मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ५ शुक्रबार ०८:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीको अपानि विवाद : बैठक रोकेर मनोनीत सदस्यको शपथ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ५ शुक्रबार ०८:३२:००

अन्तर्पार्टी निर्देशन (अपानि)बारे आलोचना भएपछि बिहीबारका लागि बोलाइएको सचिवालय बैठक रोकेर एकीकृत समाजवादीले मनोनीत सदस्यको शपथ गराएको छ । मनोनीत २१ सदस्यमध्ये बिहीबार आधाभन्दा बढी सदस्यले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा शपथ लिएको एकीकृत समाजवादीले जनाएको छ ।

छलफलविना नै अपानि जारी गरिएको भन्दै शीर्ष नेतृत्वबाटै आलोचना भएको छ भने तल्लो तहका नेता तथा कार्यकर्ताले पार्टी छाडेको र निष्क्रिय भएको घोषणा सामाजिक सञ्जालबाटै गर्न थालेपछि सचिवालय बैठक बोलाइएको थियो । बिहीबार स्थगित सचिवालय बैठक शनिबार बस्नेछ ।

पार्टीभित्रै छलफल गरेर टुंग्याउँछौँ : माधवकुमार नेपाल, अध्यक्ष
पार्टीभित्रको कुरा सडकमा लाने काम पार्टीको जिम्मेवारीमा बसेकाले गर्दैनन् । अनुशासनको कुरा बुझेकाले गर्दैनन् । सबै कुरा पार्टीभित्र बसेर छलफल गरेर टुंगो लगाउँछौँ ।

अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि पार्टीमै बसेर छलफल गर्ने बताएका छन् । पत्रकारको प्रश्नमा नेपालले भने, ‘पार्टीभित्रको कुरा सडकमा लाने काम पार्टीको जिम्मेवारीमा बसेकाले गर्दैनन् । अनुशासनको कुरा बुझेकाले गर्दैनन् । सबै कुरा पार्टीभित्र बसेर छलफल गरेर टुंगो लगाउँछौँ ।’ उनले उठेका विषय प्रस्ट्याउँदै टुंगो लगाउने बताए ।

तर, एक असन्तुष्ट केन्दीय सदस्यले पार्टी नेतृत्व वर्तमान असन्तुष्टिलाई मत्थर पार्ने प्रयासमा रहेको आरोप लगाए । ‘असन्तुष्टि मत्थर होस् भन्ने नेतृत्वको चाहना देखिन्छ । तर, नेता तथा कार्यकर्ताको असन्तुष्टि चुलिँदो क्रममा छ,’ एक नेताले भने । ती नेताले महाधिवेशन नगराउने षड्यन्त्रअनुसार अपानि जारी गरिएको दाबीसमेत गरे । सर्वत्र विरोध भएपछि अपानिलाई बैधता दिन सचिवालय बैठक स्थगित गरेर मनोनीत केन्द्रीय सदस्यको शपथ गराएको उनको जिकिर छ ।

व्यक्ति हाबी भएको आरोप
मापदण्डविनै केन्द्रीय सदस्य मनोनीत गरेकाले असन्तुष्टि चुलिएको हो । ती सदस्यले भने, ‘विधि र पद्धतिको विषय उठाएर एमालेबाट विद्रोह गरियो । अहिले यहाँ पनि विधि, पद्धति मिच्ने काम भयो । जुनियर र सिनियरको पनि ख्याल गरिएन, कार्यकर्ताको मूल्यांकन हुँदै भएन ।’ जिम्मेवारी बाँडफाँटमा समेत व्यक्ति हाबी भएको आरोप नेतृत्वमाथि लागेको छ । असन्तुष्टि जनाउन पुगेका कार्यकर्तालाई पदाधिकारीले नै आफूहरू अनभिज्ञ रहेको बताउने गरेका छन् । कम्युनिस्ट पार्टीमा सामान्यतया महासचिवले संगठन विभाग हेर्ने चलन हुन्छ । तर, कृषिमन्त्रीसमेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसाललाई संगठन विभाग प्रमुख र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा उपमहासचिव प्रकाश ज्वालालाई उपप्रमुख बनाइएको छ । अपानिले महासचिव घनश्याम भुसाललाई अनुगमनमा समिति राखेको छ ।

गत ५ देखि ७ भदौमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय भन्दै गत बिहीबार अध्यक्ष माधवकुमार नेपालले अपानि जारी गरेका थिए । अपानिमार्फत नेताहरूको जिम्मेवारी हेरफेर र २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । केन्द्रीय परिषद् सदस्य र विभागको सदस्यमा समेत मनोनीत गरिएको थियो ।