
सभामुख देवराज घिमिरे सातदिने आयरल्यान्ड भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा आयरल्यान्डको राजधानीबाट डब्लिन पुगेको सभामुख नेतृत्वको प्रतिनिधिमण्डल आइतबार बिहान स्वदेश फर्किएको हो।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले भ्रमणका दौरानमा दुई देशबीचको संसदीय आदान–प्रदानलगायतका विषयमा गम्भीर छलफल भएको जानकारी दिए।
‘दुवै मुलुकका संसदबीचको सम्बन्ध गाढा बनाउने विषयमा मैले आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग छलफल गरेको छु,’ उनले भने, ‘संसद्का कर्मचारीको दक्षता अभिवृद्धि गर्नेबारे पनि हामीले छलफल गरेका छौँ।’
सभामुख घिमिरेले राष्ट्रपति, मन्त्रीहरूसँगको भेटले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा मुलुकले लाभ लिन सक्ने वातावरण निर्माण भएको जानकारी दिए। उनले नेपाली विद्यार्थीलाई दिन सक्ने सहुलियत, भिसाको प्रबन्ध, प्राविधिक दक्षतासहितका नेपाली जनशक्तिको रोजगारलगायतका विषयमा छलफल भएको उनको भनाइ छ।
स्वास्थ्य र कृषिमा आयरल्यान्डले विकास गरेका प्रविधि र लगानी नेपाल भित्र्याउनेबारे पनि छलफल भएको सभामुखको भनाइ छ। भ्रमणमा सभामुख घिमिरिले आयरल्यान्डका राष्ट्रपति माइकल डी. हिगिन्स, संसद्को दुवै सदनका सभामुख र अध्यक्ष, सरकारका वरिष्ठ मन्त्रीहरू, नेपाली समुदायलगायतसँग छलफल र भेटघाट गरेका थिए।
सभामुखको भ्रमण टोलीमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए। पत्रकारले शिक्षा विधेयकका सम्बन्धमा भएका विरोध र आन्दोलनबारे सोधेको प्रश्नमा सभामुख घिमिरेले आफूले विधेयकलाई अगाडि बढाउन ‘सभामुखीय भूमिका’ निर्वाह गर्ने संक्षिप्त उत्तर दिए।