१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २२ शुक्रबार
  • Sunday, 13 October, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८o भदौ २२ शुक्रबार ११:४५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खेतीयोग्य जमिन घट्यो, कृषिमा आश्रित परिवार बढे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २२ शुक्रबार ११:४५:oo

१० वर्षमा तीन लाख सात हजार हेक्टर खेतीयोग्य क्षेत्रफल घट्यो, अब कुल जनसंख्याको ६२ प्रतिशत कृषक

पछिल्लो दश वर्षमा नेपालमा खेतीयोग्य जमिन तीन लाख सात हजार दुई सय २९ हेक्टर जग्गा घटेको छ । तथ्यांक कार्यालयले बिहीबार राष्ट्रिय कृषि गणना २०७८ को सार्वजनिक प्रतिवेदनले नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा खेती हुने गरेको जनाएको छ । 

४१ लाख ३० हजार सात सय ८९ परिवारले उक्त क्षेत्रफलको जमिनमा खेती गरिरहेको विभागको तथ्यांक छ । अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार कृषक परिवारले २५ लाख २५ हजार हेक्टर क्षेत्रफलमा  कृषि कार्य गरेका थिए ।

यो दश वर्षको अवधिमा नेपालमा कृषि गर्ने परिवारको संख्या ९ प्रतिशतले घटेको हो । कृषि गणना २०७८ अनुसार नेपालमा रहेका जनसंख्याको ६२ प्रतिशत परिवार कृषक रहेका छन् । ०६८ को कृषि गणनामा कृषक परिवारको संख्या ७१ प्रतिशत रहेको थियो । 

वर्षैभरि खान पाउने कृषकको संख्या ४५ प्रतिशत  
दश वर्षमा वर्षभरि खान पुग्ने किसानको संख्या ५ प्रतिशतले बढेको छ । गणनाअनुसार आफूले उत्पादन गरेको कृषिजन्य वस्तुमा वर्षभरि खान पुग्ने कृषकको संख्या ४५ प्रतिशत पुगेको छ । अघिल्लो गणनाअनुसार वर्षभरि खान पुग्ने कृषकको संख्या ४० प्रतिशत मात्र रहेको थियो । त्यस्तै, ३९ लाख ९९ हजार परिवार खेतीपातीमा आबद्ध छन् भने एक लाख ३२ हजार परिवारले पशुपक्षी पालन गरेका छन् । ०६८ को छैटौँ गणनाअनुसार ३७ लाख १६ हजार परिवार खेतीपातीमा र एक लाख १६ हजार परिवार पशु–पक्षीपालनमा आबद्ध थिए । 

त्यस्तै, यो गणनाले कृषक परिवारको आम्दानीको स्रोत कृषिउपजबाट  १० वर्षमा १२ दशमलव ७ प्रतिशतले घटेको देखाएको छ । २०६८ को कृषि गणनाले कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषिबाट ८३ दशमलव १ प्रतिशत रहेको थियो । हालको गणनाले कृषिबाट आम्दानीको स्रोत ७० दशमलव ४ प्रतिशत रहेको छ ।

गाई–गोरु पाल्ने किसान घटे 
नेपालमा गाई–गोरु पाल्ने किसानको संख्या घटेको छ । तथ्यांकअनुसार हाल १७ लाख आठ हजार घरपरिवारले गाई–गोरुपालन गरिरहेका छन् । जुन अघिल्लो गणनाको तुलनामा पाँच लाख ७३ हजार परिवारले कम हो । ०६८ मा २२ लाख ८१ हजार परिवार गाई–गोरुपालनमा आबद्ध थिए । 

०७८ को तथ्यांकअनुसार नेपालमा एउटा परिवारसँग गाई–गोरुको संख्या औसतमा तीनवटा छ । तथ्यांकअनुसार नेपालमा १८ लाख सात सय ७१ हजारले गाई–गोरुको संख्या घटेको छ । नेपालभर अहिले गाई–गोरुको कुल संख्या ४५ लाख ५९ हजार छ । ०६८ सालमा देशभर गाई–गोरुको संख्या ६४ लाख ३० हजार थियो ।

६८ प्रतिशत उत्पादित वस्तु किसान आफैँले उपभोग गर्ने 
कृषि गणना ०७८ अनुसार अधिकांश (८८%) कृषक परिवारको मुख्य कृषि उत्पादन खाद्यान्न बाली रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः तरकारी बाली (६%) र पशुपालन (३%) रहेको छ । यसमध्ये उत्पादित खाद्यवस्तु घरायसी प्रयोजनका लागि ६८ प्रतिशत उपभोग गर्ने गरेका छन् । 

केही बिक्री र उपभोग गर्ने २४ दशमलव ७ प्रतिशत र सबै बिक्री गर्ने कृषकको संख्या १ दशमलव १ प्रतिशत, बिक्री र केही घरायसी उपभोगको ५.४ प्रतिशत रहेको छ । कृषक परिवारमध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गर्ने गरेका छन् । अघिल्लो कृषि गणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो ।