१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
बिहीबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

संसदमा बहस : सांसदले उठाए रिगलको कैद मिनाहा र धार्मिक द्वन्द्वको मुद्दा

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१८:oo

संघीय संसद्को दुवै सदनमा जघन्य अपराधीलाई कानुनविपरीत कैद माफी मिनाहा, जनयुद्ध दिवसको बिदा, सुदूरपश्चिममा गएको भूकम्प, महँगी नियन्त्रण र नेपालगन्जमा भड्किएको दंगाका विषयले प्रवेश पाएको छ । बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा सांसदहरूले राष्ट्रिय बहसमा आएका मुद्दामा आफ्नो धारणा राखेका छन् । 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले गम्भीर अपराधमा दोषी ठहर भई कैद सजाय भएका व्यक्तिलाई माफी मिनाहा गलत भएको बताए । बाँकेको नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका रिगल भनिने योग ढकाललाई संविधान दिवसमा सरकारले कैद मिनाहा गरी छोडेको निर्णयमा सत्तारूढ दलका नेता थापाले सदनबाट विरोध गरेका हुन् । 

यो प्रकरण अदालत पुगिसकेको भन्दै थापाले रिगललाई कसरी छाडिएको हो, के आधारमा छाडिएको हो स्पष्ट पार्न सरकारसँग जवाफ माग गरे । संविधानविपरीत कानुनको छिद्रबाट बदनियतका साथ छिरेर जघन्य अपराधमा संलग्नलाई छोड्ने काम विगतदेखि नै हुँदै आएको भन्दै थापाले यसमा ठूलो आर्थिक चलखेल हुने गरेको पनि दाबी गरे । 

एमालेका रघुजी पन्तले प्रधानमन्त्रीको चीन भ्रमणमा ऋणको ट्र्यापमा फस्ने हल्लाकै आधारमा बिआरआई सम्झौता कार्यान्वयनको वातावरण नबनाउनु दुःखद भएको बताए । चीनभन्दा बढी ऋण अन्य निकायसँग भएको तथ्यांक उनले प्रस्तुत गरे । एमसिसी उपाध्यक्षसँग भेट्दा प्रधानमन्त्रीले ‘प्रोटोकल’ ख्याल नगरेको उनको गुनासो थियो । 

माओवादीका माधव सापकोटाले जनयुद्ध दिवसको आलोचना गरेकोमा आपत्ति जनाए । विपक्षी दलका नेताले विस्तृत शान्ति सम्झौताको मर्मविपरीत सदनमा भाषण गरेको टिप्पणी गर्दै सापकोटाले राजनीतिक नेतृत्व अनुशासित हुनुपर्नेमा जोड दिए । सापकोटाले जनयुद्ध दिवसप्रति दिएको अभिव्यक्तिमा पुनर्विचार गर्न आग्रहसमेत गरे । सदनमा जनजीविकाका सवालभन्दा धेरै राजनीति हुन थालेको भन्दै सापकोटाले सदनलाई कानुन बनाउने र जनताको विषयमा बढी बहस गर्ने थलो बनाउनुपर्नेमा जोड दिए ।

रास्वपाका मनीष झाले धर्मका नाममा साम्प्रदायिक दंगा भड्काउने प्रयास भइरहेको भन्दै धर्मको राजनीति कसैको हितमा नहुने बताए । धर्म र सम्प्रदायको झन्डा छोडेर देशको झन्डा बोकेर गोलबद्ध हुन उनले अपिल गरे । झाले युवाहरू देश छाडेर पलायन भइरहेको विषयमा पनि गम्भीर बन्न राज्यको ध्यानाकर्षण गराए ।

राप्रपाका ज्ञानबहादुर शाहीले देशमा धार्मिक हिंसा बढ्दै गए पनि सरकार मुकदर्शक बनेको आरोप लगाए । रिगललाई माफी दिने निर्णयको विरोध गर्दै शाहीले चेलीको आँसुले पोल्ने उल्लेख गरे । जसपाका प्रदीप यादवले धार्मिक द्वन्द्व भड्काउने जोसुकै भए पनि कारबाही गर्न माग गरे । धार्मिक तनाव बढाउनुको पछाडि पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको आशंका उनले व्यक्त गरे । ‘अहिले आफूलाई राजावादी भन्नेहरू हौसिएका छन् । किन ? कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन यिनीहरूको ?’ उनले सोधे । यादवले पूर्वराजा शाहको लोकतन्त्रविरोधी गतिविधिको निगरानी गर्न सरकारसँग माग गरे ।

एकीकृत समाजवादीका भानुभक्त जोशीले बझाङका भूकम्पपीडितका लागि तत्काल राहत र घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे । जोशीले प्रधानमन्त्रीको बझाङ भ्रमणमा आश्वासनभन्दा विशेष कार्यक्रम घोषणा गर्न पनि माग गरे । ‘विशेष पुनर्निर्माणको योजना लिएर बझाङ र त्यसवरपरका जिल्लालाई भूकम्प प्रभावित वा संकटग्रस्त जिल्लाका रूपमा घोषणा गरेर सरकारले विशेष कार्यक्रम ल्याओस्,’ उनले भने । 

जनमोर्चाका चित्रबहादुर केसीले नयाँ पुस्ताको दक्ष जनशक्ति बिदेसिने क्रम बढिरहँदा देश रित्तिने स्थिति बनिरहनु चिन्ताको विषय भएको बताए । यो विषयमा संसद्मै गम्भीर रूपमा छलफल गरेर स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने उनको धारणा थियो । 

दुई विधेयक पेस 
बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा दुई विधेयकसमेत पेस भएका छन् । प्रतिनिधिसभामा विद्युत् विधेयक पेस भएको छ भने राष्ट्रिय सभामा प्रत्यायोजित विधायन विधेयक पेस भएको हो ।

 

ad
ad