Skip This
सभापतिको कार्यशैलीप्रति कोइरालाको असन्तुष्टि, समेटेर जाने देउवाको आश्वासन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o असोज ४ बिहीबार o७:५८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सभापतिको कार्यशैलीप्रति कोइरालाको असन्तुष्टि, समेटेर जाने देउवाको आश्वासन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार o७:५८:oo

केन्द्रीय बैठकअघि कांग्रेसमा विवाद

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेसको मतभेद पुनः सतहमा आएको छ । पार्टी सञ्चालनको शैलीलाई लिएर इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टी विधानअनुसार नचलेको भन्दै सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोखेका छन् । सभापति देउवाले सबै पक्षलाई समेटेर जाने आश्वासन दिएका छन् । 

सभापति देउवालाई भेटेर नै नेता कोइरालाले पार्टी सञ्चालन शैलीमा असन्तुष्टि व्यक्त गरेका हुन् । केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलका अनुसार बुधबार कोइरालासहित इतर समूहका नेता धुम्बाराही निवासमै पुगेर देउवासँग भेटघाट गरेका थिए । भेटमा कोइरालाले आफ्नो सुझाव पटकपटक बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । 

कोइरालाले केन्द्रदेखि प्रदेशसम्मका सरकारमा सहभागी गराउँदा अर्को समूहसँग छलफल नगरेको, विभाग गठन नगरेको, भ्रातृ संस्थामा विधानविपरीत जम्बो कार्यसमिति बनाएको र इतर समूहलाई उचित व्यवस्थापन नगरेकोलगायतका विषय उठाएका थिए । यसबाहेक सरकारमा रहेर पनि जनस्तरमा महसुस हुने गरी कार्यसम्पादन गर्न नसकेको पनि कोइरालाको गुनासो छ । 

भेटमा कोइरालाले कोशीमा प्रदेश सरकार गठनमा सभामुखलाई मतदान गर्न लगाएर संविधानविपरीत गएको, भ्रष्टाचारको विषयमा पार्टीको छवि खराब हुने गरी काम गरेकोलगायतका विषय पनि उठाएका थिए । भेटमा कोइरालाले सुझाव ग्रहण नगरे आफ्नो तरिकाले चल्ने चेतावनी दिएको एक नेताको दाबी छ । 

‘पार्टी विधिविधानमा चलाउन सक्नुभएको छैन । पार्टीको अर्को समूहलाई निरन्तर बेवास्ता गर्दै आएको अवस्था छ । पार्टी विधिसम्मत चलाउनुपर्छ भनेर पटकपटक सुझाव दिएका छौँ । सुझाव नमान्ने हो भने आजबाट म तपाईंसँग कुरा गर्दिनँ, तपाईं जसरी चल्नुहुन्छ चल्नुहोस्, म आफ्नो तरिकाले चल्छु,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

जवाफमा देउवाले आफूले सबैलाई समेटेर लैजाने बताएका थिए । ‘तपाईंहरूले भनेका विषय जायज छन् । यसमा म जानकार छु । चिन्ता नगर्नुस्, सबैलाई समेटेर अगाडि बढ्छु,’ भेटमा देउवाको भनाइ थियो ।

पोखरेलका अनुसार मंगलबार भेलाले दिएको सुझावअनुसार कोइरालाले सभापति देउवालाई भेटेका हुन् । ‘केन्द्रीय समिति बैठकअघि समूहको असन्तुष्टिबारे पदाधिकारीले गएर सभापतिलाई जानकारी गराउनुपर्छ, भेलाको विषय जानकारी गराउनुपर्छ भन्ने केन्द्रीय सदस्यहरूको मागअनुसार उहाँहरूले सभापतिलाई भेट गर्नुभएको हो,’ पोखरेलले भने ।

कोइरालाको साथमा उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सहभागी थिए । महामन्त्री गगन थापा र सहमहामन्त्री तथा बिपी साहित्य महोत्सव तयारी समिति संयोजकको समेत जिम्मेवारीमा रहेका कारण बद्री पाण्डे भेटमा सहभागी भएनन् ।

केन्द्रीय सदस्य मधु आचार्यले पनि केन्द्रीय समिति बैठकअघि सभापतिले कतिपय विषय समाधान गरेर लान सक्ने भएकाले मंगलबारको निर्णयअनुसार पदाधिकारीले भेटेर जानकारी गराएको बताए । तर, सभापतिको आश्वासन चित्तबुझ्दो नआएको उनको भनाइ छ । ‘सरकार र पार्टी अत्यन्तै जिम्मेवारीपूर्वक चल्नुपर्ने अवस्था छ । तर, सभापतिको भनाइमा आश्वस्त हुने स्थिति छैन,’ आचार्यले भेटबारे भने । 

मंगलबार कोइरालाले इतर समूहको भेला गरेर केन्द्रीय समितिमा सशक्त रूपमा प्रस्तुत हुन निर्देशन दिएका थिए । केन्द्रीय समितिमा पार्टी र जनजीविकाका विषयलाई सशक्त रूपमा प्रस्तुत गर्न केन्द्रीय सदस्यलाई कोइरालाको निर्देशन छ । केन्द्रीय समिति बैठकको औपचारिक एजेन्डा तय भइसकेको छैन । एजेन्डा बैठकअघि तय हुने कांग्रेसले जनाएको छ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा राखिएको छ । 

बिपी साहित्य महोत्सवको मञ्चमा कोइराला परिवारको जमघट
बिपी साहित्य महोत्सवको समापन मञ्चमा कोइराला परिवारका नेताहरूको जमघट भएको छ । महोत्सवमा १४औँ महाधिवेशनमा तीन ध्रुवमा बाँडिएर प्रतिस्पर्धामा उत्रिएका कोइराला परिवारका तीन सदस्य एकै मञ्चमा वक्ताका रूपमा सहभागी भएका हुन् । 

‘परिवारले बुझेको बिपी’ सत्रमा बिपी पुत्र शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला छलफलमा सामेल बने । कार्यक्रममा फ्लोरबाट नेता–कार्यकर्ताहरूले १५औँ महाधिवेशनमा कोइराला परिवार एक ठाउँमा आउने सम्भावनाबारे जिज्ञासा राखेका थिए । जवाफमा उनीहरूले ‘लिगेसी’ जोगाउन एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याए ।

शशांकले १४औँ महाधिवेशनको प्रसंग निकाल्दै १५औँ महाधिवेशनमा एकै ठाँउमा उभिने प्रतिबद्धता जनाए । उनले सभापतिमा आफू उपयुक्त उम्मेदवार हुने जिकिर गरे । तर, सुझाव लिएर निष्कर्षमा पुग्ने बताए । ‘आउँदा दिनमा हामी एकै ठाउँमा उभिनुपर्छ । कांग्रेस र राष्ट्रका लागि एकै ठाउँ उभिन्छौँ । यो प्रतिबद्धता म गर्न चाहन्छु । १५औँ महाधिवेशनअघि म देशैभर जान्छु र साथीहरूका भावना बझ्छु,’ शशांकले भने । 

शशांकको भनाइमा शेखर र सुजाताले पनि सहमति जनाए । सुजाताले महाधिवेशनमा एक भएर अघि बढ्न तयार रहेको बताइन् । ‘अबको महाधिवेशनमा हामी एक हुन्छौँ । कोइराला परिवारबाट कोही एकजनालाई सभापति बनाएर जाने हो भने म सहयोग गर्न तयार छु,’ सुजाताले भनिन् । 

शेखरले पनि आफू सधैँ एकताको पक्षमा सकारात्मक रहेको बताए । ‘म सधैँ एक भएर जानुपर्छ भन्नेमै छु, बिगारेको त उहाँहरूले हो, नत्र समस्या नै आउँदैनथ्यो । उहाँहरूले नेतृत्वका लागि हामी प्रयास गर्दै छौँ त भन्नुभयो, तर १४औँ महाधिवेशनमा प्रयास गर्नुभएन । १५औँमा एक ठाउँ उभिने कुरा ठीक छ,’ शेखरको भनाइ थियो । उनले परिवार बलियो बनाएर कांग्रेस बलियो बनाउने विषयमा कोइराला परिवार चुकेको आशय व्यक्त गरे । 

२६ भदौका लागि निर्धारित कार्यक्रम संविधानसभा सदस्य सुवास नेम्वाङको निधनका कारण स्थगित कार्यक्रम बुधबार भएसँगै महोत्सव  समापन भएको हो । महोत्सव बिपीको ११०औँ जन्मजयन्तीको अवसर पारेर २४ भदौबाट सुरु भएको थियो ।