पहिलो भूकम्पमा विद्यार्थी चौरमा निकाल्दा मानवीय क्षति टर्यो
बझाङमा एकै दिन तीन घन्टाको अन्तरालमा चार म्याग्निच्युडभन्दा ठूला सातवटा भूकम्प गएका छन् । जसबाट एकजना बेपत्ता भएका छन् भने १५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार भूकम्पसँगको पहिरोले जयपृथ्वी नगरपालिका– ११ ओखल गाउँकी गुनदेवी धामी बेपत्ता भएकी हुन् । घाइते भएका जयपृथ्वी नगरपालिका, मस्टा गाउँपालिका, केदारस्युँ, छब्बिस पाथिभेरा, खप्तडछान्ना र वित्थडचिर गाउँपालिकाका १३ जनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । भूकम्पबाट बाजुरामा पनि दुईजना घाइते भएका छन् । बझाङ, बाजुरा, डोटी, डडेल्धुरा र बैतडीलगायत जिल्लामा घरसहितका भौतिक संरचनामा क्षति पुगेको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बझाङ सदरमुकामआसपास भएर गएका सातमध्ये सबैभन्दा ठूलो भूकम्प दिउँसो ३:०६ बजेको ६.३ म्याग्निच्युडको हो । यसको धक्का राजधानी काठमाडौंसम्म महसुस भएको थियो । त्यसअघि दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ३:४५ र ४:२८ बजे समान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ भने साँझ ४:३१ मा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ । साँझ ५:१९ र ५:३८ बजे समान ५ म्याग्निच्युडका भूकम्प गएका छन् ।
पछिल्लोपटक पश्चिम नेपाल केन्द्रविन्दु भएर एकपछि अर्काे भूकम्प गइरहेका छन् । २२ कात्तिक ०७९ मा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्पले पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँका ६ जनाको मृत्यु भएको थियो ।
पहिलो भूकम्पमा विद्यार्थी चौरमा निकाल्दा मानवीय क्षति टर्यो
भूकम्पताका बझाङका विद्यालयमा पठनपाठन भइरहेको थियो । दिउँसो २ बजेर ४० मिनेटमा भूकम्प गएपछि कतिपय विद्यालयले विद्यार्थी चौरमा निकाल्नुका साथै स्थानीय बासिन्दा घरबाहिर निस्किँदा मानवीय क्षति टरेको छ ।
जयपृथ्वी नगरपालिका– ४ गोलाईमा रहेको बालविकास माविका शिक्षक नरेन्द्रराज उपाध्यायले भने, ‘पहिलो भूकम्प आउँदा कक्षा चलिरहेको थियो । विद्यार्थीलाई चौरमा निकाल्यौँ, शिक्षक–कर्मचारी पनि चौरमा बस्यौँ । लगत्तै ठूलो भूकम्प आएर भवन भत्काएको हो । चौरमा ननिस्केको भए ठूलो क्षति हुने रहेछ ।’ यो विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारी गरी तीन सयजना छन् । भूकम्पले बालविकास माविको दुईतले भवनको दुईवटा कोठा पूरै ढलेका छन् भने ६–७ वटा कक्षाकोठा बस्न नमिल्ने गरी भत्किएका छन् । त्यसबाहेक कार्यालय पनि चर्केको उनले बताए ।
भूकम्पका कारण जयपृथ्वीकै सत्यवादी मावि, भवानी साप्रावि, तलकोट गाउँपालिकाको सुनिकोट माविका भवनमा पनि क्षति पुगेको छ । तलकोट गाउँपालिकाका उपाध्यक्ष पार्वतीकुमारी भण्डारीका अनुसार भूकम्पले वडा नम्बर १ को कार्यालय भत्किएको छ । ‘विद्यालयका भवन पनि भत्किएका छन् । बचेका विद्यालय भवन पनि चिरा परेको छ,’ भण्डारीले भनिन् ।
भूकम्पका कारण भएको क्षतिको यकिन विवरण आइसकेको छैन । तर, सदरमुकाम चैनपुर क्षेत्रमा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी भरतबहादुर शाहले बताए । उनका अनुसार भूकम्पका कारण तीन दर्जन घर भत्किएका छन् । ‘विद्यालय, वडा कार्यालयसहित सरकारी र निजी गरी तीन दर्जन भवनमा भत्किएका छन्,’ उनले भने ।
भूकम्पपछि जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरमा र छब्बिस पाथिभेरा गाउँपालिकाको जालेबगरमा गएको सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
चौरमै प्रसूति सेवा
जिल्ला अस्पताल बझाङले भूकम्पपछि चौरमै प्रसूति सेवा दिएको छ । बेथा लागेर अस्पताल पुगेकी तलकोट गाउँपालिका– १ गोथीचौरकी २० वर्षीया मनीषा ऐडीलाई प्रसूति सेवा प्रदान गरिएको हो । अस्पतालका अनुसार मनीषाले ३ बजेर ३० मिनेटमा बच्चालाई जन्म दिएकी हुन् । नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनीषा र बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । भूकम्पको जोखिमका कारण अस्पतालका सबै स्वास्थ्यकर्मी बाहिर निस्केपछि मनीषालाई अस्पतालको चौरमै सेवा दिइएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी भन्छन्– भूकम्पको जोखिम घटेको छैन
नेपाल भूकम्पीय जोखिम रहेको देश हो । जतिवेला पनि भूकम्प जान सक्छ । ५–६ म्याग्निच्युडका भुइँचालो गएर महाभूकम्पको शक्ति कम गर्दैन । ६ म्याग्निच्युडभित्रको भूकम्पले जोखिम घटाउने होइन, बरु भुइँचालो जाने ठाउँ हो, शक्ति छ भनेर दर्साउने हो ।
शक्ति घटाउन आठ म्यग्निच्युडमाथिको भूकम्प जानुपर्छ । ६ म्याग्निच्युडका एक हजार भूकम्प गयो भने ८ म्याग्निच्युडबराबरको शक्ति निष्क्रिय हुने हो । तर, अहिले लगातार गइरहेका भूकम्पपछि ठूलो जान्छ वा भूकम्प नै जाँदैन भनेर भन्न सकिँदैन । तर, जोखिम छ भनेर दर्साउँछ ।