१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

टीकापुर घटनाका चार कैदी रिहा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:२३:oo

टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका चारजना कैदीबन्दी रिहा भएका छन्। 

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा भएपछि कैलाली जिल्ला कारागारमा रहेका तीनजना र पोखराको सुधारगृहमा रहेका एकजना रिहा भएका हुन्। 

विगत आठ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका कैलालीको जानकी गाउँपालिका– ७ मोतीपुरका हरिनारायण चौधरी, सोही गाउँपालिकाको लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिकाको ठाह्रापुरका वीरबहादुर चौधरीलाई रिहा गरिएको हो। 

आठ प्रहरी र एक नाबालकसहित नौजनाको हत्या भएको टीकापुर घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा दोषी ठहर भएका तीनैजना जन्मकैदको सजाय भुक्तान गरिरहेका थिए। हरिनारायण ५ भदौ ०७२, दिलबहादुर १४ भदौ ०७२ र प्रदीप २० भदौ ०७२ मा पक्राउ परेका थिए।

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा भएपछि टीकापुर घटनाका तीनसहित विभिन्न मुद्दाका नौजना कैदीबन्दीलाई आज रिहा गरिएको जिल्ला कारागार कैलालीका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए। 

कारागार प्रमुख तिमिल्सिनाका अनुसार रिहा हुने अन्य कैदीबन्दी चोरी, अवैध हातहतियार, बहुविवाह र सवारी ज्यान मुद्दा सजाय भोगिरहेका थिए। 

संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, प्रतिनिधिसभा सदस्यद्वय गंगा चौधरी र अरुणकुमार चौधरी, नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीलगायत उक्त पार्टीका नेताहरूले रिहा भएका टीकापुर घटनाका तीनै कैदीलाई कारागारको गेटमा अबिर र खादा लगाएर स्वागत गरेका थिए।

त्यस्तै, टीकापुर घटनामा दोषी ठहर भई तत्कालीन अवस्थामा नाबालक रहेकाले अदालतको आदेशअनुसार पोखराको सुधारगृहमा पठाइएका लट्कनियाकै श्रवणकुमार चौधरी पनि रिहा भएका प्रतिनिधिसभा सदस्य गंगा चौधरीले जानकारी दिए। 

रेशम भने गत १५ जेठमा गणतन्त्र दिवसका दिन कैदमुक्त भएका थिए। अदालतले उनलाई टीकापुर घटनाको मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको थियो। चौधरीलाई कैद मुक्त गरिएपछि जघन्य अवराधमा संलग्नलाई माफी दिइएको भन्दै त्यतिवेला सरकार र राष्ट्रपतिको आलोचना भएको थियो।

संविधान निर्माणका क्रममा थरुहट–थारुवान प्रदेशको माग गर्दै टीकापुरमा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि ७ भदौ ०७२ मा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।  
     
 

ad
ad