अधिवेशनले अध्यक्षसहित पाँचजना पदाधिकारीसमेत गरेर जम्मा दुई सय १५ जना सदस्य निर्वाचित गर्नेछ
आजदेखि नेकपा एमाले कोशी प्रदेश समितिको प्रथम अधिवेशन हुँदै छ । प्रदेश राजधानी विराटनगरमा (१२ र १३ असोज) दुई दिनसम्म आयोजना गरिएको अधिवेशनमा १४ जिल्लाका नाै सय ९७ सहित कुल एक हजार ४८ जना प्रतिनिनिधिले सहभागिता जनाउँदै छन् ।
विराटनगरको बरगाछीस्थित होटेल मनास्लुमा आयोजना हुने प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आज दिउँसो गर्दै छन् । अधिवेशनलाई भव्य र सभ्य बनाउन विभिन्न १२ वटा उपसमिति गठन गरिएको छ । अधिवेशनको सबै तयारी पूरा भएको छ । जिल्लाबाट प्रतिनिधि आउने क्रम जारी रहेको एमाले केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिए ।
उनका अनुसार अधिवेशन सम्पन्न गर्न प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । यसले अधिवेशनलाई व्यवस्थित गर्न राजनीतिक संगठन प्रतिवेदन, प्रतिनिधि व्यवस्थापन, आर्थिक, खाद्य, आवास, अतिथि सत्कार, स्वास्थ्य, स्वयंसेवक, मञ्च व्यवस्थापन, यातायात र सांस्कृतिक र प्रचारप्रसार उपसमिति सक्रिय रहेका छन् ।
एमालेले प्रथम कोशी प्रदेश अधिवेशनलाई भव्य बनाउन प्रदेश राजधानी विराटनगरलाई तुल–ब्यानरले सजाइएको छ । यस्तै पञ्चालीस्थित पार्टी कार्यालयलाई पनि झकिझकाउ पारिएको छ ।
अधिवेशनले अध्यक्षसहित पाँचजना पदाधिकारीसमेत गरेर जम्मा दुई सय १५ जना सदस्य निर्वाचित गर्नेछ । एमाले पार्टीको विधानअनुसार अधिवेशनमा सहभागी सबै प्रतिनिधिले आफूले चाहेको पदमा उम्मेदवारी दिन र मतदान गर्न अधिकार प्राप्त गर्नेछन्।
अध्यक्षमा लागि चार आकांक्षी : ढकाल र खतिवडाबीच मुख्य प्रतिस्पर्धा
एमाले कोशी प्रदेशको अध्यक्ष बन्नका लागि चारजना उम्मेदवार आकांक्षी देखिएका छन् । जसमा केन्द्रीय सदस्य विनोद ढकाल, वर्तमान कोशी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ र प्रदेश सदस्य धनश्याम खतिवडाको नाम मुख्य रूपमा चर्चामा छ । पदाधिकारीमा भने हालसम्म कसैको नाम चर्चामा आएको छैन।
सर्वसम्मतको प्रयास जारी, तर भएको छैन सहमति
कोशी प्रदेशको नेतृत्व चयनका लागि एमालेका केन्द्रीय नेताहरूले आपसी छलफललाई तीव्रता दिएका छन् । बिहीबार दिनभर नेतृत्व सर्वसम्मत बनाउनेबारे केन्द्रीय नेताहरूबीच छलफल भएको थियो । विराटनगरको विग होटेलमा भएको छलफलमा कुनै सहमति जुट्न सकेन ।
अधिवेशनका लागि एमालेका नेता ईश्वर पोखरेल, केन्द्रीय सचिव रघुवीर महासेठलगायतका नेताहरू एक दिन अगाडिदेखि नै विराटनगर आएका छन् । केन्द्रीय सचिव रघुवीर महासेठले कोशी प्रदेशमा पार्टीभित्र कुनै गुट र विवाद नभएकाले अध्यक्षसहित सबै पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन हुने दाबी गरे । उनले अधिवेशनको तयारीबारे बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भने– लुम्बिनी र बागमती प्रदेशमा जस्तो कोशी प्रेदशमा हुँदैन, यहाँ सबै नेतृत्व सर्वसम्मत रूपमा चयन हुन्छ । यहाँ कुनै आन्तरिक विवाद र गुटबन्दी छैन ।