१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २१:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक अलपत्र पारेर भाग्ने व्यवसायीको मेसिनरी औजार नगरपालिकाको नियन्त्रणमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:११:oo

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने निर्माण व्यवसायीको मेसिनरी औजार नियन्त्रणमा लिएको छ। 

जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गत दिक्तेलस्थित अस्पतालचोकदेखि लफ्याङको दुबेचिवासम्मको (तीन किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्ने ढुकुछु/बगाले/बिएन्टी जेभी निर्माणको एउटा स्काभेटर, दुईवटा टिपर तथा एक/एकवटा रोलर र ग्रेडर नियन्त्रणमा लिएको हो। 

सडक स्तरोन्नतिको काम अलपत्र पारेर सम्पर्कविहीन बनेका निर्माण व्यवसायीले निर्माणस्थलबाट मेसिनरी औजारसमेत उठाएर लैजान थालेपछि नगरपालिकाको तर्फबाट मंगलबार नियन्त्रण लिइएको नगरका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए।

`निर्माण कम्पनीका प्रतिनिधिले ‘मेसिन कन्डिसनमा भए/नभएको जाँच गर्न आएको’ भन्दै ग्रेडर स्टार्ट गरेर हिँडाएको जानकारी स्थानीय बासिन्दाबाट पायौँ। नगर प्रहरीको टोलीसँग पछ्याउँदै जाँदा नभेटेपछि बाटोमा पर्ने प्रहरीचौकी दोर्पाचिउरीडाँडाका प्रहरीलाई परिचालन गरेर ग्रेडर नियन्त्रणमा लिइएको छ,´ उनले भने, `निर्माणस्थलमा रहेका अन्य मेसिनसमेत लैजाने तयारी गरेको जानकारी प्राप्त भएपछि नगरपालिकाको तर्फबाट सबै औजारमा ताला हालिएको छ। उक्त ताला निर्माण व्यवसायीले पुनः सडक स्तरोन्नतिको काम सुरुवात नगरेसम्म रहन्छ।´

गत भदौ–३१ गते निर्माण व्यवसायीको प्रतिनिधिले निर्माणस्थलबाट लैजाँदै गरेको ग्रेडर नगरपालिकाले वडा नं. ७ दोर्पाचिउरीडाँडास्थित बाटैमा रोकेपछि उक्त ग्रेडरको पांग्रामा लगाइएको हावा खुस्काएर हिँडेको पाइएको छ।

नगरपालिकाले नियन्त्रणमा लिएको ग्रेडर निर्माण व्यवसायीको प्रतिनिधिले जानीजानी बिगारेर छाडेकाले निर्माणस्थल फर्काउन नसकिएको र उक्त ग्रेडरको जिम्मेवारी निर्माण व्यवसायी आफैँले लिनुपर्ने नगर प्रवक्ता घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। 

नगरपालिकाले मेसिनरी औजार नियन्त्रणमा लिएपछि छुटाउनका लागि राजनीतिक दबाब आउन थालेको नगर प्रमुख तीर्थराज भट्टराईले बताएका छन्। 

`निर्माण व्यवसायीले अलपत्र छाडेको अस्पतालचोक–लफ्याङको दुबेचिवा (तीन किलोमिटर) सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने अवधि अब १९ दिन मात्र बाँकी छ। तोकिएको समयमा कुनै पनि हालतमा सम्पन्न हुने सम्भावना छैन,´ उनले भने, `निर्माण व्यवसायीको यतिसम्म लापरबाही देखियो कि, निर्माणस्थलमा खटाइएका कामदारहरूलाई समेत अलपत्र पारेर भागेका रहेछन्। बाहिरी जिल्लाका अधिकांश दामदारलाई स्थानीय बासिन्दाले गाडीभाडा दिएर घर पठाएका रहेछन्। अहिले स्थानीय बासिन्दा अन्यायमा पर्‍यौँ भन्दै निर्माण व्यवसायीलाई कारबाही गराइदिन नगरपालिका धाउन थालेका छन्। चरम लापरबाही गर्ने निर्माण व्यवसायीलाई हदैसम्मको कारबाहीका लागि नगरपालिकाको तर्फबाट सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी गरेका छौँ।´

ढुकुछु-बगाले-बिएन्टी जेभी निर्माणले भ्याटसहित रु पाँच करोड छ लाख ५५ हजार ५८६ मा दिक्तेलस्थित अस्पतालचोकदेखि लफ्याङको दुबेचिवासम्मको सडक २०७९ पुस–२८ गतेसम्ममा स्तरोन्नति सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। सो निर्माण कम्पनीले २०७८ जेठ–२० गते ठेक्का सम्झौता गरेको थियो। 

सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको अवस्थामा यसअघि २०७९ कातिक–२० गते पनि नगरपालिकाले ढुकुछु/बगाले/बिएन्टीको एउटा स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएको थियो। मेसिनरी औजारमा ताला लगाएको केही समयपछि निर्माणस्थल फर्किएर काम गरेको निर्माण व्यवसायीले पुनः गत असार मसान्तदेखि सबै काम अलपत्र बनाएका छन्।

निर्माण व्यवसायीले सडक स्तरोन्नतिको काम गर्नेक्रममा खटाएका एउटै कामदारको रु १३ लाखसम्म भुक्तानी नदिएको पाइएको छ। पेटी ठेक्का लिएर काम गरेका स्थानीय बालकुमार राईको सबैभन्दा बढी रु १३ लाख भुक्तानी नदिएको पाइएको नगर प्रवक्ता घिमिरेले जानकारी दिएका छन्। 

सडक स्तरोन्नतिका काम भएको समयमा आसपासका होटेल तथा पसलमा निर्माण व्यवसायी र कामदारले उधारो खाएको रकमसमेत भुक्तानी नभएको स्थानीय होटेल एवं पसल सञ्चालक दयाराम राईले जानकारी दिए। सञ्चालक राईका अनुसार निर्माण व्यवसायीले होटेल तथा पसलबाट नगदसमेत लगेको पाइएको छ।