१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Friday, 09 May, 2025
बाबुकाजी कार्की
२o८o असोज ११ बिहीबार o७:३४:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

किन चाहिन्छ शिक्षकमैत्री वातावरण ?

शिक्षकको सक्रिय सहभागितामा मात्र विद्यालयलाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट शिक्षण संस्था बनाउन सकिन्छ

Read Time : > 5 मिनेट
बाबुकाजी कार्की
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार o७:३४:oo

शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ । शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ । शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ । शिक्षक बस्यो भने विद्यार्थी सुत्छ । शिक्षक सुत्यो भने विद्यार्थी मर्छ । यो चिनियाँ प्रख्यात भनाइ हो । अर्थात् राम्रो योग्यता भएको पेसाप्रति समर्पित शिक्षकले मात्र विद्यार्थीको आवश्यकता र चाहनाअनुसार शिक्षण गर्न सक्छ । शिक्षण सिकाइ क्रियाकलाप शिक्षक, पाठ्यक्रम र विद्यार्थीबीचको सन्तुलित त्रिकोणात्मक सम्बन्धमा मात्र अर्थपूर्ण हुन्छ ।

विद्यार्थी र पाठ्यक्रमबीच रोचक र जीवन्त सम्बन्ध कायम राख्ने प्रमुख दायित्व शिक्षकको हो । शिक्षकको योग्यता, क्षमता र पेसाप्रतिको समर्पणले पाठ्यक्रमको मर्म र विद्यार्थीको चाहनाबीच समन्वयमा उत्साहजनक गुणस्तरीय शिक्षाको प्रत्याभूति दिन सकिन्छ । गुणस्तरीय शिक्षारूपी डुंगाको बहना शिक्षकको हातमा हुन्छ । सावधानीपूर्वक शिक्षकले बहना राम्रोसँग चलाउन नसकेमा विद्यार्थीको भाग्य र भविष्य डुब्छ, चौपट हुन्छ । 

शिक्षक परिवर्तनका संवाहक हुन् । शिक्षण सबै पेसाको जननी हो । शिक्षकले डाक्टर, इन्जिनियर, वकिल, प्रशासक आदि उत्पादन गर्छन् । तथापि, कतिपय अवस्थामा आफैँले जन्माएका पेसाका पदाधिकारीबाट शिक्षक प्रताडित भएको गुनासो स्वयं शिक्षकबाटै सुनिन्छ । यस्तो विडम्बनापूर्ण अवस्था शिक्षक उत्पे्ररणा र शिक्षकमैत्री विद्यालय निर्माणमा तगारो मानिन्छ । भनिन्छ, एकजना डाक्टरले गल्ती गर्दा एकजना बिरामीको ज्यान जान सक्छ, एकजना इन्जिनियरले गल्ती गर्दा भवन, पुल भत्केर दुर्घटना परी केही मानिसको जीवन जोखिममा पर्न सक्छ । तर, एकजना शिक्षकले गलत शिक्षा दिएमा एक पुस्ताको भाग्य र भविष्य नै तहसनहस हुन्छ । देशको उन्नति र प्रगतिमा गम्भीर आघात पुग्छ । तसर्थ, कुनै पनि अर्थमा शिक्षण पेसालाई कम आँक्नु अपरिपक्व र अदूरदर्शी सोच हो । 

विद्यालयको शैक्षणिक क्रियाकलापलगायत गतिविधिमा शिक्षकको सक्रिय र सकारात्मक सहभागितामा मात्र विद्यालयलाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट शिक्षण संस्था बनाउन सकिन्छ । बालमैत्री विद्यालयबारे धेरै चर्चा, लगानी र समय खर्च भइसकेको छ । तर, विद्यार्थीको उपलब्धिस्तरमा खासै परिवर्तन नभएको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । यस प्रकारको शैक्षिक क्षतिको न्यूनीकरण गर्ने उपाय खोजिनुपर्छ । पेसाप्रति समर्पित शिक्षकको लगनशीलताबाट मात्र यो सम्भव छ । विद्यार्थीको चौतर्फी विकासका लागि आवश्यक बालमैत्री विद्यालय व्यवस्थापन गर्न शिक्षकको अहं भूमिका हुन्छ । कक्षाकोठाको व्यवस्थापन र शिक्षण सिकाइ क्रियाकलापको स्तरले बालमैत्री विद्यालयको हैसियत निर्धारण गर्छ ।

शिक्षकले शिक्षण सिकाइ क्रियाकलापका अतिरिक्त विद्यालयका गतिविधिमा हौसलापूर्वक सहभागिता जनाउने ऊर्जाशील शिक्षकमैत्री वातावरणमा मात्र बालमैत्री विद्यालयको परिकल्पना साकार हुन्छ

शिक्षण सिकाइ क्रियाकलाप तर्जुमा गर्ने प्रमुख दायित्व शिक्षकको हो । शिक्षकले शिक्षण सिकाइ क्रियाकलापका अतिरिक्त विद्यालयका गतिविधिमा हौसलापूर्वक सहभागिता जनाउने ऊर्जाशील शिक्षकमैत्री वातावरणमा मात्र बालमैत्री विद्यालयको परिकल्पना साकार हुन्छ । बालमैत्री विद्यालय बनाउने गहन दायित्व बोकेका शिक्षकका लागि विद्यालयमा मैत्रीपूर्ण वातावरण छ त ? अध्ययनको विषय बन्नुपर्छ ।

शिक्षकले आफ्नो पेसागत सुरक्षा र मर्यादाको दिगो सुनिश्चित महसुस गर्न राज्यले शैक्षिक नीति–नियममा केकेमा परिमार्जन गर्नुपर्ला ? नीति–निर्माता गम्भीर हुनुपर्छ । शिक्षकमैत्री विद्यालय बनाउन व्यवस्थापन समितिले केकस्तो नीति र रणनीति अवलम्बन गर्नुपर्ला ? शिक्षाविद् तथा सरोकारवालाले आपसमा छलफल गरी अनुभव र सिद्धान्तलाई समायोजन गरी व्यावहारिक निष्कर्षमा पुग्नु सार्थक निकास हुन्छ । शिक्षकमैत्री विद्यालयमा मात्र बालमैत्री वातावरणको परिकल्पना यथार्थमा फस्टाउन सक्छ । तसर्थ, शिक्षकले आफ्नो योग्यता र क्षमतालाई विद्यालयमा सहजतापूर्वक प्रदर्शन गर्ने खालको शैक्षिक, भौतिक तथा मानवीय वातावरणको चुस्तदुरुस्त व्यवस्थापन अपरिहार्य हुन्छ । 

निर्णय प्रक्रियामा शिक्षकको सहभागिता :  विद्यालयका हरेक गतिविधिमा शिक्षकको जाँगरिलो सहभागिता आवश्यक हुन्छ । शिक्षकको अपनत्व, जवाफदेहिता र उत्तरदायित्व बढाउन विद्यालयले बनाउने नीति तथा कार्यक्रममा उनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहित गरिनुपर्छ । यसै तथ्यलाई ध्यानमा राखेर विद्यमान शिक्षा ऐन–नियमले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघमा शिक्षकको उपस्थितिलाई अनिवार्य गरेको छ । 

भौतिक पूर्वाधार :  विद्यालयको भौतिक पूर्वाधार शिक्षकमैत्री विद्यालयका लागि आधारस्तम्भ हो । विद्यालय भौतिक रूपमा स्वच्छ, स्वस्थ र साधनस्रोत सम्पन्न चित्ताकर्षक भएमा स्वतः गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न सहज हुन्छ । विद्यालय भवन, कक्षाकोठा, पुस्तकालय, फर्निचर, खेल्ने चौर, खानेपानी, शौचालय, प्रयोगशाला, छात्रावास, चमेनागृहलगायत स्थान र सामग्रीमा शिक्षकको आवश्यकता र क्षमताअनुसार सहज पहुँच हुने तथा लैंगिक एवं अपांगमैत्री हुुनुपर्छ । कक्षाको पठनपाठनका अतिरिक्त समयमा आराम र अर्को कक्षाका लागि तयारी गर्न साधनस्रोत सम्पन्न स्वस्थकर कोठा जरुरी छ ।  
शिक्षण विषय र विधि :  
शिक्षकले आफूले पढाउने विषयको पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण विधिबारे गहिरो अध्ययन र रुचि हुनुपर्छ । शिक्षकले अध्ययन गरेर विशेष दक्खल हासिल गरेको विषयमा मात्र पढाउने व्यवस्था गरिनुपर्छ । विद्यमान प्रावधानअनुसार प्राथमिक तहका शिक्षकले सबै कक्षामा सबै विषय पढाउने अवधारणालाई अंगिकार गरेको छ । शिक्षाको जगका रूपमा रहेको प्राथमिक तहको पठनपाठनलाई विशेष महत्व दिनुपर्छ । अतः शिक्षाको जगलाई मजबुत बनाउन सबभन्दा योग्यतम जनशक्तिलाई प्राथमिक शिक्षकमा नियुक्ति गर्नु बुद्धिमानी ठहर्छ । साथै, शिक्षकलाई विषयगत विशेषज्ञताबाट सुसज्जित मात्र नगरेर उनीहरूलाई उच्च मनोबलसाथ पेसाप्रति समर्पित हुन उत्प्रेरित गर्नुपर्छ । 

विद्यालय व्यवस्थापन समितिको भूमिका :  गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय संरचनासहितको योग्यतम शिक्षकको चयन हुनु पहिलो सर्त हो । विद्यमान शिक्षा नीतिअनुसार शिक्षकको नियुक्तिलगायत पेसागत वृत्तिविकासका योजना तथा कार्यक्रम ल्याउने प्रमुख दायित्व व्यवस्थापन समितिको हो । तर, अहिले व्यवस्थापन समितिको गठनमा देखिएका अशोभनीय र अनियमित गतिविधिले समितिका पदाधिकारीले तोकिएको काम, कर्तव्य र अधिकार दुरुपयोग नगर्लान् भन्न सकिन्न । अझ व्यवस्थापन समितिको गठन समझदारीमा भन्दा पनि अघोषित रूपमा पार्टीको प्यानलका रूपमा उम्मेदवार उठ्ने र चुनाव नै गरेर हारजितको आधारमा पदाधिकारी चयन गरेको पाइन्छ । यो विद्यमान शिक्षा ऐन नियमको मर्म र भावनाप्रतिकूल हो । 

प्रधानाध्यापकको भूमिका :  विद्यालयको शैक्षिक, व्यवस्थापकीय तथा प्रशासनिक कार्यका लागि राज्यका तर्फबाट स्थायी नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवार व्यक्तिका रूपमा प्रधानाध्यापकलाई चिनिन्छ । विद्यमान शिक्षा ऐन–नियमको परिधिभित्र रहेर योग्यता, क्षमता, अनुभव तथा ज्येष्ठतासमेतलाई ध्यानमा राखी प्रधानाध्यापक चयन गरिनुपर्छ ।

पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, तथा विकेन्द्रित जिम्मेवारीजस्ता सुशासनका आधारभूत विषयलाई प्रधानाध्यापकले आफ्नो मार्गदर्शन बनाउनुपर्छ । शिक्षकको कार्यको अनुगमन निरीक्षणलगायत कार्यक्षमताको निष्पक्षतापूर्वक मूल्यांकन गरी आवश्यक सल्लाह सुझाब सौहार्द वातावरणमा दिनुपर्छ । प्रत्येक शिक्षकको वैयक्तिक पृष्ठभूमि तथा उनीहरूको लक्ष्यबारे जानकारी राख्नाले उनीहरूको दुःखसुखको साथी बन्न सहयोग पुग्छ । अतः शिक्षकमैत्री वातावरण बनाउन सके मात्र एक अब्बल र सफल प्रधानाध्यापक बन्न सक्ने यथार्थलाई बिर्सन हुन्न । 

स्वस्थ र अनुशासित वातावरण :  विद्यालयको मानवीय तथा भौतिक वातावरण स्वस्थ, स्वच्छ र चित्ताकार्षक भएमा मात्र शिक्षकले धकफुकाएर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न उत्साहित हुन्छन् । बालबालिका पनि शिक्षकको पठनपाठनप्रति आकार्षित हुन्छन् । जसबाट एकातर्फ शिक्षकलाई आत्मसन्तुष्टि प्राप्त हुने भएकाले पेसाप्रति थप उत्साहित बनाउँछ भने अर्कातर्फ रमाइलो वातावरणमा मात्र बालबालिकाको शारीरिक तथा मानसिक विकास सन्तुलित रूपमा हुन्छ । 

कक्षाकोठा, धारा, शौचालय, खेल्ने चौर, बाटो नियमित सरसफाइ तथा फोहोरमैलाको उचित व्यवस्थापन गरिनुपर्छ । शिक्षक स्टाफको स्वस्थकर बानी–व्यहोराले बालबालिकाको बानी–व्यहोरामा पनि सकारात्मक प्रभाव पार्छ । सामाजिक, धार्मिक संस्कार, संस्कृति, मानवीय सद्भाव र सहयोग तथा भ्रातृत्वको भावनालाई उच्च प्राथमिकता दिएर नवीनतम ज्ञान र सीपबाट सुसज्जित भई सफल जीवनयापन गर्न सक्षम नागरिक उत्पादनका लागि अनुशासित शैक्षिक वातावरण अपरिहार्य हुन्छ ।

विद्यालयमा अनुशासित वातावरण कायम राख्न व्यावहारिक आचरसंहिता तथा त्यसको सहज रूपमा परिपालन गर्ने निष्पक्ष परिपाटी अवलम्बन गरिनुपर्छ । अनुशासनका नाममा गरिने मानसिक तथा शारीरिक यातनालाई पूर्ण रूपमा वर्जित गर्दै लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप कक्षा तथा विद्यालय सञ्चालन गर्ने संस्कारको विकास गरिनुपर्छ । शिष्ट, सदाचार, सौहार्द एवं नम्र बानी–व्यहोरालाई प्रोत्साहित गर्ने मानवीय वातावरण विद्यालयमा हुनुपर्छ । 

शिक्षकमैत्री विद्यालय बनाउन विद्यालयसँग प्रत्यक्ष र परोक्ष सरोकार राख्ने खासगरी विद्यार्थी, अभिभावक, समुदायलगायत संघसंस्था र पदाधिकारीको निरन्तर सकारात्मक सल्लाह सुझाब अपरिहार्य हुन्छ । शिक्षकले पनि आफ्नो योग्यता र क्षमतालाई निरन्तर परिमार्जन र परिष्कृत गर्न प्राप्त सुझाबलाई सदाशयतापूर्वक ग्रहण गर्न हिचकिचाउनु हुँदैन । सुझाबको आवश्यकता र औचित्यका आधारमा मार्गदर्शनका रूपमा अवलम्बन गर्नु बुद्धिमत्तापूर्ण काम हो । शिक्षण पेसा निश्चय नै अन्य पेसाका तुलनामा बढी परिश्रम, जवाफदेही तथा समयको महत्वलाई बुझेर व्यवस्थापन गर्नुपर्ने मर्यादित पेसा हो ।

शिक्षकले एक दिनमा सामान्यतया विभिन्न कक्षाका विभिन्न संस्कार र संस्कृतिमा हुर्केका कम्तीमा दुई सय विद्यार्थीलाई पढाउनुपर्ने हुन्छ । अझ प्राथमिक विद्यालयमा त घन्टी बजाउने, झ्यालढोका लगाउने खोल्ने, सरसफाइ गर्नेसमेत शिक्षकले नै गर्नुपर्ने बाध्यता छ । त्यस्तै विद्यालयका अतिरिक्त क्रियाकलाप, बैठक, विभिन्न सरकारी गैरसरकारी संघसंस्थासँगको सहकार्य बैठक आदिमा सहभागी हुनुपर्ने बाध्यता शिक्षकलाई हुन्छ । यसरी धेरै कार्यबोझले थिचिएका शिक्षक कतिपय अवस्थामा पेसाप्रति निराश भएका छन् । यस्तो विषम परिस्थितिमा शिक्षकमैत्री विद्यालयको अपेक्षा चुनौतीपूर्ण छ । शिक्षकको आधारभूत आवश्यकताका अतिरिक्त थप सुविधाको आकर्षण र ढाडसबाट विद्यालयमा शिक्षकमैत्री वातावरण बनाउन टेवा पुग्छ । 

शिक्षाका नीति–नियम र योजना शिक्षक विद्यार्थीलाई सर्वोपरी मानी उनीहरूको हितलाई केन्द्रमा राखेर बनाउनुपर्छ । परम्परागत प्रविधि र प्रवृत्तिमा परिमार्जन तथा परिष्कृत गर्दै वासी विषयवस्तुको सट्टा समयको माग तथा विद्यार्थीको रुचि, क्षमता र आवश्यकता एवं चाहनाअनुसार नवीनतम साजी वा ताजा विषयवस्तु तथा शिक्षण सिकाइ क्रियाकलाप तर्जुमा र प्रयोग सौहार्द वातावरण भएमा बालबालिका विद्यालयबाट भागेर घरमा होइन, घरबाट भागेर विद्यालय जानेछन् । जसलाई शिक्षक तथा बालमैत्री विद्यालयको महत्वपूर्ण सफल सूचकको रूपमा लिन सकिन्छ ।

सचेत अभिभावक, समर्पित शिक्षक, कुशल व्यवस्थापक तथा अनुशासित विद्यार्थी एवं शिरमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी बोकेका व्यवस्थापन समिति पदाधिकारी, प्रधानाध्यापकलगायत सरकारी निकायका पदाधिकारीको सहकार्य, सहमति, समन्वय, समझदारी, सद्भाव, समर्पण र समीक्षा (सात स) मा मात्र शिक्षक तथा बालमैत्री विद्यालय फस्टाउन सक्छ । वास्तवमा बालमैत्री विद्यालय बनाउन पहिले शिक्षकमैत्री विद्यालय बन्नुपर्छ भन्ने वास्तविकतातर्फ हेक्का राख्न बिर्सन हुँदैन ।
(कार्की पूर्वजिशिअ हुन्)