्य तालिम, बम बनाउने सीपलगायतका विषयसँग सम्बन्धित सूचना शब्द र दृश्यमार्फत उतारिन्छ । अमेरिकी फौजदारी मुद्दामा यसको प्रयोग गरिसकिएको छ । जसलाई त्यहाँको अदालतले पनि स्वीकार गरिसकेको छ ।

अमेरिकी सरकारी संयन्त्र नेसनल लाइब्रेरी अफ मेडिसिनमा उल्लेखित विवरणअनुसार बेन फिंगरप्रिन्टले मानिसको मस्तिष्क मापन गर्छ । जसलाई प्रयोग गर्नुअघि अमेरिकी एफबिआई, सिआइए, अमेरिकी नेभीलगायतको प्रयोगशालामा प्रयोग गरिएको थियो । जसमा नतिजा सतप्रतिशत सकारात्मक देखिएको थियो । यद्यपि, यसको वैधताका लागि अझै पनि वैज्ञानिक मापदण्ड पूरा गर्न आवश्यक रहेको बताइन्छ । तर, यो अपराध अनुसन्धानमा प्रयोगमा आएका वैकल्पिक माध्यमभन्दा प्रभावकारी रहेको लाइब्रेरी अफ मेडिसिनको वेबपेजमा उल्लेख छ । 

ad
ad