१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भलिबल खेलाडीले पाए पहिलोपटक मासिक तलब

फुटबल, क्रिकेट र बुद्धिचालपछि राष्ट्रिय खेलाडीलाई मासिक तलब दिने भलिबल चौथो संघ बनेको छ, खेलाडीले अब मासिक पाँच हजार पारिश्रमिक पाउनेछन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१३:oo

नेपाल भलिबल संघले राष्ट्रिय पुरुष तथा महिला खेलाडीलाई मासिक तलब दिने भएको छ । संघले राष्ट्रिय टोलीमा रहेका पुरुष र महिलामा समान १२ खेलाडीलाई मासिक पाँच हजार पारिश्रमिक दिने घोषणा गरेको हो । खेलाडीलाई मासिक तलब व्यवस्था गर्ने भलिबल संघ चौथो खेल बनेको छ । यसअघि फुटबल, क्रिकेटर र बुद्धिचाल संघले आफ्ना खेलाडीलाई मासिक तलब प्रदान गरेको थियो । फुटबलले फिफा र एएफसीको आर्थिक अनुदानमा खेलाडीलाई तलबको व्यवस्था गरेको छ । 

नेपाल क्रिकेट संघले आइसिसी र एसिसीको फन्डमै तलब खुवाइरहेको छ । बुद्धिचाल संघले विभिन्न दाताहरूको सहयोगमा महिला तथा पुरुषतर्फका शीर्ष खेलाडीलाई मात्र मासिक तलबको व्यवस्था गरेको छ । भलिबल संघले अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा पूर्वखेलाडी तथा बिजनेस इन्टरप्रेनियरको आर्थिक सहयोगमा खेलाडीलाई मासिक तलब खुवाउन लागेको जनाएको छ । 

भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले आर्थिक सहयोगमा खेलाडीहरूलाई मासिक तलब व्यवस्था गर्न लागेको जानकारी दिएका छन् । ‘संघले थोरै भए पनि पुरुष र महिला राष्ट्रिय खेलाडीलाई मासिक तलबको व्यवस्था गरेको छ,’ उनले भने, ‘क्रिकेट खेलाडी, फुटबल खेलाडीले मासिक तलब पाइरहेका छन्, तर भलिबल खेलाडीले अहिलेसम्म पाएका छैनन्, हामीले पहल गर्‍यौँ र खेलाडीलाई मासिक पाँच हजार दिने घोषणा गरेका हौँ ।’ 

तीन महिनाको  पारिश्रमिक एकैपटक
चन्दका अनुसार आर्थिक सहयोगकर्ताहरूले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तलब संघको खातामा जम्मा गरेका छन् । सबै खेलाडीले एकैपटक तीन महिनाको १५ हजार रुपैयाँ पाएका छन् । नेपाली राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीले संघबाट खेलाडीलाई हौसला प्रदान गर्ने कार्य भएको प्रतिक्रिया दिएकी छिन् । ‘भलिबलमा लागेको कम्तीमा १५ वर्ष भयो होला, भलिबल संघले आर्थिक सहयोग जुटाएर खेलाडीलाई सहयोग गरेको छ,’ उनले भनिन् । यसैगरी, पुरुषतर्फका कप्तान मानबहादुर श्रेष्ठले संघले खेलाडीहरूका लागि राम्रो सुरुवात गरेको बताए । पुरुष र महिलातर्फका राष्ट्रिय खेलाडी आसन्न १९औँ एसियाली खेलकुदको तयारीमा छन् । नेपालले पहिलोपटक भलिबलमा एसियाडमा सहभागिता जनाउन लागेको हो । 

ad
ad