१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

डोका बिक्रीबाट मासिक ३५ हजार आम्दानी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:२७:oo

भोजपुरका चन्द्रबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन्। पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ।

टेम्केमैयुङ गाउँपालिका– १ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताए। एक दिनमा आठदेखि दशवटासम्म डोका तयार गर्ने उनको भनाइ छ। डोका बिक्रीबाट मासिक रु. ३० देखि ३५ हजारसम्म आम्दानी हुने उनले जानकारी दिए।  

‘४० वर्षअघिबाट डोका बुन्ने काम गर्दै आएको छु,’ उनले भने, ‘एक दिनमा आठदेखि दशवटासम्म डोका बुन्छु। डोका बिक्रीबाट मासिक रु. ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ। डोकाबाट नै मेरो  चिनारी बनेको छ।’ 

डोका स्थानीय बजारमा प्रतिगोटा रु. तीन सय ५० देखि चार सयसम्ममा बिक्री हुने तामाङले बताए।  घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु. सात–आठ लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ।

‘डोका बुन्ने कामबाट राम्रै आम्दानी हुन्छ,’ उनले भने, ‘यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक रु. सात–आठ लाख आम्दानी गर्न कठिन हुन्न। अन्य कृषि कर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक रु. तीनदेखि चार लाखसम्म आम्दानी हुन्छ।’

आफूले बुनेको मालिंगो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति)का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनको भनाइ छ। मालिंगोबाहेक, सिँगाने, निगालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उनको भनाइ छ। डोकाका लागि विभिन्न ठाउँबाट माग हुने उनले बताए। 

‘मैले बुनेको डोकाका लागि जिल्लाका विभिन्न ठाउँबाट माग हुन्छ,’ उनले भने, ‘गाईवस्तुपालनसँगै खेतीपाती पनि गर्छु। कहिलेकहीँ त मागअनुसारको डोका पुर्‍याउन समस्या हुन्छ।’ आफूले बुनेको डोकालाई भोजपुर सदरमुकाममा लगेर बिक्री गर्दै आएको उहाँको भनाइ छ। बजारसम्म पुग्नका लागि घरबाट पाँचदेखि छ घन्टासम्म लाग्ने उनले बताए। 

‘डोकाको माग धेरै ठाउँबाट आउँछ,’ उनले भने, ‘यसको मुख्य बिक्री गर्ने ठाउँ भनेको भोजपुर बजार नै हो। बजारमा लगेर बिक्री गर्छु। मैले बुनेको डोका किन्न गाउँ–गाउँबाट मानिस आउँछन्।’

सामुदायिक वनले कडिकडाइ गर्ने भएकाले कच्चा पदार्थ जुटाउन भने समस्या रहेको तामाङले बताए। ‘नयाँ पुस्ताले यो काम गर्न चाहँदैनन्,’ उनले भने, ‘डोका बुन्नका लागि पनि धेरै दुःख हुन्छ। हामीलाई कच्चा पदार्थ जुटाउन समस्या छ। सहज रूपमा पाउने अवस्था छैन।’ 

प्रविधिको विकाससँगै गाउँघरमा  नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेको तामाङले बताए। रासस 

ad
ad