Skip This
साफ यू–१९ च्याम्पियनसिप आजदेखि : सहभागी टोलीका प्रशिक्षक र कप्तानको उपाधि जित्ने दाबी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Monday, 12 May, 2025
रमेश सुवेदी काठमाडाैं
२o८o असोज ४ बिहीबार o६:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–१९ च्याम्पियनसिप आजदेखि : सहभागी टोलीका प्रशिक्षक र कप्तानको उपाधि जित्ने दाबी

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार o६:१o:oo

पाँचौँ दक्षिण एसियाली यू–१९ फुटबल च्याम्पियनसिप (साफ) आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । सहभागी ६ राष्ट्रका कप्तान तथा प्रशिक्षकले उपाधि जित्ने योजना बनाएका छन् । घरेलु टोली नेपालले तेस्रोपटक उपाधि जित्ने लक्ष्य राखेको छ । प्रशिक्षक सुनील श्रेष्ठ र कप्तान जियारथ शेखले उपाधि जित्न टोली सक्षम रहेको बताएका छन् ।

नेपालका मुख्य प्रशिक्षक र कप्तान घरेलु मैदानको वातावरण र समर्थकको साथ पाउनेमा आशावादी छन् । नेपालले पछिल्ला दुई संस्करणमा राम्रो प्रदर्शन गरेको छैन । लगातार दुई संस्करणको विजेता नेपाल तेस्रोमा समूह चरणबाटै बाहिरिएको थियो । गत संस्करणमा तेस्रो भएको थियो । यसपटक नेपाली टोलीमा यू–१६ र यू–१७ राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरिसकेका खेलाडी छन् । 

प्रशिक्षक श्रेष्ठले घरेलु मैदानमा उपाधि जित्ने दाबी गरेका छन् । ‘दरशथ रंगशालामै हामीले पहिलो संस्करणको उपाधि जितेका थियौँ, अहिले सोही कथा दोहोर्‍याउने लक्ष्य छ,’ उनले भने । उनले सहभागी सबै टोलीले उपाधि जित्न सक्ने जनाए । ‘सहभागी सबै टोली बराबरीकै छन् । सबैको लक्ष्य उपाधि नै हो, नेपाल क्रमिक रूपमा अगाडि बढी उपाधि उचाल्ने योजनामा छ,’ उनले भने । नेपालका कप्तान शेखले तयारी उत्कृष्ट रहेको र प्रतियोगिता जित्न खेल्ने बताएका छन् । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, भुटान र पाकिस्तानको सहभागिता छ । खेलअघि भएको पत्रकार सम्मेलनमा पाँच टोली सहभागी हुँदा पाकिस्तान आइनपुगेकाले सहभागी भएन । 

नेपाल र भारत समान दुईपटक च्याम्पियन 
प्रतियोगितामा नेपाल र भारत समान दुईपटक च्याम्पियन हुन् । भारतले तेस्रो र चौथो संस्करण जितेको थियो । पहिलो तीन संस्करण यू–१९ आधारमा भएको थियो । कोरोना महामारीका कारण एक वर्षपछि सन् २०२० मा आयोजना भएको प्रतियोगितामा यू–२० उमेरसमूहको साफ च्याम्पियनसिप खेलाइएको थियो । सन् २०१५ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो संस्करणमा भारतलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । विमल घर्तीमगरको कप्तानीमा नेपालले फाइनल जितेको हो । सन् २०१७ मा भुटानको थिम्पुमा भएको प्रतियोगिता पनि नेपालले जित्यो ।

गोलरक्षक अर्पण कार्कीको कप्तानीमा नेपाल राउन्ड रोबिन पद्धतिमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहँदै च्याम्पियन भएको थियो । सन् २०१९ को तेस्रो संस्करण नेपालमै आयोजना भयो । तर, घरेलु मैदानमा उपाधिमाथि ह्याट्रिक गर्ने दाउमा रहेको नेपाल समूह चरणबाट माथि बढ्न सकेन । जय गुरुङको कप्तानीमा रहेको नेपाली टोली असफल भएपछि प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका थिए । 

दुई वर्षदेखि निरन्तर अभ्यासमा भारत
प्रतियोगितामा आयोजक नेपालसहित केही राष्ट्रको तयारी दुई महिनाको मात्रै रहँदा भारतीय टोलीले दुई वर्षदेखि निरन्तर अभ्यास गरेको छ । भारत प्रतियोगिताको सबैभन्दा बलियो टोली हो । पछिल्लो समय भारतीय जुनियर खेलाडीले सानदार प्रदर्शन गर्दै आएका छन् ।

अधिकांश युथ टोलीको उपाधि जितेको छ । भारतले गत महिना मात्रै भएको साफ यू–१६ च्याम्पियनसिपको उपाधि हात पारेको थियो । साफ यू–२० को पछिल्लो संस्करणको विजेता पनि भारत नै हो । भारतका प्रशिक्षक शुभेन्डु पान्डाले तयारी राम्रो भएको र सुखद नतिजा आउने विश्वास गरे । ‘सन् २०२१ देखि लगातार प्रशिक्षणमा रहँदा हाम्रो टोली सन्तुलित छ । यो दुई वर्ष टोली निर्माणमै रह्यौँ । अब नतिजा देखाउने समय आएको छ,’ उनले भने । भारतीय खेलाडी साउदी अरेबियामा प्रशिक्षण गरी काठमाडौं आएका हुन् । 

बंगलादेशी प्रशिक्षक रसिद अहमदले चार हप्ताको मात्रै अभ्यास भएको र लगातार फाइनलमा स्थान बनाउन खेल्ने बताएका छन् । माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले सबै खेलाडी घरेलु लिग खेलेको भए पनि बन्दसत्र कम समय भएको बताए । भुटानका प्रशिक्षक हाइडहरू टाकाहसीले चुतौनी सामना गर्न तयार रहेको बताएका छन् ।