१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
१९औँ एसियाडमा सहभागी हुन महिला टोली चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसियाडमा डेब्यु गर्दै महिला फुटबल टोली

१९औँ एसियाडमा पहिलोपटक सहभागी हुने महिला फुटबल खेलाडीले फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको पूर्वविजेता जापान र एसियाकै बलियो राष्ट्र भियतनामविरुद्ध समूह ‘डी’ मा प्रतिस्पर्धा गर्नेछन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:५o:oo

नेपाली राष्ट्रिय महिला टोली सोमबार १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागी हुन चीनतर्फ लागेको छ । अन्तर्राष्ट्रियस्तरको एक्सपोजर प्राप्त गर्न र दक्षिण एसियाली खेलकुदभन्दा माथिल्लो स्तरको अनुभव बटुल्ने महिला फुटबल खेलाडीलाई यो राम्रो अवसर हो । नेपाल सम्भवतः सर्वाधिक बलियो समूहमा छ । नेपालले जापान र भियतनामजस्ता ठूला राष्ट्रविरुद्ध खेल्नेछ । नेपालले बंगलादेशसँग पनि खेल्नुपर्छ । जापान गत महिना अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलिस्ट राष्ट्र हो । फेरि जापान एकपटकको महिला विश्वकप विजेतासमेत हो । एसियाकै फुटबल पावरहाउस राष्ट्रविरुद्ध नेपालले जति सक्दो एक्सपोजर लिन सक्नुपर्छ । 

एसियाडका लागि नेपाली टोलीले पछिल्लो दुई महिनादेखि प्रशिक्षण गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघको मातहतमा खेलाडीले नियमित प्रशिक्षण गर्न अवसर पाए । यद्यपि, प्रशिक्षणका क्रममा विवाद ननिस्किएको होइन । खेलाडीहरू विवादभन्दा प्रशिक्षणमा केन्द्रित रहे । नेपाली महिला खेलाडीलाई परिषद्ले खटाएका प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण गरेका थिए ।

एसियाडका लागि खेलाडीको तयारी सन्तोषजनक रहे पनि एक्सपोजर नपाएको प्रशिक्षक महर्जनले बताएका छन् । खेलाडीले एसियाडको तयारीमा एउटा पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाएन । अर्कोतर्फ, पुरुष खेलाडीले भने मैत्रीपूर्ण खेलको अवसर पाएका थिए । ‘प्रशिक्षण राम्रो भयो, तर महिला खेलाडीले एक्सपोजर नै पाएनन्,’ उनले भने, ‘एसियाडमा सहभागी महिला खेलाडीले एउटा पनि मैत्रीपूर्ण खेल्न नपाउँदा अलि दुःख छ ।’ 

महिला फुटबल टोलीले पहिलोपटक एसियाड खेल्न लागेको हो । महिला खेलाडीलाई पनि एसियाडस्तरमा प्रतिस्पर्धा गराउन ढिला भएको प्रशिक्षक महर्जनको भनाइ छ । ‘नेपालको महिला फुटबल खेलाडीले एसियाडको अनुभव बटुल्न १९औँ संस्करणसम्म प्रतीक्षा गर्नुपरेको छ,’ उनले भने, ‘वास्तवमा पुरुषमा जस्तै महिलालाई पनि एक्सपोजर प्रदान गर्नुपर्ने हो, सम्बन्धित निकायले यसतर्फ ध्यान नै दिएन ।’ प्रतियोगितामा नेपालले जापान र भियतनामाविरुद्ध सकेसम्म राम्रो प्रदर्शन गर्ने उनले बताए । ‘हामी जापान र भियतनामविरुद्ध राम्रो नतिजा निकाल्ने प्रयास गर्छौं, छिमेकी राष्ट्र बंगलादेशलाई हराउने लक्ष्यका साथ प्रतिस्पर्धा गर्छौं ।’ 

पहिलोपटक एसियाडको अनुभव
महिला खेलाडीले एसियाडकै माध्यमबाट राम्रो एक्सपोजर प्राप्त गर्न सक्छन् । दक्षिण एसियामा भारतपछिको बलियो राष्ट्र नेपालले चीनमा नतिजाभन्दा पनि माथिल्लो स्तरको अनुभव बटुल्ने प्रयास हुनेछ । इजरायलको लिग खेलेकी सावित्रा भण्डारी पनि फर्ममा छिन् । जापान र भियतनामजस्ता बलिया प्रतिद्वन्द्वीविरुद्ध नेपालले राम्रो गर्ने खेलाडीहरूको भनाइ छ । नेपाली टोलीमा अमिसा कार्की, दीपा शाही, सरु लिम्बू र प्रीति राई मुख्य खेलाडीका रूपमा छन् । यसपटक पूजा राना र गीता रानाले पुनरागमन गरेका छन् । ‘विश्वकपमा अनुभव बटुलेको राष्ट्रसँग खेल्न पाउनु धेरै राम्रो पक्ष हो,’ खेलाडीहरू भन्छन्, ‘हामीले प्रतियोगितामा दक्षिण एसियन लेभलभन्दा माथिल्लो स्तरमा खेल्नुपर्छ ।’

महिला फुटबल टोली चीन प्रस्थान
१९औँ एसियाडमा सहभागी हुन महिला टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा नेपालले पहिलोपटक एसियाडमा डेब्यु गर्दै छ । रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा २२ खेलाडी छन् । एसियाडअन्तर्गत महिला फुटबल प्रतियोगिता खेल २१ सेप्टेम्बरदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल भियतनामसँग २२ सेप्टेम्बरमा खेल्नेछ । नेपालले जापानसँग २५ सेप्टेम्बरमा प्रतिस्पर्धा गर्नेछ । साफ च्याम्पियन बंगलादेशसँग २८ सेप्टेम्बरमा खेल्ने तालिका छ । जापानसँग प्रतिस्पर्धा गरेको नेपालको अनुभव छैन । नेपालले पहिलोपटक जापानविरुद्ध खेल्न लागेको हो । नेपालले बंगलादेशविरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज खेलेको थियो । यसअघि नेपालले भियतनामसँग सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकका लागि महिला फुटबलको एसियन छनोटमा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल दुवै खेलमा भियतनामसँग पराजित भएको थियो । 

कांस्य विजेता महर्जन एसियाड टर्च र्‍यालीमा सहभागी हुने
एसियाडको अन्तिम चरणको तयारीस्वरूप आयोजना हुने टर्च र्‍यालीमा नेपालबाट बक्सिङ प्रशिक्षक तथा कांस्य पदक विजेता दीपक महर्जन सहभागी हुने भएका छन् । सन् २०१० मै चीनमा आयोजना भएको एसियाडमा महर्जनले नेपाललाई एक मात्र कांस्य पदक दिलाएका थिए । एसियाडको टर्च र्‍याली बुधबार हुनेछ । महर्जनले टर्च ¥यालीमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताएका छन् । ‘खेलाडी र प्रशिक्षकको प्रतिनिधित्व गर्दै टर्च ¥यालीमा सहभागी हुन पाउँदा खुसी लागेको छ,’ उनले भने । 

नेपाली बक्सिङ टोली बिहीबारै चीन प्रस्थान गर्नेछ । टर्च र्‍याली चीनको पूर्वी क्षेत्र झेजियाङ प्रान्तस्थित हान्झाउ सहरबाट ८ सेप्टेम्बरमा सुरु भएको थियो । झेजियाङ प्रान्तका ११ सहरमा परिक्रमा गराइने टर्च र्‍याली २० सेप्टेम्बरमा पुनः हान्झाउमै सम्पन्न हुनेछ । बक्सिङका मुख्य प्रशिक्षक महर्जनका अनुसार एसियाडमा बक्सिङको प्रतिस्पर्धा २४ सेप्टेम्बरदेखि सुरु हुनेछ । नेपालबाट पुरुषतर्फ सात र महिलातर्फ ६ खेलाडीले भाग लिँदै छन् । 

पुरुषतर्फ रविन थापाले ५१ केजी, बुद्ध लामाले ५७ केजी, भूपेन्द्र थापाले ६३.५ केजी, दीपेश लामाले ७१ केजी, दीपक श्रेष्ठले ८० केजी, रविन नेपालले ९२ केजी र आशिष दवाडीले ९२ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सुष्मा तामाङले ५० केजी, मीनु गुरुङले ५४ केजी, चन्द्रकला थापाले ५७ केजी, संगीता सुनारले ६० केजी, विनिता थापामगरले ६६ केजी र सरस्वती रानाले ७५ केजी तौलसमूहमा भिड्नेछन् । 

ad
ad