मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
शिल्पा कर्ण काठमाडौं
२०८० भदौ २७ बुधबार १६:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खानेपानी विभागका सिडिई शाक्यलाई दुई करोड ४२ लाख जरिवाना, एक वर्ष कैद सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०८० भदौ २७ बुधबार १६:५५:००

विशेष अदालतले गैरकानुनी सम्पत्ति मुद्दामा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्यलाई दोषी ठहर गरेको छ। बुधबारको इजलासले उनीमाथि कसुर कायम गर्दै एक वर्ष कैद सजाय सुनाएको हो।

न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो। मुद्दा दायर भएको तीन वर्षपछि फैसला सुनाइएको हो। 

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले कैदका साथै बिगोबमोजिम असुलउपर हुने सजाय सुनाएको हो। ‘उहाँको २ करोड ४२ लाख ६३ हजार रूपैयाँको स्रोत खुल्न नसकेपछि त्यसलाई बिगो रकम मान्दै उक्त रकमबराबर जरिवाना हुने र एक वर्ष कैद हुने सजाय सुनाइएको हो,’ उनले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ असार २०७७ मा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै शाक्यसमेत तीनजनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो। उनले आर्जन गरेको सम्पत्ति श्रीमती अल्का शाक्य र भान्जी नाता पर्ने प्रभा शाक्यका नाममा राखी खर्च गरेको भन्दै उनीहरूलाई समेत प्रतिवादी बनाइएको थियो। उनीहरूले भने सफाइ पाएका छन्।

शाक्य २०४९ जेठबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए। ओभरसियरका रूपमा सरकारी जागिर सुरु गरेका उनको बढुवा २०६४ माघमा भएको थियो। जसपछि २०७२ मा उनी सिनियर डिभिजनल इन्जिनियर पदमा बढुवा भई खानेपानी तथा ढल व्यवस्थापन विभागका विभिन्न कार्यालय तथा आयोजना प्रमुखका रूपमा जिम्मेवारी पाउँदै आएका थिए। 

सिडिई शाक्यको २०७६ फागुनसम्मको सम्पत्ति गणना गर्दा वैध आय एक करोड ६१ लाख ७३ हजार रूपैयाँ हुनुपर्ने थियो। तर, उनले १२ करोड ३९ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जोडेको भेटिएको थियो। यसरी १० करोड ७७ लाख रूपैयाँभन्दा बढी रकम वैध आयस्रोतले खामेको नपाइएपछि मुद्दा चलाइएको थियो।