१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
डा. कृष्णप्रसाद पौडेल
Invalid date format o६:४६:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बिपीको समाजवाद बिर्सेको कांग्रेसलाई प्रश्न

के कांग्रेसले बिपीले भनेझैँ नीति तथा कार्यक्रम ल्याएर कार्यान्वयन गरेको छ त ? के अहिले हिँडिरहेको बाटोबाट समाजवादको गन्तव्यमा पुग्न सम्भव छ ?

Read Time : > 3 मिनेट
डा. कृष्णप्रसाद पौडेल
नयाँ पत्रिका
Invalid date format o६:४६:oo

नेपाली कांग्रेस पार्टीका जन्मदाता, प्रजातान्त्रिक समाजवादका विचारक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहनुभई देश विकासको खाका कोर्दै सामाजिक न्याय, स्वतन्त्रता, मानवता र संसदीय शासन प्रणालीमा विश्वास गर्नुहुने बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको व्याख्या आज पनि उत्तिकै सान्दर्भिक र समयसापेक्ष अनुभूत हुन्छ । बिपी भन्नुहुन्थ्यो– सबै नेपालीको एउटा सानो घर होस् । गरी खान पुग्ने खेतबारी होस् । एउटा दुहुनो गाई होस् । छोराछोरी स्कुल पढ्न पाऊन् । सहजै स्वास्थ्य उपचार गर्न पाऊन् । यही हो नेपालको सन्दर्भमा समाजवाद । के आज बिपीको ‘समाजवाद’को प्रतिबिम्ब नेपाली कांग्रेसको नीति र आदर्शमा पाइन्छ त ? पार्टीलाई जीवन्त राख्ने नीतिले हो वा आदर्शले ? नेताको जीवनशैलीले हो वा कार्यशैलीले ? या नागरिकको जीवनसँग जोडिएका मुद्दामाथिको बहसले ? अथवा सरकारमा गएपछि तय गरिने कार्यक्रम तथा योजनाले ? अथवा बहस र पैरवीले मात्र ? यी प्रश्न आज सर्वत्र बहसको विषय बनेका छन् र बन्नु पनि पर्छ । 

पार्टीका मूल विचारक, व्याख्याता, कुशल संगठन र उत्प्रेरक व्यक्तित्वका धनी हुनुहुन्थ्यो बिपी कोइराला । जसले नेपालको राजनीतिक परिदृश्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । कोइरालाले मूलतः जीवनभर लोकतान्त्रिक समाजवादसँग जोडिएका सामाजिक न्याय, लोकतन्त्र र आर्थिक सुधारको वकालत गर्नुभएको थियो ।

नेपाली कांग्रेसको २०१२ सालमा वीरगन्जमा सम्पन्न पार्टीको छैटौँ महाधिवेशनले प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता विधिवत् रूपमा घोषणा गरेको थियो । बिपीलाई आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त हो र यो प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो ।

वीरगन्ज महाधिवेशनबाट पारित कांग्रेसको समाजवादी नीति ०१५ को पहिलो आमचुनावको घोषणापत्रमा स्पष्ट झल्किएको थियो । राजनीतिक परिवर्तनको पृष्ठभूमि र लोककल्याणकारी नीतिका कारण कांग्रेसले सो चुनावमा संसद्का १०९ स्थानमध्ये ७४ मा जित हासिल गरेको थियो । बिपीले समाजवादी सिद्धान्तलाई आफ्नो मुलुकअनुकूल व्याख्या र परिमार्जित गरेपछि पार्टीको नीतिमा समाजवादी विचारधाराप्रति स्पष्ट प्रतिबद्धता देखियो ।

२००७ सालको जनक्रान्तिको नेतृत्व गर्नुभएका कोइराला २०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । त्यसैवेलादेखि नै नेपालमा प्रजातान्त्रिक समाजवादको खोजीसँगै प्राप्ति र अभ्यास हुँदै आएको देखिएको छ । बिपी कोइरालाले लेखेको कांग्रेसको घोषणापत्रका केही अंश तल साभार गरिएको छ :

‘नेपाली कांग्रेस समाजवादी संस्था हो । यसको अन्तिम लक्ष्य एउटा यस्तो आदर्श व्यवस्था स्थापित गर्नु हो, जहाँ मनुष्यले मनुष्यको शोषण गर्नेछैन । धन–दौलतका अभावमा उत्पन्न भएको साना–ठूलाको भेद नेपाली कांग्रेस समाप्त गर्न चाहन्छ । अरू पनि अनेकौँ थरीका सामाजिक अन्याय र असमानता देशमा व्याप्त छन् । ती सबै अन्याय र असमानतालाई समाप्त पारी पारस्परिक मेल, सद्भावना र सहकारिताका आदर्शबाट प्रेरित एउटा ठूलो राष्ट्रका रूपमा हाम्रो वर्तमान समाजलाई पुनर्गठित गर्नु नेपाली कांग्रेसको ध्येय हो । यसै बाटोबाट राष्ट्रको बढीभन्दा बढी उन्नति हुन सक्छ । नेपाली कांग्रेसको समाजवादी व्यवस्थाको बाटो छोटो छैन । यस अवस्थामा देशले निकै लामो र कष्टसाध्य उकालो बाटो छिचोल्नु छ । तत्कालीन हाम्रो समाजमा समाजवादी लक्ष्य प्राप्त गर्ने साधन उपलब्ध छैनन् । यी साधनलाई सुस्तरी प्राप्त गर्दै प्रजातान्त्रिक पद्धतिद्वारा हामीले समाजवादका महान् लक्ष्यतर्फ अग्रसर हुँदै जानु छ ।’

बिपी भन्नुहुन्थ्यो– सबै नेपालीको एउटा सानो घर होस् । गरी खान पुग्ने खेतबारी होस् । एउटा दुहुनो गाई होस् । छोराछोरी स्कुल पढ्न पाऊन् । सहजै स्वास्थ्य उपचार गर्न पाऊन् । यही हो नेपालको सन्दर्भमा समाजवाद । तर, के आज बिपीको ‘समाजवाद’को प्रतिबिम्ब नेपाली कांग्रेसको नीति र आदर्शमा पाइन्छ त ?
 

कोइरालाले कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादजस्ता मूल नीतिमा डोर्‍याउँदै नेपालको भूराजनीतिक अवस्था, भौगोलिक संरचना, जनसंख्या, इतिहास, धर्म, संस्कृति, वैदेशिक सम्बन्ध, अर्थतन्त्र आदिलाई विभिन्न कोणबाट गहन अध्ययन र विश्लेषण गर्दै त्यहीअनुरूप नीति–निर्माण र कार्यान्वयनमा जोड दिएको पाइन्छ ।

बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्तमा प्रत्येक नागरिकलाई आर्थिक, राजनीतिक, धार्मिक, सामाजिक, पारिवारिक, सांस्कृतिक स्वतन्त्रताको कल्पना गरिएको छ । सबै नेपाली जनतालाई एक घर, एक टुक्रा खेत, एउटा दुहुनो गाई, औषधि उपचारको उचित व्यवस्था, बालबालिकालाई उचित शिक्षाको व्यवस्था गरेर मध्यम वर्गीय समाज निर्माण गर्नु प्रजातान्त्रिक सामाजवादको न्यूनतम आधार भन्ने कुरा नै बिपीको प्रजातान्त्रिक समाजवाद हो ।

नेपालको वर्तमान संविधानको प्रस्तावनामा भनिएको छ– ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने । नेपालको संविधानले नेपाललाई ‘समाजवादउन्मुख राज्य’ भनेको छ । संविधान पल्टाएर हेर्ने हो भने मौलिक हकअन्तर्गत महिला, दलितसहित विभिन्न सीमान्तकृत समुदायका लागि गरिएका विशेष व्यवस्था, शिक्षा, स्वास्थ्य, आवासको हक, भूमिको उत्पादकत्व वृद्धि एवं कृषिको आधुनिकीकरण, सार्वजनिक हितका लागि व्यक्तिको सम्पत्ति नियमन तथा अधिग्रहण र भाग–४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वजस्ता पक्षले नेपालमा समाजवादी राज्यव्यवस्था छ भन्ने धारणा दिन्छन् ।

बिपी कोइरालाले भनेको गरिबको एउटा सानो भए पनि घर होस् भन्ने कुरा संविधानको आवासको हकसँग सम्बन्धित छ । केटाकेटीले पढ्न पाऊन् भन्ने कुरा शिक्षाको अधिकारसँग जोडिएर आएको छ । उनले भनेको रोगीहरूले सिटामोल पाऊन् भन्ने कुरो स्वास्थ्य र उपचारको हकसँग सम्बन्धित छ । कुटिर उद्योगलाई संरक्षण र प्रगतिशील कर, क्रान्तिकारी भूमिसुधारजस्ता कुरा देशको आर्थिक पक्षसँग सम्बन्धित छन् । जसलाई बिपीले समाजवादका प्रमुख तŒवका रूपमा अघि सार्नुभएको थियो ।

२०१५ सालको घोषणापत्रमा स्पष्ट भनिएको थियो– नेपाली कांग्रेस शिक्षा, स्वास्थ्य एवम् यातायातको व्यवस्थाको सर्वप्रथम आवश्यकता सम्झिन्छ । अतः शिक्षा एवम् स्वास्थ्यको व्यापक व्यवस्था, यातायातको समुचित विकास एवम् सञ्चारको राम्रो प्रबन्ध गर्न नेपाली कांग्रेसले आफ्नो सम्पूर्ण तागत लगाउनेछ । गाउँको उन्नति नै देशको उन्नति हो । यस सत्यलाई कार्यान्वयन गर्न देशका प्रत्येक गाउँलाई सुसंगठित बनाउन एवम् सुधार्न नेपाली कांग्रेसले ठोस कदम लिनेछ । आज नेपाली कांग्रेसको नारा गाउँ सपार र गाउँ फर्क हुन गएको छ । बिपीका यिनै विचार र सिद्धान्तलाई कांग्रेसले राजनीति गर्ने आधारका रूपमा प्रयोग गर्दै आएको छ । 

के कांग्रेसले बिपीले भनेझैँ नीति तथा कार्यक्रम ल्याएर कार्यान्वयन गरेको छ त ? साथै, आफूलाई राजनीतिक परिवर्तनको संवाहक मान्ने कांग्रेसले संविधानमा लेखिएका समाजवादी प्रावधान र प्रतिबद्धता लागू गर्न के–के पहल ग¥यो त ? आज यो आमचासो र खोजीको विषय बनेको छ । 

समाजवादबारे कांग्रेसका नेता तथा कार्यकर्ता घन्टौँसम्म वकालत गर्छन् । नेताहरू उत्तिकै चर्को स्वरमा मञ्चमा भाषण पनि गर्छन् । कार्यकर्तालाई प्रशिक्षित पनि गर्छन् । तर, पार्टी अहिले कुन बाटो र दिशामा अघि बढिरहेको छ ? के अहिले बसिरहेको स्थान र हिँडिरहेको बाटोबाटै समाजवादको गन्तव्यमा पुग्न सम्भव छ ? यो सोचनीय विषय बनेको छ । नेता, कार्यकर्ताहरूले कसरी त्यो आधार तयार गर्ने हो ? त्यसका लागि नेताहरूको एकता, आदर्श, रणनीति र भिजन कस्तो छ ? कार्यकर्तासमेतको जीवन, व्यवहार समाजवादमा रूपान्तारित गर्न कस्तो हुन जरुरी छ ? यस्ता जरुरी सवालमा आजकाल समीक्षा, छलफल र बहस हुन नै छोडेको छ । 

बिपीले राजनीतिक व्यवस्थामा मात्र होइन, सर्वसाधारणको दैनिकी बदल्ने विषयमा समेत प्रजातान्त्रिक सोच राख्नुभएको थियो । बिपी भन्नुहुन्थ्यो– सिद्धान्त र विचार स्वीकार गरेर मात्रै हुँदैन, त्यसलाई व्यवहारमा उतार्न पनि सक्नुपर्छ । बिपीको त्यो सजाजवादी सोच न त कांग्रेस सरकारमा जाँदा नेताहरूले नै सम्झिएका छन्, न कांग्रेसको जीवनमै कहीँकतै झल्किन्छ । तसर्थ, कांग्रेसले बिपीको समाजवादलाई बिपी जयन्ती र स्मृति दिवसमा गरिने बहसमा मात्र सीमित गरेको छ भन्दा अन्यथा नहोला । 
(डा. पौडेल कांग्रेसका युवा नेता हुन्)