१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुगु अस्पताल : ‘अस्पताल हो कि अस्तव्यस्त ताल’

मन्त्रीसमक्ष मुगु अस्पतालका प्रमुखले पाेखे गुनासैगुनासो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:२७:oo

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल र सचिव भोजराज शर्मासमक्ष मुगु अस्पतालका प्रमुखले गुनासैगुनासो पोखेका छन्। 

बुधबार बिहान आयोजित एक कार्यक्रममा जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर कमल ढुंगानाले जिल्ला अस्पतालका समस्या र गुनासो मन्त्रीसामु प्रस्तुत गरेका हुन्।

उनका अनुसार जिल्ला  अस्पतालमा दरबन्दीअनुसार कर्मचारी नभएको, एक्सरे मेसिन बिग्रेको चार महिनासम्म पनि प्रदेश सरकारले मर्मतका लागि कुनै सुनुवाइ नगरेको उनको भनाइ थियो। 

कर्णाली प्रदेशका अन्य अस्पतालमा सरकारले सशुल्क फार्मेसी सञ्चालन गर्न बजेट छुटाएको, तर मुगुलाई उपेक्षा गरेको, मर्मतसम्भार शीर्षकमा बजेट नरहेको, अस्पतालमा ल्याब भए पनि बजेट र जनशक्तिको व्यवस्था नभएको, बायोमेट्रिक र प्राविधिक नहुँदा अस्पतालमा रहेका मेसिन र विद्युत् नियमित सञ्चालन गर्न समस्या भएको, सरकारले निःशुल्क भनेर तोकेका ९८ प्रकारका औषधि किन्न बजेट अभाव भएको उनकाे गुनासो थियो। 

उनले अस्पतालमा खानेपानी नहुँदा समस्या भएको बताए। उनले भने, ‘नेपाली सेनाले राति अस्पतालमा खानेपानी छोडिदिन्छ। जसोतसो त्यसैले धान्नुपरेको छ। पानी नआएको दिन सबैखाले सरसफाइका काम रोकिन्छन्। शौचालयमा समेत ताला लगाउनुपर्छ। घेरबार नहुँदा पशु चौपायादेखि अस्पतालवरिपरिका स्थानीयहरू अस्पतालभित्र आवतजावत गर्ने गरेका छन्।’

कोरियाली सहयोग नियोगले बनाइदिएको अस्पतालका भवन र करोडौँका मेसिन औजार सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छ्न्। अस्पताल प्रमुख ढुंगानाले अस्पतालमा रहेका समस्या राखेपछि सहभागीहरूले ‘अस्पताल हो कि अस्तव्यस्त ताल’ भन्दै प्रतिक्रिया जनाएका थिए। 

अस्पताल प्रदेशमातहतमा छ। कर्णालीका १० जिल्लामा छुट्याएको बजेट हेर्दा कर्णाली प्रदेश सरकारले मुगु अस्पताललाई  विभेद गरेको आवाज उठिरहेको छ। जिल्ला अस्पताल १५ शय्याको भए पनि बिरामीको चाप रहेकाले ४९ शय्यासम्म चलाउनुपरेको प्रमुख  ढुंगानाले बताए। 

मुगु जिल्लाका चार पालिकाका साथै हुम्लाका चेंखेली, अदानचुली बाजुराको हिमाली र जुम्लाको कनकासुन्दरीसम्मबाट समेत बिरामी उपचारका अस्पतालमा आउने गरेका छ्न्।

कर्णाली प्रदेश सरकारले बजेट प्रस्तुत गर्दा मुगु जिल्ला अस्पताललाई ५० शय्यामा स्तराेन्नति गर्ने घोषणा गरेबमोजिम जनशक्ति र अन्य आवश्यकीय संरचनाको व्यवस्था गर्न पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले कर्णाली सरकारलाई आग्रह गरे। 

सामाजिक विकासमन्त्री पोखरेलले मुगु मात्र नभएर १० जिल्लामा रहेका प्रदेशमातहतका अस्पताल र सामाजिक कार्यालयहरूका विभिन्न शीर्षकका बजेट चालू आवमा कटौती भएको बताए। उनले यो वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छुट्याउँदा बजेट अपुग भएको जानकारी गराए। 

ad
ad