महेन्द्रनगरका विशालसिंह विष्टले भारोत्तोलन इतिहासमा अहिलेसम्मकै दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् । चीनको हाङझाउमा चलिरहेको १९औँ एसियाडमा ९६ केजी तौल समूहमा तीन सय एक केजी तौल उठाएपछि उनी एकाएक चर्चामा छन् । यसअघि कुनै पनि नेपाली खेलाडीले तीन सयमाथि तौल उठाएका थिएनन् । उनले क्लिनमा एक सय ३३ केजी र जर्कमा एक सय ६८ केजी तौल उठाउँदै इतिहास नै रचे । एसियाडअघि उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन दुई सय ९१ केजी तौल रहेको थियो । पछिल्ला रेकर्ड तोड्न उनले थप १० केजी भार वजन उठाउँदा एउटा इतिहास नै बन्यो ।
महेन्द्रनगरका यी खेलाडीले आठ वर्षदेखि भारोत्तोलन खेल्न थालेका हुन् । जुनियरमा उनी राष्ट्रिय च्याम्पियन नै थिए । जुनियरदेखि सिनियरसम्म एक राम्रा खेलाडीका रूपमा परिचित गराउन उनले धेरै समस्या भोगे । त्यसको प्रतिफल एसियाडमा राम्रै पाएका छन् । यस खेलमा लागेको तीन–चार वर्षपछि उनले घरेलुु प्रतियोगितामा स्वर्ण जिते । सातौँ राष्ट्रिय खेलकुदमा पहिलोपटकको सहभागिता र आठौँमा उनले रजत जिते । गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा उनले स्वर्णमाथि नै कब्जा जमाए । अन्तर्राष्ट्रियस्तरमा उनले दक्षिण एसियाली खेलकुदमा रजत जितेका छन् । विष्टसँग नयाँ पत्रिकाले गरेको कुराकानी :
एसियाली खेलकुद प्रतियोगितामा मेरो यो पहिलो सहभागिता हो । एसियाडमा प्रतिस्पर्धा गर्नुअघि नेपाली टोलीले विश्व च्याम्पियनसिपमा सहभागी भएको थियो । त्यहाँको अनुभवले चीनको हाङझाउमा राम्रो नतिजा आउने विश्वास थियो । मैले एसियाडमा कम्तीमा राष्ट्रिय रेकर्डसहित घर फर्कने योजना बनाएको थिएँ । सुरुवातमा अलिकति नर्भस भएँ । ९६ केजी तौल समूहको प्रशिक्षण भइरहँदा गुरुहरूले जिस्क्याउँदै भन्नुहुन्थ्यो, ‘तिमीहरू (म र सागर भण्डारी)ले एसियाडमा तीन सय कटाउनुपर्छ ।’ गुरुले मलाई तीन सय एक र सागरलाई तीन सय केजी तौल उठाउन सक्ने हिम्मत दिलाइराख्नुभएको थियो ।
नेपालको भारोत्तोलन खेलको इतिहासमा कसैले पनि तीन सय केजी तौलभन्दा माथि उठाएको रेकर्ड छैन । हामी दुई खेलाडीमध्ये एकले इतिहास बनाउन सक्ने उहाँहरूको विश्वास थियो । यसलाई हामीले कहिले पनि दबाबका रूपमा लिएनौँ । गुरुहरूले हामीमाथि विश्वास गरेका कारण नै यस्तो आत्मविश्वास दिलाउनुभएको हो । प्रशिक्षणअनुसार यो लेभलमा रेकर्ड राख्न नसकिने भन्ने लागेको थिएन । मनमा नेपाली भारोत्तोलन खेलाडीले तीन सयमाथिको तौल वजन उठाएको रेकर्ड राख्न सक्ने सुरुमा थिएन । एसियाडजस्तो एरिनामा मैले एक्कासि तीन सय एक केजी भार उठाएँ ।
सुरुमा म स्वयंलाई यो विश्वास लागेको थिएन, ‘अरे मैले तीन सय केजी तौल माथि उठाएँ ।’ प्रत्येकपटकको भार वहन सफल भइरहेको थियो । क्रमिक तीन सय केजीमाथि तौल उठाउने योजना बन्यो । लास्टको प्रयासमा नर्भस भइरहेको थिएँ । तर, मैले आफ्नो प्रयासलाई सफल पारे । हामीजस्तो खेलाडीले तीन सय एक केजी तौल वजन उठाउनु सामान्य कुरा होइन । यति वेला यो ऐतिहासिक क्षणको वर्णन गर्न शब्द नै छैन । एकातिर मैले रेकर्ड राख्दा विकास भट्टलाई सोचँे, प्रदर्शन गर्न नसक्दा अलि दुःख लागेको छ । हामी दुवैका योजना राष्ट्रिय कीर्तिमानसहित इतिहास रच्नु थियो । अर्कोपटक उसले प्रयास गर्नेछ । फेरि रेकर्ड तोडिनकै लागि बन्नेको हो । यो कहिल्यै स्थायी हुँदैन । मलाई विश्वास छ, विकासले मैले राखेको रेकर्ड तोड्नेछ ।
कम्तीमा तीन महिनाको आराम चाहिन्छ
भारोत्तोलन खेलका विज्ञ वा प्रशिक्षकसँग सोध्दा थाहा हुन्छ कि एउटा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेलेपछि एक खेलाडीलाई कति समय आराम चाहिन्छ । यो सबैलाई थाहा छ । हामीले कुनै पनि अन्तर्राष्ट्रियस्तरको भारोत्तोलन प्रतियोगितामा सहभागिता जनाएपछि कम्तीमा तीन महिनाको आराम चाहिन्छ । विज्ञहरूले तीन महिनाभित्र अर्को प्रतियोगिता खेल्न सुझाव दिँदैनन् । विज्ञहरूले पूरै फिट भएपछि मात्र खेल्न सुझाव दिन्छन् । खेलाडी पूर्ण रूपले फिट हुन ९० दिनजति नै समय लाग्छ । यो भनेको खेलाडीले तीन महिना पूरै रेस्ट गर्नु हो । निकै जोखिम उठाएर सहभागी भयौँ । विश्व च्याम्पियनसिपलगत्तै एसियाड खेल्यौँ । एक किसिमले यसलाई रिक्स नै मान्नुपर्छ । हामी खेलाडीले एसियाडमा जुवा नै खेल्यौँ भन्नुपर्छ । जसमा सफल भयो ।
मिडियाको समाचारले तनाव
यहाँ आउनुअघि हामीले एसियाडमा सहभागिता जनाएका नेपाली खेलाडीको प्रदर्शन पढेका थियौँ । सबै खेलाडीहरू हारसँगै घर फर्किरहेका थिए । मिडियामा नेपालले एसियाडमा सहभागी भएको खेलको नेगेटिभ समाचार मात्र पढ्दा र सुन्दा एक किसिमले खेलाडीमाथि दबाब भएको महसुस भएको थियो । एक किसिमले हामीले नै गाली खाएको जस्तो थियो । राज्यले खेलकुदमा लगानी गरेको छ । खेलाडीहरूले यसको प्रतिफल राम्रोसँग दिन नसक्दा आलोचनाको पात्र बन्नुपर्छ । केवल हारबाहेक समाचार नै नदेख्दा हामी पनि चीनमा यस्तै अवस्थाबाट गुज्रिने त होइन भन्ने डर थियो । मलाई मेरो शक्तिमाथि विश्वास थियो । चीनमा कम्तीमा राष्ट्रिय रेकर्ड राख्छु । मैले सोचेकोभन्दा निकै फरक नतिजा आयो । मैले इतिहास नै बनाएँ । यो एउटा ऐतिहासिक क्षणको वर्णन गर्न शब्द नै छैन ।
निरन्तर प्रशिक्षण हुनुपर्छ
निरन्तर प्रशिक्षण र यसमा एक्सपोज पाउँदा हामी नेपालीले पनि अन्तर्राष्ट्रियस्तरमा पक्कै राम्रो नतिजा निकाल्न सकिन्छ । अहिले हाम्रो एउटा लेभल छ । गुरुहरूको समयमा नेपालको भारोत्तोलनको स्तर फरक थियो । त्यस वेलाका खेलाडीले नेपालको भारोत्तोलनको खेल स्तरलाई माथि पुर्याउनुभएको थियो । बीचमा गएर केही स्तर घटेको जस्तो लाग्छ । अहिले बिस्तारै पुरानै राम्रो अवस्था पुगेको छ । पछिल्ला नतिजा हेर्दा त्योभन्दा पनि माथिल्लो स्तरमा पुगेको छ । हाम्रो जस्तो खेलकुदमा बारम्बार मौका पाउन गाह्रो छ । यसकारण एकपटक प्राप्त मौकामा राम्रो नतिजा निकाल्नुपर्छ । रेकर्ड बनाउन सहज पनि छैन । एसियाडको समाप्तिपछि खेलाडी कहाँ हुन्छ, कसैलाई थाहा छैन ? खेलाडी घर फर्किन्छन् कि प्रशिक्षणमा रहन्छन्, कसैलाई पनि थाहा छैन । नियमित मात्रामा प्रशिक्षण भइरहँदा नेपाली खेलाडीले रेकर्ड बनाउन सक्छन् । अझ पदक पनि जित्न बेर छैन ।