मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १७ आइतबार १८:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालेनको सचिवालयकाे स्पष्टीकरण : गृह मन्त्रालयको अनुमति लिइएको थियो, ट्राफिक प्रहरीले असभ्य व्यवहार गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १७ आइतबार १८:०१:००

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को सचिवालयले सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोगको विषयमा स्पष्टीकरण दिएको छ। बालेनका स्वकीय सचिव भूपदेव शाहले विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट सहमति लिएर जटिल अवस्थामा अस्पताल जान प्रयोग गरिएको बताएका छन्।

सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सबिना काफ्लेको स्वास्थ्यमा जटिलता देखिएपछि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा सरकारी सवारी प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ। ‘सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उहाँकी धर्मपत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल जानुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य परीक्षण र एनआइसियुमा भर्ना रहेको शिशुलाई स्तनपान गराई फर्किने क्रममा नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् ट्राफिक प्रहरीले झनै आक्रामक व्यवहार देखाएको मेयरको सचिवालयको आरोप छ।

‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताकोसमेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे। सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो,’ विज्ञप्तिमा उल्लेख छ।

आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदासमेत ट्राफिक प्रहरीले धम्की दिएको भन्दै मेयरको सचिवालयले सरकारी गाडी प्रयोगको विषयलाई गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यममार्फत भ्रामक सूचना सम्प्रेषण गरेको आरोप लगाएको छ।