१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
टेकराज थामी काठमाडाैं
Invalid date format o६:२७:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुई महिनामा ३ सय ६२ केजी सुन भित्रिँदा ६० केजी मात्र बरामद

Read Time : > 5 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२७:oo

सुन तस्करीमा जापानी ‘ग्याङ लर्ड याकुजी’ स्तरको समूह संलग्न रहेको सिआइबीको निष्कर्ष

जापानी आपराधिक समूह ‘याकुजा सिन्डिकेट’ले ९० को दशकमा संगठित आर्थिक अपराध गरेर विश्व नै हल्लाएको थियो । ८० हजार संगठित सदस्य रहेको सिन्डिकेटले तेल र कारको मात्र होइन, यौनदासीको समेत विश्वभर तस्करी गर्थ्यो । हङकङबाट नेपाललाई ‘ट्रान्जिट’ बनाएर सुन तस्करी गर्ने आपराधिक समूह पनि सोहीस्तरको रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को निष्कर्ष छ । 

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट ब्रेकसुको नाममा जाँचपास भएर बाहिरिने क्रममा बरामद भएको सुनमाथि झन्डै दुई महिना अनुसन्धान गरेपछि सिआइबीले निष्कर्ष निकालेको छ– दिलीप भुजेलको नाममा दर्ता भएको कम्पनी रेडी ट्रेडको नाममा मात्रै दुई महिनामा ३६२.७७८ केजी सुन नेपाल भित्रिएको थियो । जसमध्ये ६०.७१६ केजी मात्रै बरामद (२ साउनमा) भएको हो । बाँकी ३०२.०६२ किलो निश्चित ठेगानामा पुर्‍याउन तस्करहरू सफल भएका थिए । 

२८ वर्षे करिअरमा यस्तो आपराधिक समूहसँग पहिलोपटक मुकाबिला भयो : एआइजी किरण बज्राचार्य, प्रमुख, सिआइबी

नेपाललाई ‘ट्रान्जिट’ बनाएर ठूलो परिमाणमा सुन तस्करी भएको छ । यो अपराध ‘ट्रान्सनेसनल’ देखिन्छ । यसमा प्रयोग भएका प्रविधि, मेनपावर, लगानी र रकम अन्तर्राष्ट्रियस्तरको तथा संलग्न अभियुक्तको पृष्ठभूमि हेर्दा जापानी तथा कोरियन ‘ग्याङ लर्ड’ तहको देखिन्छ । मेरो २८ वर्षको करिअरमा यसस्तरको आपराधिक समूहसँग मुकाबिला गरेको पहिलोपटक हो ।

सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले भनिन्, ‘हङकङबाट नेपाललाई ट्रान्जिट बनाएर ठूलो परिमाणमा सुन तस्करी भएको छ । यो अपराध ‘ट्रान्सनेश्नल’ देखिन्छ । यसमा प्रयोग भएका प्रविधि, मेनपावर, लगानी र रकम अन्तर्राष्ट्रियस्तरको तथा संलग्न अभियुक्तको पृष्ठभूमि हेर्दा जापानी तथा कोरियन ‘ग्याङ लर्ड’को तहको देखिन्छ । मेरो २८ वर्षको करिअरमा यसस्तरको आपराधिक समूहसँग मुकाबिला गरेको पहिलोपटक हो ।’

सिआइबीका अनुसार हङकङबाट नेपाल हुँदै भारतमा सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागारिक वाङ डाओजिन हुन् । सिचुनाव प्रान्तका उनी कारोबारका लागि पटक–पटक नेपाल आउने–जाने गरेको देखिन्छ । ६०.७१६ किलो सुन बरामद हुनु केही दिनअघि मात्रै उनी नेपाल आएका थिए । कारोबारका लागि उनी हङकङ बस्ने गर्छन् । उनको कारोबारमा जेनपेङ योङछिन, झोङ जिङ्गछुन, लिन र लीसहित अन्य तीनजना साझेदार छन् । उनीहरू हङकङमा नै बस्छन् ।

सुन कारोबारका लागि उनीहरूले हङकङमा ताल्मुड, डोङ्गुन सुता ट्रान्सपोर्टेसन, जिनमेन फेङ्गटोन ट्रान्सपोर्टेसनलगायतका १० कम्पनी खडा गरेका छन् । सोही कम्पनीमार्फत उनीहरूले तस्करीको सुन नेपाल पठाउँदै आएका छन् । घटना अनुसन्धानमा संलग्न एसपी कृष्ण पँगेनीले तस्करीको सुुन नेपाल पठाउन तस्करले हङकङमा विभिन्न १० कम्पनी खोलेको बताए । 

उनले भने, ‘तस्करमा संलग्न गिरोहको मुख्य अभियुक्त हङकङमा बस्छ । उसले सारा अपरेट हङकङ बसेरै गर्छ । जसमध्येका एक हुन् वाङ डाओजिन । उसले नेपालमा सुन तस्करीको साम्राज्य नै खडा गरेको देखिन्छ । उनी पटकपटक नेपाल आउने–जाने गरेको देखिएको छ । ६० किलो सुन समातिनुअघि पनि ऊ नेपाल आएको थियो । योसहितको गिरोहले सुन तस्करीका लागि हङकङमा विभिन्न १० वटा कम्पनी खडा गरेको देखिन्छ ।’

सिआइबीका अनुसार सुन तस्करी र तस्करबाट प्राप्त भएको रकम ‘ट्रान्जेक्सन’का लागि उनीहरूले विशेष ‘कोड’ नै विकास गरेका थिए । उक्त ‘कोड’ एउटै प्रकृतिको नोट थियो । हङकङ बसेका गिरोहका मुख्य नाइके डाओजिन, लिन र लीले तस्करीमा संलग्न गिरोहका खास सदस्यलाई उक्त नोट वितरण गर्थे र उनीहरूलाई फरक–फरक ‘कन्साइन्मेन्ट’ दिएर पठाउँथे ।

तस्करीको सुन ल्याउने, गाल्ने र डेलिभर गर्ने समूहलाई एउटा नोट वितरण हुन्थ्यो । रिसिभ गर्ने र मार्केटमा लैजाने गिरोहलाई पनि सोही प्रकृतिको नोट वी च्याटमार्फत वितरण हुन्थ्यो । जब डेलिभर गर्ने समूह र रिसिभ गर्ने समूह कारोबारका लागि आपसमा भेट हुन्थे, उनीहरूले वितरण भएको नोट देखाउँथे । त्यसपछि मात्रै सुन तथा रकम लेनदेनको काम हुन्थ्यो । घटनाको अनुसन्धानमा संलग्न सिआइबीका एसपी सञ्जयसिंह थापाले सुन र रकम कारोबारका लागि तस्कर समूहले विशेष कोडको विकास गरेको बताए । 

उनले भने, ‘सुन कारोबारको अपरेट हङकङबाट हुन्थ्यो । यसका लागि डेलिभर र रिसिभ गर्ने फरक–फरक समूहलाई गिरोहका नाइकले एउटा कोड दिन्थ्यो । उक्त कोड एकै किसिमको नोट रहेको देखिन्छ । कारोबारका क्रममा जब यिनीहरू आपसमा भेट गर्थे, नाइकेबाट वितरण भएको नोट एकले अर्कोलाई देखाउँथे र सुन लेनदेन गर्थे । सानो परिमाणको रकम पनि यिनीहरूले सोही नोटमार्फत गर्थे ।’ 

ठूलो परिमाणको रकम लेनदेनका लागि गिरोहले ‘क्रिप्टोकरेन्सी’को प्रयोग गरेका थिए । क्रिप्टोमार्फत गिरोहका मुख्य सदस्य तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ, याओ फुचेङ, ली नेइकेयी र सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष तथा कारोबारमा संलग्न शिवकुमार सर्राफबीच कारोबारका क्रममा पटक–पटक क्रिप्टोमार्फत रकम आदान–प्रदान भएको देखिन्छ । 

अनुसन्धानमा संलग्न एसपी थापाले भने, ‘सुन डेलिभरीपछि सानो परिमाणको रकम ह्यान्डक्यासमार्फत नै लेनदेन गरेको देखिन्छ । ठूलो परिमाणको रकम लेनदेनमा भने यिनीहरूले क्रिप्टोकरेन्सी प्रयोग गरेको देखिन्छ । सर्सर्ती हेर्दा यिनीहरूले तस्करीमा मात्र होइन, रकम लेनदेनमा पनि हाइटेक्नोलोजी प्रयोग गरेका छन् ।’ 

गिरोहले रेडी ट्रेडबाहेकका कम्पनीको नाममा पनि सामान ल्याएको देखियो, विस्तृत अनुसन्धान बाँकी
दिलीप भुजेलको नाममा दर्ता भएको कम्पनी रेडी ट्रेडमार्फत मात्रै दुई महिनामा ३६२.७७८ केजी सुन नेपाल भित्रिएको थियो । जसमध्ये २ साउनमा भित्रिएको ६०.७१६ केजी मात्रै बरामद भयो । त्यसबाहेक छुङगक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, हवाडा इलेक्ट्रिक सप्लायर्स, पवटी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स र सरिता सप्लायर्स नामका कम्पनीसमेत खोलेर सोही गिरोहले पटक–पटक सामान ल्याएको र त्यसमा सुन तस्करी भएको अनुमान सिआइबीको छ, यसमा विस्तृत अनुसन्धान बाँकी छ । 

सिआइबी प्रमुख एआइजी बज्राचार्यले भनिन्, ‘यसपटकको अनुसन्धान रेडी टे«डबाट ल्याइएका सामग्रीमाथि मात्रै केन्द्रित गरिएको छ । गिरोहका सदस्यले अन्य कम्पनीको नाममा पनि सामग्री ल्याएको देखिन्छ । जसमा अनुसन्धान गर्न बाँकी छ । त्यसैले अनुसन्धान सकिएको छैन । पूरकका रूपमा अनुसन्धानलाई सिआइबीले पुनः जारी राख्नेछ ।’

गिरोहका नाइके जोसँग नेपाली नागरिकता थियो 
सुन तस्करीका लागि नेपालमा सम्पूर्ण व्यवस्थापन मिलाउने काम तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङले गर्दै आएका थिए । सुन रिसिभ गरेर भारतीय बजारमा लैजाने काम भने एलेक्स भनिने याओ फुचेङले गर्दैै आएका थिए । नेपालमा बस्ने दावाले नेपाली नागरिकता मात्रै लिएनन्, नेपाली पासपोर्टसमेत बनाएका थिए । उनकै सहयोगमा गिरोहका सदस्य चिनियाँ नागरिक फुचेङले पनि छिरिङ सोनाम तामाङको नाममा नेपाली नागरिकता र राहदानी बनाएका थिए । 

त्यस्तै, गिरोहका अर्का सदस्य नेङकाई लीले सोनाम लामा, वेन सुन लीले छिरिङ लामा, सेड फा डिङले राम लामाको नाममा नेपाली नागरिकता र राहदानी बनाएका थिए । सिआइबीका अनुसार नागरिकता र राहदानी बनाउन उनीहरूलाई दावाले नै सघाएका थिए ।

५० विरुद्ध मुद्दा, बिगो तीन अर्ब 

६०.७१६ केजी सुन तस्करी प्रकरणमा सिआइबीले ५० अभियुक्तलाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको छ । जसमध्ये ३२ पक्राउ परिसकेका छन् भने १८ जना फरार छन् । उनीहरूविरुद्ध तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो दाबी गरिएको छ । सो रकम रेडी ट्रेडको नाममा तस्करी गरिएको सुनको मूल्यबराबर मात्रै हो । 

- मुद्दा चलाइएका विदेशी : दावा छिरिङ, याओ पुचेङ्ग, टियान मी, वेन तोङ, डिङ सेग्फा, ली–नेङकाई, ली वेन सुङ, थुप्देन छिरिङ, जी क्वाङ लिन 

- मुद्दा चलाइएका नेपाली : किशोर बस्नेत, सुमन खरेल, गणेश पौडेल, रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, राजेन्द्र राई, अशोक लामा, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, पुष्पा जोशी, वीरेन्द्र नेपाली, कमल परियार, शिवकुमार सर्राफ, रुक्मिना सुब्बासहित २३ जना ।

- जो फरार छन् : जोङ जिङगछुङ, ली जे क्विङ, जोङ जियन हाउ, तियान मी, वाङ डाओजिन, सिन पेङ योङ्गछिन, फेङ्ग चुङ्ग ली, पेङ लिङ्गफेङ, झोङ जिङ्गछुन, अमला रोकासहित १८ जना । 

यसकारण नेपाल ट्रान्जिट प्वाइन्ट 

नेपालमा कम्पनी खोल्नुअघि सञ्चालकको आर्थिक हैसियत हेरिँदैन । नेपाली नागरिकता लिएको भरमा जोकोही नेपाली नागरिकले कम्पनी खोल्न सक्छ । सुन तस्करीमा संलग्न गिरोहले नेपाली कानुनको यो ‘लुप होल’मा खेलेर नेपाललाई सुन तस्करीको ट्रान्जिट बिन्दु बनाए । उनीहरूले दैनिक मजदुरी गर्ने दिलीप भुजेल, कुमार भुजेल, रामकुमार भुजेल, सरिता तामाङ, लेखनाथ कार्की, वैकुण्ठ भुजेल, रामबहादुर भुजेललाई आर्थिक प्रलोभनमा पारे । उनीहरूको नाममा कम्पनी खोलेर कारोबार सुरु गरे । 

- ठूलो परिमाणको कारोबार गर्न कुनै पनि कम्पनीले ‘एक्जिम (इम्पोर्ट, एक्स्पोर्ट) कोड’ लिनुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार यसो गर्न कम्पनी भ्याट (भ्यालुएबल ट्याक्स)मा दर्ता भएको हुनुपर्छ । तर, नेपालमा यो कोड लिन प्यान (पर्मानेन्ट अकाउन्ट नम्बर)मा दर्ता भए पुग्छ । कानुनको यो ‘लुप होल’ गिरोहले बुझ्यो र नेपाललाई सुन तस्करीको ट्रान्जिट बिन्दु बनायो । नेपालीको नाममा कम्पनी खोलेर प्यानमा दर्ता गर्‍यो, एक्जिम कोड लियो र कारोबार सुरु गर्‍यो । 

- ठूलो परिमाणको सामग्री आयात गर्न अनिवार्य रूपमा एलसी (लेटर अफ क्रेडिट) खोल्नुपर्छ । तर, नेपालमा पाँच सय डलरभन्दा कम मूल्यको सामग्री आयात गर्दा एलसी खोल्न आवश्यक छैन । कानुनको यो ‘लुप होल’ गिरोहले बुझ्यो र यसैमा टेकेर नेपालीको नाममा खोलिएको कम्पनीबाट सानो–सानो परिमाणमा धेरै सामग्री आयात गर्न सक्यो ।

- चार्ल्स शोभराजले नेपाली भन्सार नाकाको व्यंग्य गर्दै भनेका थिए, ‘नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती छिराइदिन्छु ।’ नेपाली भन्सारको यो कमजोरी गिरोहका सदस्यले बुझे र नेपाललाई सुन तस्करीको ट्रान्जिट बिन्दु बनाए ।

- आवश्यक परेको खण्डमा सजिलै कानुनको फन्दाबाट फुत्किन सजिलो होस् भनेर उनीहरूले नेपाली नागरिकता र राहदानी बनाए । नेपालमा यो खरिद–बिक्री नै हुने गरेको छ । तस्करीमा संलग्न गिरोहका सदस्यले नेपालीको भ्रष्ट मनोविज्ञान बुझेर नागरिकता र राहदानी लिए । नेपाली नागरिक बनेर उनीहरूले कारोबार गरे । हुन पनि सुन तस्करीमा संलग्न पाँच चिनियाँ नागरिकले सहजै नेपाली नागरिकता लिएका छन् ।