१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

यसरी बचाउन सकिन्छ मुटु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:५६:oo

खानपान र जीवनशैलीमा ध्यान दिन सकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन्। पछिल्लो समय मानिसहरूको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उनीहरूको भनाइ छ।

भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा. मणि गौतमले परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए–नभएको ख्याल गर्नुपर्ने बताए। उच्च रक्तचाप, मधुमेह, मोटोपना भएका व्यक्तिलाई मुटुरोग हुने जोखिम बढी हुने उनको भनाइ छ।
 
उनले भने, ‘जोखिमका तत्व पहिचान गरेर मुटुरोगबाट सुरक्षित रहन सकिन्छ।’ धूम्रपान, मद्यपानलगायतका बानी–व्यहोरामा सुधार गर्नुपर्ने उनको सुझाव छ। 

शारीरिक व्यायाममा ध्यान दिन, मोटोपना घटाउन, तनाव कम गर्न, मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप भएमा त्यसको नियमित औषधि सेवन गरेर व्यवस्थापन गर्न उनले सुझाव दिए। 
 
मुटुको बाथको रोग, जन्मजात रोगहरू छन् भने त्यहीअनुसार व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘समयमा ध्यान दिन सके मुटुरोग लाग्नबाट बच्न सकिन्छ, लागिसकेपछि पनि जोगिन सकिन्छ।’
 
चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी मुटुरोग लाग्नुभन्दा पहिले नै सतर्क हुन सक्यौँ भने मुटुरोगबाट बच्न सकिने बताउँछन्। ‘धूम्रपान, अत्यधिक मद्यपान लागुऔषधजस्ता कुलत छन् भने बन्द गर्नुपर्छ, यस्ता वस्तुबाट टाढा बस्दा एकदेखि दुई वर्षमा पहिलेकै अवस्थामा फर्कन सकिन्छ, तर रोग धेरै नै बढिसकेको छ भने पूर्ववतः अवस्थामा फर्कन गाह्रो पर्छ,’ उनले भने।  
 
चिकित्सकको सल्लाहविना अनावश्यक औषधि धेरै प्रयोग र शारीरिक व्यायामको अभावका कारण मुटु रोग बढ्ने गर्छ। उनले भने, फलफूल, तरकारी, प्रोटिनको मात्रा अलि बढी खाने, कार्बोहाइड्रेट मात्रा कम गर्ने, चिल्लो खानेकुरा कम गर्ने, एन्टिअक्सिडेन्टल चिजहरू धेरै खाने, आवश्यक परेको वेला भिटामिन पनि खान सकिन्छ, यी खानेकुराले मुटुलाई फाइदा गर्छ।
 
मुटुको केही रोगहरू देखियो र शंका लाग्यो भने नजिकको मुटुरोग चिकित्सकलाई देखाउन उनले सुझाव दिए। 
 
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा. विष्णुमणि धितालले मुटुरोगका सामान्य लक्षण पहिचान गरेर समयमै उपचार गर्न सुझाव दिए। उनका अनुसार छातीको बिच्चको भागमा लामो समयसम्म दुख्ने, केही काम गर्दा, उकालो चढ्दा वा धपेडी भएको वेला छाती गह्रुँगो हुने, केही कुराले थिचेको जस्तो हुने मुटुरोगका लक्षण हुन्।
 
यसैगरी पोलिरहेको जस्तो महसुस हुने, त्यो दुखाइ कहिलेकाहीँ दायाँतिर, कहिले बायाँतिर र कहिलेकाहीँ पछाडितिर सर्ने, कहिलेकाहीँ सास फेर्न गाह्रो भएको महसुस हुने पनि मुटुरोगका लक्षण भएको उनको भनाइ छ। 
 
चिकित्सकले मुटुरोगको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गर्न सुझाव दिएका छन्। केही वर्षअघिसम्म राजधानीकेन्द्रित मुटुको उपचार अहिले चितवनसहित मोफसलका जिल्लामा उपलब्ध छन्।

हृदयाघातजस्ता समस्या आउँदा तत्काल उपचारका लागि क्याथल्याबसहितको सुविधा पनि उपलब्ध छ। सहरमा केन्द्रित यो रोग पछिल्ला वर्षमा ग्रामीण क्षेत्रमा समेत पुगेको छ।
 

ad
ad