मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
२०८० असोज २ मंगलबार ०८:४२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

३० वर्षको प्रतीक्षापछि लालपुर्जा

Read Time : < 1 मिनेट
२०८० असोज २ मंगलबार ०८:४२:००

हुम्लाको ताजाकोट गाउँपालिका–३ मा रहेको मासपुरवासीले प्रक्रिया अघि बढेको ३० वर्षपछि जग्गाको लालपुर्जा पाएका छन् । १९ चैत ०५० मा मासपुर गाउँको जग्गा जिल्ला मालपोत कार्यालयको मोठमा दर्ता भएको थियो । तर, अहिलेसम्म जग्गाको लालपुर्जा हात परेको थिएन । 

२४ घरधुरी रहेको मासपुर गाउँका स्थानीय आफ्नै जग्गाको लालपुर्जा देख्न पाउँदा दंग परेका छन् । पहिले यो ठाउँ साबिकको मैला गाउँ विकास समिति–७ को बदेलचौरमा पथ्र्यो । उनीहरूले पञ्चायतकालदेखि जग्गाको तिरो तिर्दै आएका थिए । मासपुरका दल बुढाले वर्षौँको प्रतीक्षापछि आफ्नै जग्गाको लालपुर्जा पाउँदा ज्यादै खुसी लागेको बताए । उनले ०४५ देखि ०८० सम्म गरी एक हजार चार सय रुपैयाँ तिरो तिरेको जानकारी दिए । 

पटक–पटक नापी हुने, तर पुर्जा नआउने गर्दा निरीह हुँदै आएका अर्का स्थानीय केशबहादुर रोकाया यसपटक हातमै लालपुर्जा परेकोमा दंग छन् । ‘पटक–पटक नापी हुँदा पनि जग्गाधनी पुर्जा नदिइएकाले आशा मरिसकेको थियो,’ उनले नयाँ पत्रिकासँग भने, ‘तर, गाउँमै अधिकार आएपछि हाम्रो सपना साकार भएको छ ।’ उनले सिमकोट गाउँपालिकाको पहलमा ताजाकोटमै लालपुर्जाको प्रतिलिपि पाएको जानकारी दिए । तत्कालीन ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लको रोहबरमा मासपुरवासीलाई लालपुर्जा वितरण पहल भएको रोकायाले बताए । 

मासपुरका मुङ्या रोकायाको लालपुर्जाको आशा गर्दागर्दै गत वर्ष ८० वर्षको उमेरमा मृत्यु भयो । ९० वर्षका दलवीर रोकाया पनि बितिसके । ३० वर्षदेखि उनीहरूले साँचेको सपना अब बाँचेकाहरूको हकमा साकार भएको छ । भौगोलिक रूपमा विकट मासपुर गाउँका स्थानीय अब जग्गाको वास्तविक धनी भएका छन् ।