१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुद्दा अदालतमा गए पनि सुन प्रकरणको अनुसन्धान नरोकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१२:oo

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । 

सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिइन् ।

बुधबार सिआइबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक–दुई दिनमै मुद्दा अदालत जाँदै छ, तर सात कम्पनीबाट तीन सय ६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ । बाँकी सुन तस्करले गन्तव्यमा पुर्‍याइसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि सिआइबीले जारी राखेको जानकारी दिएको छ ।

नयाँ तथ्य फेला पारेपछि पूरक प्रतिवेदनका रूपमा बुझाउने सुन प्रकरणको अनुसन्धानको नेतृत्व गरेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । उनका अनुसार तस्करले सञ्जाल तयार पारेर सुन तस्करी भएको फेला परेको छ । काठमाडौंको टोखा र लाजिम्पाटमा सुन गाल्ने काम भएको पनि प्रहरीले फेला पारेको छ ।

उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबाहीका लागि सिफारिस गरिएको छ । 

अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभिन्न सात कम्पनीबाट तीन सय ६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको छ । अहिलेको मूल्यमा  तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ । अहिलेसम्म ३२ जना पक्राउ परेका छन्  पक्राउ पर्नेमा २३ नेपाली र नौ  विदेशी नागरिक छन् । १८ जना फरार रहेका छन् ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेकसुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालयअगाडिबाट बरामद गरेको थियो । त्यसैको अनुसन्धानका क्रममा थप ६ कम्पनीबाट यस्तै अटोपार्टमा हालेर सुन तस्करी भएको पाइएको छ । विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिएको थियो । सुन हङकङबाट ल्याएर भारत निर्यात गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।
 

ad
ad