मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
अघिल्लो सोमबार वीर अस्पताल आइपुगेको टोमोथेरापी मेसिन
शिवहरि घिमिरे काठमाडाैं
२०८० भदौ २६ मंगलबार ०६:११:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वीरमा आयो ४० करोडको ‘टोमोथेरापी’  मेसिन, तर छैनन् चलाउने प्राविधिक 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० भदौ २६ मंगलबार ०६:११:००

विकिरणमार्फत क्यान्सररोगीको उपचार गर्ने संसारकै अत्याधुनिक यो उपकरण यसअघि ०७५ मै ल्याइए पनि जडान हुन नसकेपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा राख्दा बिग्रिएको थियो, सप्लायर्सले अहिले नयाँ ल्याइदिएको हो 

वीर अस्पतालमा क्यान्सररोगीलाई रेडियोथेरापी दिने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ मेसिन भित्रिएको छ । अघिल्लो सोमबार आइपुगेको मेसिन जडानको प्रक्रियामा छ, तर सञ्चालनका लागि देशमा विशिष्ट प्राविधिक नै छैनन् । 

२५ वर्ष पहिले ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि वीरमा रेडियोथेरापी सेवा पूर्ण रूपमा बन्द छ । कोबाल्ट बिग्रिएको तीन वर्षपछि ०७५ भदौमै ४० करोडको ‘टोमोथेरापी’ काठमाडौं ल्याए पनि कोबाल्ट हटाउन नसक्दा उक्त मेसिन बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा थन्क्याइएको थियो । लामो समय खुला चौरमा राखिएको मेसिन काम नलाग्ने भएपछि सप्लायर्स कम्पनी लाइफलाइन ट्रेड सप्लायर्सले पाँच वर्षपछि अकुरे कम्पनीको नयाँ ‘टोमोथेरापी’ ल्याएर अस्पताललाई हस्तान्तरण गरेको हो । 

क्यान्सरको ट्युमरमा मात्र विकिरण फाल्ने टोमोथेरापी सञ्चालन गर्न रेडियोथेरापी टेक्निसियन चाहिन्छ । तर, नेपालमा यो विषयमा पढाइ नै हुँदैन भने विदेशमा पढेर आएका जनशक्ति पनि छैनन् । नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको मेसिन भएकाले विदेशी प्राविधिकबाट देशकै रेडियोग्राफरलाई तालिम दिएर चलाउने अस्पताल प्रशासनको तयारी छ । तर, त्यसका लागि पनि जनशक्ति अभाव छ ।

‘हामीसँग रेडियोथेरापी टेक्निसियन छैनन्, विदेशी प्राविधिकमार्फत तालिम दिलाएर रेडियोग्राफरबाटै काम चलाउँछौँ, हाम्रो जनशक्तिलाई तालिम दिने जिम्मेवारी पनि कम्पनीकै हो,’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्रमुख प्रा.डा. भूपेन्द्र बस्नेतले भने, ‘यो मेसिन चलाउन चारजना रेडियोग्राफर, दुईजना मेडिकल फिजिसिस्टर, रेडियसन अन्कोलोजिस्ट र पाँचजना अन्य चिकित्सक चाहिन्छ, यति जनशक्ति पुग्दो छ, तर फुलफेजमा चलाउन जनशक्ति अभाव देखिन्छ ।’ 

वीरमा हाल रेडिएसन अन्कोलोजिस्ट चारजना र मेडिकल फिजिस्टर दुईजना छन् । पहिलेको रेडियोथेरापी मेसिनमा काम गरेका प्राविधिकलाई टोमोथेरापीसम्बन्धी तालिम दिने योजना छ । जनशक्ति र प्राविधिक व्यवस्थापन गर्न सके यो मेसिन २४सै घन्टा सञ्चालन गर्न सकिन्छ भने दैनिक ४० जनाभन्दा बढीको ‘टोमोथेरापी’ गर्न सकिन्छ । तर, वीरका निर्देशक डा. सन्तोष पौडेल रेडियोथेरापी टेक्निसियनबाहेक एक सिफ्टका लागि जनशक्ति उपलब्ध रहे पनि फुलफेजमा चलाउन अहिलेको जनशक्तिबाट सम्भव नहुने बताउँछन् । 

पार्टपुर्जा फिटिङ भइसकेपछि विकिरणबारे मापदण्ड हेर्ने काम हुन्छ । विकिरणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड हेरफेर गर्ने टिम पनि कम्पनीले नै ल्याउँछ । तर, जनशक्ति अभावका कारण पहिले ल्याएको मेसिनझैँ थन्किने हो कि भन्ने चिन्ता पनि छ ।

‘पाँच वर्ष लगाएर ४० करोड रुपैयाँको मेसिन आइपुगेको छ, तर यसलाई सञ्चालन गर्न अस्पतालसँग दक्ष जनशक्ति छैन,’ अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूले भने, ‘आवश्यक जनशक्ति र प्राविधिक जुटेमा तत्काल जडान गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था हुन्छ । यसअघिझैँ मेसिन थन्क्याएर राख्न हुँदैन । जतिसक्दो छिटो जडान गरेर सञ्चालनमा ल्याउन सके क्यान्सरका सयौँ बिरामीलाई राहत मिल्छ ।’ यो मेसिन विकसित देशहरूमा सन् २००२ देखि नै प्रयोगमा छ । हाल नेपालमा सात अस्पतालमा क्यान्सरका बिरामीको उपचारका लागि रेडियोथेरापी उपकरण मात्र छन् । 

रेडियोथेरापीभन्दा कति फरक छ टोमोथेरापी ? 
परम्परागत रेडियोथेरापी मेसिनकै आधुनिक रूप हो– टोमोथेरापी । शरीरका भित्री कोष तथा नलीहरूमा हुने सूक्ष्म क्यान्सरहरूको समेत उपचारमा यो मेसिन निकै प्रभावकारी मानिन्छ । यो रेडियोथेरापीभन्दा फरक छ । यो उपकरणबाट निस्किने विकिरण (रेडिएसन)ले क्यान्सर लागेको ठाउँका सेलहरू मात्रै मारिन्छ । यसले कपालको रौँबराबरको कोषहरूलाई छुट्याएर क्यान्सर लागेको र नलागेको वर्गीकरण गर्न सक्छ भने यसको प्रयोग गर्दा क्यान्सरले नछोएको सेलहरू मर्ने सम्भावना हुँदैन । तर, रेडियोथेरापीमा क्यान्सर लागेको ठाउँमा विकिरण पठाउँदा अन्य ठाउँका सेल पनि मार्छ । रेडियोथेरापीमा कतिपय अवस्थामा क्यान्सर निको भयो भन्दा फेरि ब्युँतिने डर हुने गरेको छ । तर, टोमोथेरापी मेसिनको प्रयोगबाट उपचार गर्दा दोहोरिने वा अन्य राम्रा सेलहरू मर्ने डर पनि हुँदैन । यो मेसिनका कारण क्यान्सर उपचार प्रक्रियामा सहज हुने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. बस्नेतका अनुसार यो मेसिन अस्पतालमा जडान गर्न कम्तीमा एक महिना लाग्छ । पुरानो मेडिकल ब्लकमा यो मेसिन राख्न बंकर निर्माण गरिएको छ । 

देशका सात अस्पतालमा मात्रै छ रेडियोथेरापी सेवा 
हाल नेपालमा क्यान्सरका बिरामीलाई रेडियोथेरापी उपचार सेवा सात अस्पतालमा मात्रै छ । भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर), बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन), नेपाल क्यान्सर अस्पताल (ललितपुर), काठमाडौं क्यान्सर सेन्टर (काठमाडौं), विराट मेडिकल कलेज (विराटनगर), पूर्वाञ्चल क्यान्सर सेन्टर (भद्रपुर) र चितवन मेडिकल कलेज (चितवन)मा रेडियोथेरापी सुविधा छ । तर, क्यान्सरको उपचार हुने सबै अस्पतालमा यस्तो सुविधा नहुँदा बिरामी मारमा पर्ने गरेका छन् ।