Skip This
तथ्यांकमा १९औँ एसियन खेलकुद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o असोज ५ शुक्रबार o६:१२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तथ्यांकमा १९औँ एसियन खेलकुद

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार o६:१२:oo

चीनको हाङझाउ सहरमा शनिबारदेखि १९औँ संस्करणको एसियन खेलकुद प्रतियोगिता (एसियाड) सुरु हुँदै छ । आयोजक चीनले यसपटकको एसियाडलाई भव्य बनाउने तयारी गरेको छ । तेस्रोपटक प्रतियोगिता आयोजना गर्न अवसर पाएको चीनले हाङझाउ सहरलाई निकै सुन्दर बनाएको छ । आयोजक राष्ट्रले यसपटक गत संस्करणमा नेपालले रजत पदक जितेको प्याराग्लाइडिङ खेल समावेश गरेको छ । यसपटक पदक सम्भावित खेल इभेन्ट्स आयोजकले राखेको छ । १९औँ एसियाडलाई तथ्यांकमा यसरी हेर्न सकिन्छ : 

आयोजककै खेलाडी संख्या धेरै
आयोजक चीन प्रतियोगितामा धेरै खेलाडी समावेश गर्ने राष्ट्र बनेको छ । १९औँ संस्करणको आयोजक चीनले यसपटक आठ सय ८७ खेलाडीलाई प्रतिस्पर्धा गराउनेछ । ब्रुनाई एसियाडमै कम खेलाडी पठाउने राष्ट्र हो । ब्रुनाइले ११ खेलाडी मात्र पठाएको छ । चीन र जापानलाई स्वर्ण पदकमा टक्कर दिने दक्षिण कोरियाबाट दोस्रो धेरै खेलाडी पुग्नेछन् । दक्षिण कोरियाले हाङझाउमा आठ सय ६७ खेलाडीलाई प्रतिस्पर्धामा उतार्नेछ । उत्तर कोरियाले भने एक सय ८५ खेलाडी मात्र समावेश गरेको छ । कुनै समय स्वर्ण पदकमाथि एकाधिकार जमाएको जापान धेरै खेलाडी पठाउने राष्ट्रमा तेस्रो स्थानमा छ ।

 जापानले यसपालि सात सय ७३ खेलाडी पठाउने तयारी गरेको छ । हङकङ चौथो स्थानमा छ । हङकङले ६ सय ५५ खेलाडीलाई चीन पठाउनेछ । दक्षिण एसियाली राष्ट्र भारतले ६ सय ५५ खेलाडीलाई सहभागिता गराउनेछ । यसैगरी, काजकिस्तानबाट पाँच सय २७ खेलाडी आउनेछन् । चाइनिज ताइपेईका पाँच सय ५४ खेलाडी छन् । मंगोलियाले चार सय आठ खेलाडीलाई एसियाडका लागि तयारी गरेको छ । इन्डोनेसियाले चीनमा चार सय १५ खेलाडी छनोट गरेको छ । धेरै खेलाडी समावेश गराउने सूचीमा नेपाल पनि पर्छ । नेपालबाट दुई सय ५३ खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनेछ । 

नयाँ खेल
आयोजकलाई एउटा विशेष अधिकार प्रदान गरिएको हुन्छ । एसियाड आयोजक राष्ट्रले पदक सम्भावना खेल थप्न पाउँछ । यसैगरी, आफू कमजोर भएको खेललाई हटाउन सक्छ । यसपटक चीनले केही खेल थप र केहीलाई हटाएको छ । यसपटक सन् २०१८ मा इन्डोनेसियाले आयोजना गरेको एसियाडमा देखिएका खेलहरू रहनेछैनन् । चीनले गत संस्करणका पाँच खेल यसपालि समावेश नै गरेन । ती पाँच खेलमा ३६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । बलिङ (६), जे स्की (४), प्याराग्लाइडिङ (६), पेन्साक सिलाट (१६) र साम्बो (४) खेललाई आयोजक चीनले नराखेको हो ।

यसैगरी, ६ खेल थप भएको छ । ती ६ खेलमा चीनले २१ स्वर्ण पदक जित्ने आशा गरेको छ । म्याराथन स्विमिङका ६, ब्रेकडान्सिङ २, चेस ४, ई–स्पोर्टस् ७, गो ३ र सिआग्वीका ३ स्वर्ण थप भएका छन् । चीनले ६ खेलका इभेन्ट्सको कोटा घटाएको छ । माउन्टेन बाइक (२), ब्राइड (३), रोइङ (१), तेक्वान्दो (१) र भारोत्तोलन (१) का इभेन्ट्स कम गरेको हो । यसैगरी, विभिन्न ११ खेलमा ३९ इभेन्ट्स थप भएका छन् । आर्चरी (२), बक्सिङ (३), ड्राङ बोर्ट (१) कराँते (१), मोडर्न पेन्थालोन (२), रोलर स्पोर्टस् (८), सेलिङ (४), सुटिङ (१३), स्क्वास (१), टेबलटेनिस (२) र उसु (१) का इभेन्ट्स थप भएका हुन् । यी सबै इभेन्ट्समा चीन निकै बलियो मानिएको छ । यसैगरी, चीनले कुरास खेलमा १४ बाट सात वटा मात्र इभेन्ट्स राखेको छ । 

१४ नयाँ रंगशाला 
तेस्रोपटक एसियाड आयोजक राष्ट्र बनेको चीनले १४ नयाँ रंगशाला बनाएको छ । यसपालि ४४ भेन्युमा प्रतिस्पर्धा हुनेछ । एसियाडको मुख्य आयोजक सहर हाङझाउमा मात्र विभिन्न ३० भेन्यु रहेका छन् । हाङझाउ सहरनजिक चार जिल्लामा समेत प्रतियोगिता आयोजना हुनेछ । जहाँ १४ इभेन्ट्स हुने आयोजकले जनाएको छ । देक्विङ, निन्ब्रो, साओमिङ र वेन्जाझाउ जिल्लामा खेल हुनेछन् । हाङझाउबाट ती चार जिल्लामा पुग्न चीनले हाई स्पिडको रेल सञ्चालनमा ल्याएको छ । चीनले हाङझाउदेखि हुझोउसम्म द्रुत गतिको रेल ट्र्याक एसियाडकै लागि निर्माण गरेको हो ।

थाइल्यान्ड सर्वाधिक आयोजक
एसियन खेलकुदको इतिहासमा थाइल्यान्डले सर्वाधिक चारपटक एसियाडको आयोजना गरेको छ । सन् १९६६ मा थाइल्यान्डले पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो । पाँचौँ संस्करणको आयोजक राष्ट्र बनेको थाइल्यान्डले चार वर्षपछि प्रतियोगिता गर्न अवसर पायो । एसियाडको इतिहासमा ब्याक टु ब्याक प्रतियोगिता आयोजना गर्ने राष्ट्र थाइल्यान्ड मात्र हो । सन् १९७८ मा तेस्रोपटक प्रतियोगिता थाइल्यान्ड नै गर्‍यो । चौथोपटक आयोजक राष्ट्र बन्न थाइल्यान्डलाई २० वर्ष लाग्यो । सन् १९९८ मा बैंकक एसियाडमै नेपालले पहिलोपटक रजत पदक जितेको थियो । चीन, जापान र दक्षिण कोरियालाई समान तीनपटक एसियाड आयोजना गर्न अवसर मिलेको छ । 

टर्च र्‍यालीमा दीपक  सहभागी
१९औँ संस्करणको एसियाडमा पहिलोपटक टर्च र्‍याली गरिएको छ । हाङझाउ सहरमा आयोजित र्‍यालीमा नेपालबाट सन् २०१० कै एसियाडकै कांस्य पदक विजेता तथा वर्तमान बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले टर्च बोक्न अवसर पाए । नेपालले १३ वर्षयता एसियाडमा बक्सिङ खेलमा पदक जित्न सकेको छैन । टर्च र्‍याली सन् २०२१ को १० सेप्टेम्बरमै सुरु भएको थियो । चीनले यसलाई अनन्त ज्वाला नाम दिइएको छ । यसको डिजाइन डर्मेटोग्लिफिक फिंगरप्रिन्ट ढाँचा र ओरेकल हड्डीको शिलालेखजस्ता लियांगझु संस्कृतिका तत्वहरूबाट प्रेरित थियो । यसको समग्र उचाइ ७३० मिलिमिटर र १.२ किलोग्रामको शुद्ध वजन थियो । एक वर्षभित्र टर्चले एक हजार पाँच सय सात किलोमिटर यात्रा गरेको थियो ।