
१० वर्षमा बेरोजगारी उन्मूलन गर्ने एजेन्डा
मुलुक रूपान्तरणका एजेन्डा राष्ट्रलाई सुनाउन र आमजनताका सुझाव लिन एकीकृत समाजवादीले मेचीदेखि महाकालीसम्म रोजगारी, समृद्धि र सुशासनको नाराका साथ समाजवादी जागरण अभियान आइतबारबाट सुरु गर्दै छ । झापाको काँकडभिट्टाबाट एकीकृत समाजवादीका शीर्ष नेताहरूले अभियानको सुरुवात गर्दै छन् । अभियान २८ असोजमा समापन गरिनेछ ।
आगामी १० वर्षमा श्रम गर्नसक्ने सबै नेपालीलाई कसरी रोजगारी दिएर समृद्धि र समाजवादको पहिलो आधार तयार पार्न सकिन्छ भन्ने एजेन्डा अभियानको क्रममा सुनाउने महासचिव घनश्याम भुसालले जानकारी दिए । ‘उत्पादक पुँजी तथा रोजगारीको विकास नगरी हाम्रो जस्ता कुनै पनि मुलुकले गरिबी उन्मूलन गर्न र समृद्धि हासिल गर्न सक्दैन भन्ने कुरा इतिहास सिद्ध तथ्य हो । यसै तथ्यलाई आत्मसात गरेर आगामी १० वर्षमा श्रम गर्नसक्ने सबै नेपालीलाई कसरी रोजगारी दिन सकिन्छ र समृद्धि र समाजवादको पहिलो आधार तयार गर्न सकिन्छ भन्नेबारेमा हाम्रा सोचहरू राष्ट्रलाई सुनाउने छौँ । आमजनताबाट सुझाव पनि लिने छौँ,’ उनले भने ।
घनश्याम भुसाल महासचिव, एकीकृत समाजवादी
उत्पादक पुँजी तथा रोजगारीको विकास नगरी हाम्रोजस्तो कुनै पनि मुलुकले गरिबी उन्मूलन गर्न र समृद्धि हासिल गर्न सक्दैन भन्ने कुरा इतिहास सिद्ध तथ्य हो । यसै तथ्यलाई आत्मसात् गरेर आगामी १० वर्षमा श्रम गर्न सक्ने सबै नेपालीलाई कसरी रोजगारी दिन सकिन्छ र समृद्धि र समाजवादको पहिलो आधार तयार गर्न सकिन्छ भन्नेबारेमा हाम्रा सोच राष्ट्रलाई सुनाउनेछौँ । आमजनताबाट सुझाव पनि लिनेछौँ ।
कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन र विदेश नीतिबारे एकीकृत समाजवादीले जनतालाई जागरण गराउने भएको छ । बाँझो र वन नभएको वन क्षेत्रमा फलफूल र जडिबुटीको खेतीलाई योजनाबद्ध रूपले विकास गर्दा कृषिमा आश्रित ५१ प्रतिशत जनताको बेरोजगारी, अर्ध÷अल्पबेरोजगारी समाधान हुने, मुलुक कृषि उत्पादनमा आत्मनिर्भर हुने र देशभरि कृषिमा आधारित उद्योगका लागि बलियो आधार तयार हुने एकीकृत समाजवादीको निचोड छ ।
कृषि बीउ, पानी, मल, बिजुली आदिमा पर्याप्त अनुदान, सस्तो कृषि ऋण, सबैलाई प्राविधिक सेवा, प्रभावकारी बिमा, कृषकलाई केही बचत हुने गरी समर्थन मूल्य तोक्ने र उत्पादित बालीवस्तु बिक्रीको व्यवस्था गर्नुपर्ने एकीकृत समाजवादीको माग छ । खाद्यान्न, फलफूल, मासु, काठ, रेशा, जडिबुटी, सिमेन्टलगायत नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरूको संरक्षणका लागि आवश्यक करलगायत वित्तीय सुविधा दिनुपर्ने, साना र घरेलु उद्योगहरूलाई विशेष संरक्षण दिनुपर्ने एकीकृत समाजवादीको एजेन्डा छ । हरेक लगानीलाई रोजगारी र उत्पादनसँग जोड्ने, विप्रेषण र गैरआवासीय नेपालीको पुँजीलाई राष्ट्रिय पुँजी निर्माणको महत्वपूर्ण स्रोतका रूपमा परिचालित गर्दै तीनखम्बे अर्थतन्त्रलाई बलियो बनाउने र औद्योगिक रोजगारी सिर्जना गर्दै १० वर्षमा औद्योगिकरणको पहिलो चरण पूरा गर्न गरिने एकीकृत समाजवादीको मान्यता छ ।
राजनीतिक र नीतिगत स्थिरताका साथ विकास गर्ने वातावरणमा आगामी १० वर्षमा बर्सेनि कम्तीमा ४० लाख पर्यटक ल्याउन सकिने र करिब तीन लाख रोजगारी भएको पर्यटन क्षेत्रमा १० लाखभन्दा बढ रोजगारी पुर्याउन सकिने एकीकृत समाजवादीको निष्कर्ष छ । सडक तथा हवाई यातायात, सेवाको गुणस्तर, पर्यटकीय क्षेत्रको संरक्षण र सौन्दर्यीकरण, भन्सार तथा भिसामा सहजीकरणमा राज्यले ध्यान दिँदा पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी धेरै बढ्ने विश्वास लिएको छ ।
योजनाबद्ध पूर्वाधार विकासले लामो समयसम्म रोजगारी सिर्जना गरिरहने एकीकृत समाजवादीले औल्याएको छ । ‘कृषि उत्पादन, उद्योग तथा व्यापार, पर्यटन तथा शिक्षा र स्वास्थ्यलगायत सेवाका क्षेत्रहरूको विकासका लागि यातायात, ऊर्जा, सिँचाइ, खानेपानी, टेलिफोन तथा इन्टरनेटजस्ता पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छ । त्यस्तो लगानीले रोजगारी र राष्ट्रिय आयमा गुणात्मक योगदान गर्छ,’ एकीकृत समाजवादीले भनेको छ ।
शिक्षा व्यवस्थालाई मुलुकको समृद्धि र समाजवादको ध्येय अनुकूल बनाइने प्रतिबद्धता एकीकृत समाजवादीको छ । ‘अहिले राज्यको क्षमतालाई हेर्दा सबै नागरिकलाई निःशुल्क र गुणस्तरीय शिक्षाको प्रबन्ध हुन नसके पनि सार्वजनिक शिक्षाको जिम्मा राज्यले लिनै पर्छ । त्यसका लागि आगामी १० वर्षमा आधारभूत तहदेखि उच्च तहसम्मको सार्वजनिक शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाएर गुणस्तरका हिसाबले निजी र सार्वजनिक शिक्षाको भिन्नता अन्त्य गरिने छ,’ एकीकृत समाजवादीले भनेको छ ‘१२ कक्षादेखि प्राविधिक शिक्षाको विशेष व्यवस्था गरेर विद्यार्थीहरूलाई उत्पादन र सेवाका क्षेत्रमा मर्यादित रोजगारीका साथ बाँच्न सक्ने बनाइनेछ । शिक्षामा डिजिटल प्रविधिलाई जोड दिँदै भविष्यमा डिजिटल उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सकिने गरी विकास गरिनेछ । उच्च तहको शिक्षालाई अनुसन्धानमा आधारित बनाइनेछ । यसरी नेपालको शिक्षा व्यवस्थालाई मुलुकको समृद्धि र समाजवादको ध्येयअनुकूल बनाइनेछ ।’
प्रधानमन्त्रीको ध्यानाकर्षण
एकीकृत समाजवादीले आर्थिक क्षेत्रका समस्याले जनतालाई निराश बनाउँदै गएको भन्दै मुलुकको प्रगतिशील रूपान्तरणमा आवश्यक पहलकदमी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । आयात घटेको, देशबाट वर्षेनि युवा तथा दक्ष जनशक्तिको पलायन भइरहेको, पुँजीगत खर्च घटेको, बैँकमा लगानीयोग्य पुँजी पर्याप्त भएर पनि ब्याजदर बढी हुँदा लगानीसमेत अस्वाभाविक रूपमा घट्दै गएकोतर्फ एकीकृत समाजवादीले ध्यानाकर्षण गराउको छ ।
रोजगारी गुम्दै गएको, चाडपर्वको मौका पारेर कालाबजारीहरूले मनपरी गर्न थालेको एकीकृत समाजवादीले औँल्याएको छ । ‘उद्योग व्यवसाय आमरूपमा धराशायी भएका छन् । उद्यमीहरूमा व्यापक निराशा देखिन्छ । रोजगारी गुम्दै गएको छ, महँगी बढ्दै छ जसले गर्दा श्रमजीवी, मजदुर तथा गरीबहरूको जीवन झन् कष्टकर हुँदै छ । उद्योग व्यवसाय बन्द हुँदै छन्, तर बैंकको किस्ता र ब्याज तिर्न नसक्दा व्यवसायीहरूमा निराशा थपिँदै छ । चाडपर्वको मौका पारेर कालाबजारीहरूले मनपरी गर्न थालेका छन्,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । अहिलेको संकटको गम्भीरताप्रति ध्यान दिँदै आवश्यक आर्थिक, वित्तीय तथा मौद्रिक कदम चाल्न सरकारको ध्यानाकर्षण गरिएको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।