
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस गोरखा सहिदलखन–काठमाडौं सम्पर्क समितिले विजयादशमी, शुभदीपावली तथा छठपर्वको अवसर पारेर शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘हामीले जनताका लागि सकारात्मक काम गर्दै गाउँमा आफ्ना साथीलाई पनि सम्झाउन सक्यौँ भने कसैले कांग्रेसलाई हराउन सक्दैन। हामी एकढिक्का हुन जरुरी छ,’ उनले भने।
नेता डा. कोइरालाले अहिले देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकारले समय, परिस्थितिअनुसार जनताका पक्षमा काम गर्न आवश्यक रहेको औँल्याए। वर्तमान परिस्थितिलाई कांग्रेसबाहेक अरूले सम्हाल्न नसक्ने उनको जिकिर थियो।